काठमाडौँ । मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा आज यहाँ भएको छलफलमा सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए ।
‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षति र चुनौती थपिएको उल्लेख गर्दै सहभागीले त्यसका बाबजुद पर्यटन क्षेत्र पुनःस्थापना र प्रगतिको मार्गमा अघि बढिरहेको धारणा राखे ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ ।”
सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उहाँहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो । “यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हुने क्रम सुरु भएसँगै राम्रो सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौँ ।”
पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले दूतावास, गैरआवासीय नेपाली र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।
पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण सङ्कलनका लागि समन्वय भएको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् । साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई कुनै समस्या हुँदैन, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ ।”
होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताउनुभयो । “साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । यो क्षेत्र सुरक्षित भएकाले पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, उहाँको भनाइ थियो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउनुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक विपद् र हालको सङ्कट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले पुनःउत्थानका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । “हरेक सङ्कटपछि नेपालको पर्यटन पुनःउत्थानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
यस्तै, बोर्ड सदस्य तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।
टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार पनि पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनःउत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
यसैगरी बोर्डले आज नेपालमा रहेका पाँचतारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताउनुभएको छ ।
यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःस्थापनाका लागि एकमत देखिएको छ । हाल सिर्जना भएका चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्न सामूहिक पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस)
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend