Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • स्वास्थ्यमा ओम्नी काण्डभन्दा ठूलो भ्रष्टाचार, बालेन सरकार बेखबर


    बिहिबार, मंसिर ११ २०८३
    2.3K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका अस्पतालहरुको स्तरोन्नतिका लागि विश्व बैंकले दिएको १४ अर्ब रुपैयाँ अनुदान र सहुलियत ऋणबाट स्वास्थ्य उपकरण खरिद गर्दा अरबौं घोटाला भएको तथ्य नेपालफेस डटकमले उजागर गरिसकेको छ । विश्वबैंकको १४ अर्ब रुपैयाँबाट अह्स्पतालहरुमा १ करोड पर्ने मेसिनको ५ करोडमा खरिद गरिएको थियो । ५ वटा सप्लायर्सका बिभिन्न कम्पनीहरुबाट १४ अर्बका उपकरण खरिद गरिएको थियो ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तत्कालीन सचिव डा. रोशन पोखरेल, ब्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. सर्वेश शर्मा, डा. रुद्र मरासिनी, डा. श्रवण थापादेखि मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख (हाल डीजी) डा. कृष्णप्रसाद पौडेलको समूहले स्पेसेफिकेसन(स्पेक) लक्ड गरी पाँच वटा सप्लायर्सका कम्पनीहरुलाई मात्र सेटिङमा उपकरण आपूर्तिको ठेक्का दिने गरेका थिए ।

    १४ अर्बको उपकरण खरिदमा तत्कालीन स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. सर्वेश शर्मा, डा. रुद्र मरासिनी र डा. श्रवण थापाले ठूलो लाभ लिएर घर, गाडीदेखि जग्गा जमिन नै जोडेको आरोप छ । थापालाई त मेमोग्राफी खरिदमा बिशेष अदालतले दोषी ठहर गरिसकेको छ ।

    विश्वबैंकको सहयोगदेखि देशको बजेटबाट भएका खरिदमा तत्कालीन सचिव पोखरेलले ३५ करोड भन्दा बढी कमिसन खाएको र उनले ललितपुरको चापागाउँ जाने चौबाटोनजिक २ रोपनी जग्गामा जग्गामा घर, गाडी लगायतका सम्पत्ति जोडेकोले छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो । पोखरेलको सम्पत्ति छानबिनको माग गर्दै २०८० जेठ २५ मा ५८०७ नम्बरको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा परेको थियो ।

    डा. मरासिनीले क्रेटा गाडीदेखि भक्तपुरमा १ रोपनीमै बंगला बनाएको स्रोतको दाबी छ । पाँच वटा सप्लायर्सलाई स्पेक लक गरी प्रतिस्पर्धाबिना नै १ करोड पर्ने उपकरण ५ करोडमा आपूर्ति गर्ने ठेक्का दिएर ब्यवस्थापन महाशाखाका निर्देशकदेखि मन्त्रालयका सचिव पोखरेलले १४ अर्ब बजेटको ३० प्रतिशत भन्दा बढी कमिसनबापत नै लिएको रास्वपा नेतृत्वको वालेन्द्र सरकारले छानबिन गरेमा खुल्ने स्रोत बताउँछ ।

    नेपालीको स्वास्थ्य उपचार गर्न सहज होस् भनी विश्वबैैकले स्वास्थ्य मन्त्रालयलाई दिएको १४ अर्ब रुपैयँ अनुदान दुरुपयोग गर्ने ब्यवस्थापन महाशाखाका ३ निर्देशक र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ओम्नी काण्डलाई बिर्साउनेगरी उपकरण खरिदमा अनियमितता गरेकाले छानबिन हुनुपर्ने माग भइरहेको छ । १ करोडको उपकरण ५ करोडमा सेटिङमा अस्पताललाई आपूर्ति गरी देशको बजेट दोहन गरी अनामनगरमा सिंहदरबार छेक्नेगरी बनेका बुटिक होटलदेखि शंखमुलमा बनेका क्याफे र आलिशान बंगलाहरुको पनि एक एक पोल खुल्नेछ ।

    थापाथलीका सिसैसिसाका आलिशान ब्यापारीक कम्प्लेक्सदेखि सिन्धु नामबाट उपकरण आपूर्तिमा गरेको १७ अर्बको दोहन र सम्पत्तिको स्रोत पनि खोजी गर्ने आँट वालेन सरकारले राख्न सक्नुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । ती अधिकारी भन्छन्– ‘ब्यवस्थापन महाशाखाका निर्देशकहरु र मन्त्रालयका सचिवको मात्र होइन, पाँच सप्लायर्सहरुको सम्पत्ति पनि छानबिन हुनुपर्छ ।

    सप्लायर्सहरुले १४ अर्बमा ठूलो हिस्सा ब्रम्हलुट गरी बुटिक होटल, क्याफे, मल, अस्पतालदेखि करोडौं करोडका जग्गाजमिनदेखि बिदेशमा समेत सम्पत्ति हुन्डीमार्फत् लगेका सप्लायर्सहरुको छानबिन हुनुपर्छ । यो सरकारले नसके कुनै सरकारले स्वास्थ्य माफियाहरुलाई कठघरामा ल्याएर उपकरण खरिदमा पारदर्शीता कायम गराउन सक्दैन ।’

    स्वास्थ्य उपकरण खरिद गुणस्तरको मापन गरिन्छ । युएस एफडीए (युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन) भनेको अमेरिकी सरकारबाट दिइने गुणस्तर चिह्न हो । भारत, चीन र यूरोपियन देशसहित धेरै देशमा अमेरिकी गुणस्तर नै अनिवार्य गरिएको छैन । तर नेपालमा ५ वटा सप्लायर्सको सेटिङमा युएस एफडीए अनिवार्य गरिएको छ । युएस एफडीए लिएका बाहेकले टेण्डरमा भाग लिन नपाउने भएकाले स्वास्थ्यका ९० प्रतिशत टेण्डर पाँच वटा सप्लायर्सले मात्र पाउँदैआएका छन् ।

    युएस एफडीए अनिवार्य नगरी प्रतिस्पर्धा गराउँदा २ करोड रुपैयाँमा प्राप्त हुने उपकरण युएस एफडीएका नाममा ५ करोडमा खरिद गरी ३ करोड राज्यलाई ठूलो ब्ययभार बढाउने काम भएको छ ।

    विश्वका धेरै देशमा स्वास्थ्य उपकरणमा अमेरिकी गुणस्तर आवश्यक मानिँदैन । र, त्यो गुणस्तर लिन पनि धेरै देशले चाहँदैनन् । तर नेपालमा भने भ्रष्ट कर्मचारी र सप्लायर्सको सेटिङमा युएस एफडीए नै राखेर स्पेक लक गरी पाँच गुणासम्म महंगोमा उपकरण खरिद हुँदै आएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेलले पद सम्हालेपछि खरिद प्रक्रियामा जोड दिई आफ्ना नजिकका स्वास्थ्य सामग्री तथा उपकरण सप्लायर्सलाई अनुकूल हुनेगरी बजेट ब्यवस्थापन गरी ठूलो घोटाला गरेको तथ्य खुलेको छ । उनले कमिसन उठाउनका लागि आफ्नै सवारीचालक हरिरामलाई परिचालन गरेका थिए ।

    सचिव पोखरेलका कमिसन संकलक ड्राइभर सुवेदीले नै ललितपुरको इमाडोलमा ६ आना जग्गामा भब्य भवन बनाएका छन् । चालकले नै ५ करोड पर्ने बंगला जोडेका छन् भने पोखरेलले कति कमाइ गरेका होलान् ? यो चर्चा स्वास्थ्य मन्त्रालय परिसरमा सवारीचालकहरुबीच नै चल्ने गरेको छ ।

    विगत १० बर्षको मात्रै तथ्यांक लिने हो भने तिनै ५ सप्लायर्सको सिन्डीकेटले मात्र स्वास्थ्य मन्त्रालय वा अन्तर्गतका निकायहरुमा सामान आपूर्ति गर्दैआएको छ । पाँच जना सप्लायर्सलाई मात्र स्वास्थ्यका सबै आपूर्तिका ठेक्का दिएर हुँदैआएको अरबौंको ब्रम्हलुटमा सरकारले अब भने गहन छानबिन गर्नैपर्ने आवश्यकता रहेको मन्त्रालयका अधिकारी बताउँछन् ।

    शृंखलाबद्ध खरिद काण्डमा डा. मरासिनी

    ट्रमा सेन्टरका प्रमुखमा कार्यरत रहेका डा. रुद्र मरासिनीले स्वास्थ्य मन्त्रालयको ब्यवस्थापन महाशाखा प्रमुखमा मात्र होइन, यसअघि ट्रमा सेन्टरको खरिदमा पनि मुछिएका थिए । स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाको नेतृत्वमा हुँदा डेढ अर्बको स्वास्थ्य सामग्री खरिद अनियमिततामा उनी मुछिएका थिए ।

    मरासिनी महाशाखा प्रमुख हुँदा टेण्डर निकाल्दा नै निश्चित कम्पनीले नेपालमा ल्याउने स्वास्थ्य सामाग्रीको मापदण्ड मात्रै स्वीकृत हुने गरी लक्ड स्पेशिफिकेशन बनाएर मिलेमतोमा निकालेका थिए ।

    तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा, उनका विज्ञ सल्लाहकार डा. रमेश ढकाल र डा. मरासिनीको सेटिङमा खरिद गरिएको थियो । डा. मरासिनी २०७८ मङ्सिर १५ मा महाशाखा निर्देशकमा नियुक्त भएका थिए । उनले निर्देशकको जिम्मेवारी सम्हालेको अवधि २०७८ पुस १८ देखि जेठ २२ गतेसम्म १ अर्ब ६६ करोड ४७ लाख रकमको स्वास्थ्य सामग्रीको टेन्डर भएको थियो ।

    ३० करोडको एमआरआई खरिदमा पनि सेटिङ

    २०७९ भदौ २१ मा ट्रमा सेन्टरको प्रमुख भएपछि डा. मरासिनीले ३० करोडमा ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदमा परेका थिए । २०७९ कात्तिक २८ मा (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरी उक्त मेसिन खरिद गरेका थिए ।

    दोस्रो पटक ट्रमा सेन्टरको प्रमुख भएका डा. मरासिनीले अहिले पनि उपकरण खरिदका लागि सप्लायर्सहरुसँग डिलमा ब्यस्त रहेको स्रोत बताउँछ । ट्रमा सेन्टरमा उपकरण खरिदका लागि ठूलै बजेट छ्टयाइएकाले उनी अहिले पनि ब्यवस्थापन महाशाखादेखि बिगतमा सोही अस्पतालको खरिदमा जस्तै स्पेक लक गर्ने र सेटिङ गर्ने गरी थापाथलीतिरका सप्लायर्ससँग पटक पटक डिलमा ब्यस्त रहेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार