Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • सात महिनासम्म पर्यटन बोर्डको सीईओ त नियुक्त नगर्ने सरकारले पर्यटक भित्र्याउला भनेर कसले पत्याउने ?


    बुधबार, मंसिर १० २०८३
    505
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालको पर्यटन प्रबद्र्धनमा पर्यटन बोर्डको ठूलो भूमिका रहँदैआएको छ । दुईतिहाईलाई एक सिट कम रहेको वालेन्द्र शाह नेतृत्वको सरकारले सात महिनासम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त गर्नसकेको छैन ।

    पर्यटक भित्र्याउने कार्यमा महत्वपूर्ण भूमिका भएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ७ महिनादेखि रिक्त राखेर सरकारले पर्यटन क्षेत्रलाई उपेक्षा गर्दैआएको महसुस यो क्षेत्रले गरेको छ । गएको बैशाख १९ गते राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याएर बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीलाई हटाइएको थियो । बैैशाख १९ देखि रिक्त रहेको बोर्डको सीईओ मंसिर ९ गतेसम्म सरकारले पदपूर्ति गर्नसकेको छैन ।

    बोर्डको सीईओका लागि विज्ञापन गरी आवेदन दिनेहरुको सूची सार्वजनिक भएको महिना दिन बितिसक्दा पनि संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेश) ले नियुक्ति गर्न सकेका छैनन् । फटाफट नियुक्ति गर्ने भनेर अध्यादेश ल्याएको रास्वपा सरकारले ७ महिनासम्म पनि नियुक्ति गर्न नसकेकोमा पर्यटन क्षेत्रमा अनेक प्रश्न उठेका छन् । रास्वपाको कार्यकर्ता नभेटेर नियुक्ति नभएको हो कि सेटिङ नमिलेर हो भन्ने प्रश्न सामाजिक संजालमा उठिरहेका छन् ।

    बोर्डको कार्यकारी अधिकृत सात महिनासम्म नियुक्त गर्न त नसक्ने अक्षम सरकारले सुशासन, भष्टाचार नियन्त्रण, पर्यटन व्यवसायी र पर्यटक मैत्री कानुन निर्माण गर्छ भन्ने विश्वास कसरी गर्ने भन्ने प्रश्न उठेको छ ।

    पर्यटन ब्यवसायमा लामो अनुभव भएका र पर्यटन बोर्डका पूर्वउपाध्यक्षसमेत रहेका चन्द्र रिजालले त सामाजिक संजालमा सात महिनासम्म बोर्डको सीईओ नियुक्त गर्न नसक्ने सरकारले नेपालमा पर्यटक भित्र्याउने योजना ल्याउँछ भनेर कसरी पत्याउने भन्दै प्रश्न गरेका छन् ।

    रिजालले सामाजिक संजालमा लेखेका छन्–‘एउटा पर्यटन बोर्डमा कार्यकारी प्रमुख समयमा ल्याउन नसक्नेले सुशासन, भष्टाचार नियन्त्रण, पर्यटन व्यवसायी र पर्यटक मैत्री कानुन निर्माण गर्छ । अनि नेपालमा पर्यटक भित्र्याउने योजना ल्याउँछ भनेर मैले पत्याइदिनुपर्ने ? छि. छि.!’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार