Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक सचिवको दरबन्दी कटौती, प्रशासनको दरबन्दी राखी बढुवा हुने दाउमा भट्ट


    मंगलबार, साउन २६ २०८३
    1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक समूहको सचिव दरबन्दी रहँदैआएको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पालामा क्लष्टरका आधारमा सचिवको दरबन्दी कायम गर्ने ब्यवस्था नीतिगत रुपमै गरिएको थियो ।

    राष्ट्रिय सतर्कता केन्द्रको सचिवलाई प्राविधिक समूहको क्लष्टरमा राखिएको थियो । प्रशासन समूहका शक्तिशाली सहसचिव नारायणप्रसाद भट्टको स्वार्थमा सतर्कता केन्द्रमा रहेको प्राविधिक सचिवको दरबन्दी कटौती गरिएको छ । र, केन्द्रमा प्रशासन समूहको सचिव रहने गरी संगठन संरचना(ओएण्डएम) तयार गरिएको छ । वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यन्जनकार र नीति, प्रशासन तथा सुशासन सल्लाहकार एवं प्रशासन प्रमुख सुदिप ढकालको हस्तक्षेप र दबाबमा सतर्कता केन्द्रको सचिवमा प्राविधिक समूहलाई कटौती गरी प्रशासन समूहको हुने ब्यवस्था गरिएको स्रोत बताउँछ ।

    सतर्कता केन्द्रका प्रशासन तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद भट्टले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ब्यन्जनकार र ढकालमार्फत् लबिङ गरेर प्राविधिक समूहको दरबन्दी कटौती गरेको आरोप छ ।

    भट्ट एक बर्षदेखि सचिव बढुवा हुने प्रतीक्षामा छन् । २२ वटा मन्त्रालयबाट १७ मा झारिएपछि ५ सचिवका दरबन्दी कटौती भएका छन् । सचिवको दरबन्दी कटौती भएपछि प्राविधिक समूहको भाग काटेर सचिव बन्नका लागि सतर्कतामा प्रशासन समूहको सचिवको दरबन्दी कायम गरी ओएण्डम तयार गरिएको आरोप भट्टमाथि लागेको छ ।

    प्रशासन समूहको दरबन्दी बढाएर आफू सचिव हुने सुनिश्चित गर्न भट्टले सतर्कता केन्द्रको प्राविधिक समूहको बिशिष्ट श्रेणीको दरबन्दी काट्न प्रधानमन्त्री कार्यालयका कुमार बेन र ढकाललाई मनाएको स्रोतको दाबी छ । सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भूजेलले हस्ताक्षरित संगठन संरचना(ओएएण्डएम)मा सतर्कता केन्द्रको सचिवमा प्राविधिक समूहको काटेर प्रशासन समूहको रहने गरी पठाइएको छ ।

    मुख्यसचिव गोविन्द कार्कीले समेत भट्टको सचिव बढुवा हुने स्वार्थमा परी प्राबिधिकको दरबन्दी कटौती गर्न सहमति दिएको आरोप छ । सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, विज्ञान तथा प्रबिधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा समेत ४ वटा प्राबिधिक समूहको बिशिष्ट श्रेणीको दरबन्दी कटौतीमा परिसकेको छ ।

    त्यसैगरी उक्त संरचनामा सतर्ककता केन्द्रको नीति, योजना तथा मूल्यांकन महाशाखा खारेज गरी प्रशासन समूहको सहसचिवको दरबन्दी पनि कटौती गरिएको छ ।
    केन्द्रमा अब प्रशासन समूहको एक सहसचिव, एक प्राबिधिक सहसचिव र एक बिशेष प्रहरी नायब निरीक्षक रहने ब्यवस्था ओएण्डएममा राखिएको छ । केन्द्रमा हाल प्रशासन समूहको सहसचिवको दरबन्दीमा उनै भट्ट कार्यरत छन् ।

    प्रधानमन्त्री कार्यालय माहतत रहेको उक्त केन्द्रले देशभरीको सरकारी कामकाजमा हुने गरेको ढिलासुस्ती र अनियमितताका बारेमा अनुगमन गर्दै आएको छ । केन्द्रले छानबिन गरे पनि मुद्दा चलाउने अधिकार छैन । केन्द्रले प्रतिवेदन तयार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउँदै आएको छ ।

    सतर्कता केन्द्रलाई भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी रुपमा परिचालन गर्न हाल कायम रहेको जनशक्ति अपुग हुन्छ । थप जनशक्तिका लागि संगठन संरचना तयार गरी सुझावका रुपमा अगाडि बढाएको केन्द्रको संगठन संरचना प्रधानमन्त्रीको सचिवालय, सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भूजेल र केन्द्रकै सहसचिव नारायण भट्टको हस्तक्षेपमा दरबन्दी कटौती गरिएपछि केन्द्रलाई अझ शक्तिशाली र प्रभावकारी बनाउने योजना तुहिएको छ । महिनैपिच्छे सचिव फेरबदल भइरहने केन्द्रमा करिब २ हप्ताअघि मात्र विश्वबाबु पुडासैनी सरुवा भएका थिए । सतर्कताको ओएण्डएम कार्यान्वयन भए उनी अब तत्कालै फाजिलमा पर्ने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार