नारायणप्रसाद शर्मा
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु र अर्बौं ऋण नेपालका बैंकहरुमा खरावकर्जाका रुपमा रहनुको कारण खोजी गर्दैछ ।
केन्द्रका अनुसन्धान अधिकारी प्रहरी उपरीक्षक बुद्धि खनालको संंयोजकत्वमा रहेको छानबिन समितिले यो कारखाना बन्द हुनु र बिक्री गर्दा गरिएको किर्ते कागजातका सम्बन्धमा सघन रुपमा छानबिन कार्य अघि बढाएको हो ।
अष्ट्रेलिया, मलेशिया, जापानलगायतका देशमा ठूलो परिमाणमा कागज निर्यात गर्दै आएको भृकुटी कागज कारखाना कौडीको मोलमा बेचेर देशका युवाहरु बेरोजगार बनाउने र बिदेशबाट आयत गर्ने प्रप्रञ्च केही नेताहरुले मिलाएका थिए । यो विषयमा केही कागजातसहित सतर्कता केन्द्रमा नारायणप्रसाद शर्माले उजुरी गरेका थिए ।
कसरी स्थापना भएको थियो यो बहुचर्चित कागज कारखाना ?
यो कागज कारखाना स्थापनाका लागि २०३५ साल असोज १५ गते तत्कालीन श्री ५ को सरकारका तर्फबाट प्रधानमन्त्री कीर्तिनिधि विष्टले गणतन्त्र जनवादी चीनका राज्य सरकारका उपप्रधानमन्त्री तङ स्याओ पिङसँग पेकिङ (हालको बेइजिङ) मा हस्ताक्षर गरेका थिए ।
सम्झौताको दफा १ मा भनिएको छ- श्री ५ को सरकार नेपाललाई राष्ट्रिय अर्थतन्त्र विकास गर्ने आवश्यक्ता अनुसारका तल उल्लेख भए बमोजिममा पूर्ण आयोजनाहरु स्थापना गर्न जनवादी गणतन्त्र चीन सरकार अनुदान स्वरुप सहायता गर्न मञ्जुर गर्दछ । १) एउटा चिनी कारखाना २) एउटा कागज कारखाना उक्त कुरा २०३६ साल वैशाख १७ गते प्रकाशित नेपालको राजपत्रमा प्रकाशित छ । भृकुटी नेपालका लिच्छवीकालीन राजा अंशुबर्माकी छोरी हुन् । उनको विवाह तिब्बतका शासक श्रङचङ गम्पोसँग भएको थियो । अंशुबर्माले तिब्बतसँग राम्रो सम्बन्ध बनाउनका लागि छोरीको विवाह राजकुमारसँग गरिदिएका थिए ।
२०४९ साल कार्तिक ५ गते १७ करोड चार लाख ३४ हजार मूल्य राखेर सम्झौता गरिएको भृकुटी कागज कारखानालाई ४ करोड ९२ लाख ४२ हजार थैली राखेर २०४९ चैत्र १७ गते नवलपरासी जिल्लाको मालपोत कार्यालय रामग्राममा पास गरियो । उक्त समयमै १२ करोड ८१ लाख ६२ हजार रुपैया राज्यको सम्झौता बमोजिमको रकम लुकाइएको थियो । जुन बाँकी रकम नेपाल सरकारको खातामा जम्मा गरिएन । डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले सूचनाको हक अन्तर्गत माग गर्दा यो खुलासा भएको हो ।
लुटको धन्दामा को–को संलग्न ?
भृकुटी कागज कारखाना घोटलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अर्थमन्त्री महेश आचार्य, भृकुटी कागज कारखानाका अध्यक्ष पुण्यप्रसाद दाहाल, गोल्छा अर्गनाइजेशनका दिवाकर गोल्छा, लोकमान्य गोल्छा, हुलाशचन्द्र गोल्छा, राजेन्द्र काब्रा, सुजाता कोइराला प्रत्यक्ष रुपमा भागवण्डामा सामेल भएको बताइन्छ । नेपालमा अत्याधिक खपत हुने कागज कारखाना अनुदान स्वरुप बनाएर सञ्चालन गर्न दिन २०३५ सालमा उत्तरको छिमेकी मित्रराष्ट्र चीन सरकार तयार भयो । त्यसै अनुरुप २०३९ सालमा स्थापित भएको भृकुटी कागज कारखानाले २०४० सालदेखि दैनिक ३० टन कागज उत्पादन गरेको थियो ।
उक्त कागज जापान, मलेशिया, अष्ट्रेलियालगायतका देशहरुमा निर्यात भयो । उच्च गुणस्तरको कागज उत्पादन भएकै कारण जापानमा यो कागजमा त्यहीँको मुद्रासमेत छापियो । उत्पादन गरेको १० वर्ष नहुँदै ६ करोड बैंक ब्यालेन्स भएको उद्योग कौडीको मोलमा बेच्न नेपाली कांग्रेस नेतृत्वको सरकार तयार भयो । अत्याधिक माग भएको गुणस्तरीय उत्पादन गर्दै आएको उद्योगलाई धारासायी बनाउन भारतीय उद्योगी र ब्यापारीहरु कस्सिएर लागिरहेकै थिए । आखिर सफल पनि भयो । कारखाना बिक्री गरेको समयमा झण्डै एक प्रतिनिधिलाई दिएको प्रमाणित प्रतिबाट उक्त कुरा प्रष्ट हुन्छ् । विद्युतको बक्यौता बिलमात्रै करोडौं छ ।
६० विघा अर्थात ७८० रोपनी जग्गामा फैलिएको यो उद्योग पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा पर्दछ । २०४९ साल कार्तिक ५ गते यसको मूल्य १७ करोड चार लाख ३४ हजार राखेर नेपाल सरकार र गोल्छा अर्गनाइजेशनको एक ब्यवसायिक संस्था हिमाली पाइपेको लिमिटेडसँग सम्झौता भयो । हिमाली पाइपेको कम्पनीका तर्फबाट अध्यक्ष दिवाकर गोल्छा र राजेन्द्र काब्राले हस्ताक्षर गरेका थिए भने सरकारका तर्फबाट भृकुटी कागज कारखानाका अध्यक्ष पुण्यप्रसाद दाहाल र उद्योग र अर्थ सचिवले हस्ताक्षर गरेका थिए ।
झण्डै पाँच करोडमा किनेकोे उद्योग, नेपाल बैंकको ऋणमात्रै १२ अर्ब
गोल्छा अर्गनाइजेशनले कौडीको मोलमा लिएको यो उद्योगको अहिले ऋण १२ अर्ब रुपैयाँ छ । कन्सोट्रियम ऋण लगानी गरिएकोमा प्रमुख बैंकमा नेपाल बैंक लिमिटेड र अन्य लगानीकर्ताहरु राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष र ५ प्रतिशत लगानी हिमालयन बैंक लिमिटेडको रहेको छ । हालसम्म पनि बैंकले सूचना जारी गर्ने वा कालोसूचीमा राख्ने कुनै पनि काम गरेको छैन । किनकि सबै क्षेत्रमा गोल्छाकै प्रभाव र दबाब छ ।
५० करोडका शेयर निस्काशन
यो उद्योगको नाममा गोल्छा अर्गनाइजेशनले ५० करोड रुपैयाको शेयर निस्कासन गरी डुबाएको छ । २०६९ सालदेखि बन्द गरिएको उद्योग पूरै बन्जर बनेको छ । भृकुटीको शेयर सिरानीमा राखेर बसेका नेपालीहरुको गोल्छाकै कुदृष्टिका कारण बेहाल बनेको छ ।
अर्थात् १० करोडको शेयर पूरै डुब्ने अवस्थामा छ । पछिल्लो समयमा ३३३ जना स्थायी कर्मचारी मात्रै रहेको उद्योगमा १३ जना सुरक्षाकर्मीले पहरा दिएर बसेका छन् । बन्द हुने समयमा झण्डै एक हजार श्रमिकहरुले काम गरेका थिए । रुग्ण उद्योगको अनुदान पनि गोल्छाकै पोल्टामा रुग्ण उद्योग भन्दै २०७० सालमा सरकारसँग लिएको अनुदान पनि गोल्छा अर्गनाइजेशनको श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडका नाममा नभई विदेशमा लगिएको वीक्लिसले खुलासा गरेको डकुमेन्टले प्रष्ट पारेको छ । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भृकुटी कागज कारखानालाई ७० करोड अनुदान दिएको नेकपा बहुहमतका संयोजक धमेन्द्र बास्तोलाले बताएका छन् ।
विदेशी बैंकमा रकम राखेको आशंका
गोल्छा परिवारले बिभिन्न बैंकबाट लिएको उक्त रकम वीक्लिसले खुलासा गरेको डकुमेन्टले प्रष्ट पारेको छ । वीक्लिसले लोकमान्य, हितेष र राजकुमार गोल्छाका नाममा ट्याक् हेभन देशमा उक्त रकम राखिएको उल्लेख छ । यो विषयमा पूर्व गृह तथा परराष्ट्रमन्त्री कमल थापाले पनि आपत्ति जनाएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् विरोध गरेका थिए । उनले देशको सरकार, संसद र राष्ट्रबैंकले विदेशमा नेपालीले राखेको रकमका विषयमा कुनै वास्ता नै नगरेको बताएका थिए ।
हदबन्दी भन्दा बढीको जग्गा खुसुक्क बिक्री
गोल्छा अर्गनाइजेशनले भृकुटी पल्प एण्ड पेपरको ९३ रोपनी जग्गा बेचेको मालपोतबाट जानाकारी प्राप्त भएको छ । श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको ७८० रोपनी जग्गा जुन हदबन्दी भन्दा बढी हो त्यस मध्ये ९३ रोपनी बेचिएको मालपोतको श्रेस्ताबाट जानकारी हुन आएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृतले लामो समय बन्द रहेको श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको विद्युतको बक्यौता पनि करोडौं रहेको बताइन्छ ।
त्यसैगरी ३३३ जना कर्मचारीको तलवलगायत पनि श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडका प्रमुख हितेश गोल्छाले समन्वय गरी काम गरेका छैनन् । अहिले पनि स्थायी कर्मचारीले तलब पाउन सकेका छैनन् ।
हितेश एमालेमा प्रवेश
सरकारी उद्योग कौडीको मूल्यमा हत्याएका उद्योगी र व्यापारीहरु अहिले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रवेश गरी आर्थिक लाभ लिइरहेका थिए । नेकपा (एमाले) मा मोतिलाल दुगड र नेपाली कांग्रेसमा बिनोद चौधरीमार्फत् सम्पर्कका यी कामहरु हुदै आएका छन् । दुगढकै नेतृत्वमा हितेश गोल्छा, दीपक मल्होत्रालगायतका ब्यापारीहरु एमालेमा र बिनोद चौधरी त मधेसी कोटामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासीबाट सांसदमा निर्वाचित भएका थिए । यस पटक २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भने उनी पराजित भए ।
को हुन् श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडका प्रमुख हितेश गोल्छा ?
राम लाल गोल्छाका नाती गोल्छा परिवारका दिवाकर गोल्छा नेपाली कांग्रेसका समानुपातिक सिटमा २०६४ सालमा संविधानसभाको सदस्य बनेका थिए । उनका दाजु महेन्द्र गोल्छा की श्रीमती राज कुमारी गोल्छा एमालेका नेता भरतमोहनको जोडबलमा २०७० सालको संविधानसभामा सभासद भइन् । उनले त एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई नै ७ करोड चन्दा दिएको पत्रकार सम्मेलनमार्फत बताएकी थिइन् । दिवाकर गोल्छा भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडका अध्यक्ष थिए । उनको निधन पश्चात उनका छोरा हितेश गोल्छाले यसको व्यवस्थापन हेरेका छन् ।
रामलाल र धापीदेवी गोल्छाका दुई छोराहरु हंशराज गोल्छा र हुलासचन्द्र गोल्छा हुन् । हंशराज गोल्छाका तीन छोराहरु लोकमान्य, दिवाकर र महेन्द्र गोल्छा हुन् । माहिला छोरा दिवाकरका दुई छोराहरु हितेश र हिमांशु गोल्छा हुन् ।
त्यसैगरी हुलास चन्द्र गोल्छाका ४ छोराहरुमध्ये शेखर गोल्छा, चन्द्रकुमार गोल्छा, राजकुमार गोल्छा हुन् । शेखरका छोराछोरीहरुले विदेशमा स्थायी बसोबासका लागि अनुमति समेत लिइसकेको बताइन्छ ।
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend