Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रहरी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन समिति गठन


    मंगलबार, मंसिर ९ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको छ ।

    अन्वेषण, योजना तथा विकास निर्देशनालयका डिआइजी भट्ट नेतृत्वको समितिले काम सुरु गरिसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले जानकारी दिएका छन् ।

    ‘सरुवा पूर्वानुमानयोग्य र पारदर्शी बनाउन समिति गठन गरिएको हो । सरुवा मापदण्डको अक्षरशः पालना गर्दै प्रहरी कर्मचारीको दक्षता र क्षमताका आधारमा सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । अब समितिको सिफारिसका आधारमा सरुवा प्रक्रिया अघि बढाइनेछ,’ डिआइजी काफ्लेले भने ।

    गत कात्तिक १८ गते प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै डा. मनोज कुमार केसीले सरुवा प्रणालीलाई पारदर्शी बनाउने बताएका थिए । उनको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले समिति गठन गरी प्रक्रिया अघि बढाएको हो ।

    सरुवाका क्रममा उठ्ने गुनासा सम्बोधन गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने र सरुवा प्रक्रियाप्रति प्रहरी कर्मचारीको अपनत्व कायम गर्ने उद्देश्यले समितिले काम गर्ने जनाइएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार समितिको सिफारिस प्रहरी महानिरीक्षकबाट सदर भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सरुवाको निर्णय गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार