Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सतर्कताका प्रमुख साह नै भ्रष्टाचारमा चुर्लुम्म : लेनदेन मिलेपछि ट्रायल सेन्टर खुल्ला


    मंगलबार, असार १२ २०८१
    4.4K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मापदण्डविपरीत संचालन भएको भन्दै काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टर बन्द गर्न निर्देशन दियो । मापदण्ड पूरा नगर्ने र सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका ती ट्रायल सेन्टर बन्द गरेकोे थियो । तर ट्रायल सेन्टरलाई मापदण्ड पूरा गराउनेतिर भन्दा सतर्कता केन्द्रका प्रमुख घुस मोलमोलाइमा लागे । जब सतकर्ताका प्रमुख साहलाई दररेट अनुसार ट्रायल सेन्टरले घुस बुझाए, तब मापदण्ड सापदण्ड केही पूरा नगरी रातारात खुलाइए ।

    राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहलाई दररेट अनुसार घुस बुझाएपछि ट्रायल सेन्टर खुलेका छन् । स्रोतका अनुसार ३ वटा ट्रायल सेन्टरले २५ लाख रुपैयाँ बुझाएपछि केन्द्रले भनेको मापदण्ड केही पूरा नगरी खुलेका छन् ।उपत्यकाका ट्रायल सेन्टर बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहत छन् । तर सतर्कताका सचिव साहले कार्यक्षेत्र भन्दाबाहिर गएर ट्रायल सेन्टरमा दुई-तीन पटकसम्म आफ्नो टोली पठाउने, ट्रायल सेन्टर संचालकसँग गोप्य भेट गर्ने, यो पुगेन, ऊ पुगेन भन्ने गरेका छन् । अन्त्यमा ३ वटा ट्रायल सेन्टरबाट ५-५ लाख र एउटा ट्रायल सेन्टरबाट १० लाख रुपैयाँ बुझेर गत जेठ ३२ गतेबाट ट्रायल खुलाएको आरोप छ । यस मामिलामा बागमती यातायात मन्त्रालय निरीह देखिएको छ । सतर्कताका सचिव रामआधार साहले पटक–पटक दिएको निर्देशनलाई मन्त्रालयले हुबहु मान्ने बाहेक कुनै भूमिका देखाउन सकेन ।

    मन्त्रालयले पनि आफै टोली बनाएर प्रत्येक ट्रायल सेन्टरमा गएर तोकिएको मापदण्ड अनुसार भौतिक संरचना पूरा गरिएको छ कि छैन भनी प्राविधिक परीक्षण त ग¥यो, तर मन्त्रालयले गरेको परीक्षणलाई रामआधारले टेरेनन् । र, आफैं परीक्षण गर्न पठाए । यस मामिलामा रामआधारले सतर्कताका प्राविधिक कर्मचारीलाई पनि पटक पटक दुरुपयोग गरेका छन् । गएको जेठको अन्तिम साता रामआधारले बन्द भएका ट्रायल सेन्टर खुला गर्न निर्देशन दिएपछि मात्र मन्त्रालयले चारवटा ट्रायल सेन्टरलाई छुट्टाछुट्टै चिठी लेखर ट्रायल खुला गर्न निर्देशन दिएको थियो ।

    जस अनुसार जेठ ३२ देखि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनाले प्रयोगात्मक परीक्षा (ट्रायल परीक्षा) लिन सुरु गरेका छन् । हेभी तथा मझौला सवारी साधन जस्तै मिनिबस, मिनीट्रक, लहरी, बस, ट्रकको ट्रायल लिँदै आएका उपत्यकाका ३ वटा ट्रायल सेन्टरहरु भने अझै बन्द गराइएका छन् । ती ट्रायल सेन्टर खुला गर्न रामआधारले फेरि यो वा ऊ पुगेन, त्यो पुगेन भन्न थालेका छन् । ‘ट्रायल सेंन्टर संचालन सम्बन्धी मापदण्डमै नलेखिएको विषय उठाउँदै उहाँ (रामआधार)ले कहिले यो पुगेन, कहिले ऊ पुगेन भन्ने गर्नुभएको छ,’ स्रोत भन्छ ।

    स्रोतका अनुसार प्राविधिक टोलीले ट्रायल सेन्टरमा गई प्राविधिक परीक्षण गरिसकेको छ र तोकिएको मापदण्ड अनुसार भौतिक संचरना पूरा गरेको रिपोर्ट बुझाइसकेको छ । तर पनि रामआधारले आलटाल गरिरहेका छन् । स्रोतका अनुसार रामआधारले उपत्यकाका ३ वटा ट्रायल सेन्टरका संचालकसँग दररेट अनुसार बुझेका छन् ।  रामआधारले इजी वेका संचालक निर्भयबाबु प्रसाई उर्फ जोनसँग आफैं डिल गरेका थिए । इजीवेसँग अरु ३ वटाको भन्दा दोब्बर घुसको लेनदेन भएको स्रोत बताउँछ । इजीवेसँग थप घुस बुझ्नुको कारण के थियो भने इजी वेले सार्वजनिक जग्गा मिचेर ट्रायल सेन्टर चलाएको छ । त्यसअघि रामआधारले एउटा टोली बनाई इजी वेले सार्वजनिक जग्गा मिचेको, नमिचेको विषयमा जाँच गर्न पठाएका थिए ।

    प्राविधिक टोलीले सार्वजनिक जग्गा मिचेकोमात्र रिपोर्ट दिएन, इजीवेले हनुमन्ते पुललाई समेत जोखिममा पारेर ट्रायल सेन्टर संचालन गरिरहेको, पुलको छेउको फुटपाथ समेत गायब पारेको रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्ट हात परेपछि रामआधारलाई इजी वेका सचालकसँग बार्गेनिङ गर्नथप सजिलो भएको थियो । त्यसपछि उनले आफै निर्भयसँग भेट गरेका थिए । अहिले उक्त रिपोर्टलाई रामआधारले थन्क्याएर राखेका छन् ।

    ट्रायल सेन्टर खुलाउन र बन्द गर्न रामआधारले कार्यक्षेत्र भन्दा बाहिर गई भूमिका निभाएका थिए । तोकिएको मापदण्ड अनुसार ट्रायल सेन्टरहरुले भौतिक सरंचना तयार गरेको÷ नगरेको भनी सचेत गराउने काममात्र सतर्कताको थियो । त्यसपछि संरचना पूरा गरेको-नगरेको परीक्षण गर्ने, ट्रायल सेण्टर बन्द गराउने, खुला गराउने यी सबै काम प्रदेश यातायात मन्त्रालयको हो । तर प्रदेश मन्त्रालयले गर्ने काम पनि रामआधारले आफैं गरेका छन् । यस मामिलामा प्रदेश मन्त्रालयका सचिव बलराम निरौलाले पनि कुनै भूमिका देखाउन सकेनन् । सचिव निरौलाले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको भए सतर्कताका प्रमुख साहले क्षेत्राधिकार मिचेर ट्रायल सेन्टर बन्द गर्ने र घुस बार्गेनिङ गर्ने ठाउँ पाउने थिएनन् ।

    रामआधार साहलाई सतर्कताको प्रमुख, ….लाई साँचो

    निजामती प्रशासनमा रामआधार साहलाई भ्रष्टाचारका पर्यायका रुपमा चिनिन्छ । फिजिक्स पढेका उनी उपसचिव हुँदै शक्तिकेन्द्रलाई प्रभावमा पारी सहसचिवको दरबन्दी भएको गुणस्तर तथा नापतौल विभागको महानिर्देशक भएका थिए । २०७२ मंसिरमा पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्न लगाएर तेल चोर्न सिकाउने साह नै भएको खुलेको थियो ।

    तत्कालीन अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) ले पेट्रोल पम्पका संचालकलाई तेल चोर्न सिकाएको आरोपमा पक्राउ गरेको थियो । अदालतमा सेटिङ गरी उनले पेट्रोल पम्पमा ठगी मेसिन जडान गरेर ठगी गरेको आरोपमा सफा त दियो । उनी फेरि विभागको महानिर्देशक भएपछि गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने उद्योगसँग घुस असुली कारबाही नै नगरी उन्मुक्ति दिनेदेखि अनेक काण्डमा मुछिए ।

    उपभोक्ता ठगी गर्ने यन्त्र जोडेर रिमोट सिस्टममार्फत् ठगी गर्दै आएका काठमाडौं उपत्यकाका १७ वटा पेट्रोल पम्पलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले बन्द गरेको थियो ।  प्रहरीले पेट्रोल पम्पमा छामा मारेर पम्पहरु सिलबन्दी गरेको थियो । प्रहरीले ७ वटा पेट्रोल पम्पबाट ७ जना सञ्चालक र ६ प्राविधिक गरी १३ जना तथा रिमोट र जडित यन्त्र पनि नियन्त्रणमा लिएको थियो ।

    पेट्रोल पम्पहरुको कम तेल झरे पनि सुइरोले बढी देखाउने यन्त्र जोडेर उपभोक्ता ठगी गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको थियो । रिमोट सिस्टमबाट चल्ने उक्त यन्त्रले सय लिटर पेट्रोल भर्दा २ देखि ४ लिटरसम्म ठगी गर्न सकिने मिस्त्री आयोब आलमले बताए । आयोव आलमसँग पेट्रोल पम्पसँग कनेक्सन गराउने काम पनि रामआधारले नै गरेका थिए ।

    राजधानीका १६ वटा पेट्रोल पम्पमा तिनै आलमले ठगी मेसिन जोडेका थिए । नापतौल विभागका महानिर्देशकका रुपमा पेट्रोल पम्प, सिमेन्ट उद्योगदेखि गुणस्तर चिह्नको अनमुति दिंदा घुसको दररेट नै तय गरेका थिए । रामआधारले नापतौल विभागमा बसी आर्जित अकूत सम्पत्तिले काठमाडौं उपत्यकामा चल्ने ४ सय ट्याक्सी नै खरिद गरेको चर्चा अहिले पनि गुणस्तर विभागमा हुने गरेको छ । गुणस्तर विभागलाई पैसा छाप्ने मेसिन नै बनाएका उनी जुन निकायमा सरुवा भए पनि त्यसलाई दुरुपयोग गरी ब्यक्तिगत लाभ लिन तल्लीन छन् । सरकारले यस्ता विवादित पात्रलाई सतर्कता केन्द्रको प्रमुख बनाएर ….लाई साँचो भन्ने उखानलाई चरितार्थ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार