Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • विदेशी ब्रान्डको ट्रेडमार्क चोरी प्रकरण : कुरमुरे, नेराल्याक, म्याकडोनल्ड्सदेखि डोल्से एन्ड गब्बानासम्मको उजुरी


    मंगलबार, भाद्र ९ २०८३
    225
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कुनै पनि उत्पादनको ट्रेडमार्क दर्ता निकाय उद्योग विभाग हो । ट्रेडमार्क दर्तादेखि त्यसको संरक्षण गर्ने दायित्व उद्योग विभागकै हो । तर उद्योग विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोरी हुँदा नेपालको छवि अन्तर्राष्ट्रिय रुपमै धुमिल पार्ने काम भइरहेको छ ।

    ६ सयभन्दा बढी उत्पादनका ट्रेडमार्क चोरी भएका छन् । तर सरकार गम्भीर हुनसकेको छैन । विदेशी ब्रान्डका ट्रेडमार्क चोरी रोक्न सरकार गम्भीर नहुँदा नेपालमा लगानी गर्नका लागि आउन चाहनेहरु नै हच्किने गरेका छन् ।

    नेपालमा उद्योग–व्यवसाय विस्तारसँगै ट्रेडमार्कको संरक्षण र ब्रान्ड पहिचानसम्बन्धी विवाद चर्किन थालेको छ ।  नेपालका केही उद्योग तथा कम्पनीले प्रयोग गर्न खोजेका ट्रेडमार्कविरुद्ध विश्वप्रसिद्ध विदेशी कम्पनीहरूले उद्योग विभागमा उजुरी दर्ता गरेपछि नेपाली व्यवसायीमाथि ब्रान्ड छनोट र कानुनी अनुपालनको प्रश्न उठेको छ ।

    उद्योग विभागले विभिन्न उद्योग तथा कम्पनीविरुद्ध दायर भएका ट्रेडमार्कसम्बन्धी उजुरीमा सम्बन्धित पक्षलाई बाटोको म्यादबाहेक सात दिनभित्र लिखित प्रतिक्रिया पेस गर्न निर्देशन दिएको छ । तोकिएको अवधिमा जवाफ नआए प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने विभागले चेतावनी दिएको छ ।

    विभागका अनुसार अमेरिकाको चर्चित फास्टफुड कम्पनी म्याकडोनल्ड्स कर्पाेरेसनले नवलपरासीस्थित ट्रस्ट फुड्स प्रोडक्ट्स प्रालिविरुद्ध ‘ह्याप्पी फुड’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । म्याकडोनल्ड्सले विराटनगरस्थित एम.आर.एफ.जी. एड्हेसिभ केमिकल एन्ड इन्डस्ट्रिजविरुद्ध पनि ‘एमटीवाईआरई केयर’ लोगो ट्रेडमार्कसम्बन्धी दाबी विरोधको उजुरी गरेको विभागले जनाएको छ ।

    त्यस्तै, अमेरिकाकै कोहलर कम्पनीले पर्सास्थित रोलेक्स सेनिटरी वेयर्स प्रालिविरुद्ध ‘आरएसडब्ल्यू कोहलर’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । इटलीको विश्वप्रसिद्ध फेसन ब्रान्ड डोल्से एन्ड गब्बाना ट्रेडमाक्र्स एसआरएलले रुपन्देहीस्थित अंकुर सोप इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिविरुद्ध ‘डीजी सोप’ ट्रेडमार्क प्रयोगसम्बन्धी उजुरी गरेको छ ।

    यी उजुरीहरूलाई केवल सामान्य व्यावसायिक विवादका रूपमा हेर्नुभन्दा नेपालमा बौद्धिक सम्पत्ति अधिकार संरक्षणको अवस्था र नेपाली उद्योगको ट्रेडमार्क छनोट प्रक्रियामाथि गम्भीर प्रश्नका रूपमा लिनुपर्ने देखिन्छ ।

    सात दिनको चेतावनी, जवाफ नदिए कारबाही

    विभागका अनुसार सम्बन्धित उद्योग तथा कम्पनीको नाम र ठेगानामा उजुरीको प्रतिलिपिसहित यसअघि नै सात दिनको म्याद दिएर सूचना पठाइएको थियो । तर, तोकिएको अवधिमा कुनै पनि सम्बन्धित कम्पनीबाट लिखित प्रतिक्रिया प्राप्त भएन । सूचना तामेल भएको प्रमाणसमेत विभागमा नआएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।
    अब सम्बन्धित उद्योग तथा कम्पनीले आवश्यक प्रमाणसहित कानुन शाखामा उपस्थित भएर लिखित प्रतिक्रिया पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र प्रतिक्रिया नआए कानुनअनुसार प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ । त्यसपछि सम्बन्धित पक्षबाट आउने उजुरी वा दाबी स्वीकार नगरिने चेतावनीसमेत दिइएको छ ।

    नेपाली उद्योगका लागि ‘ब्रान्ड’ नै चुनौती

    नेपालमा नयाँ उत्पादन र कम्पनी स्थापना गर्दा ट्रेडमार्क दर्तालाई औपचारिक प्रक्रियाका रूपमा मात्र लिने प्रवृत्ति अझै देखिन्छ। तर अन्तर्राष्ट्रिय बजारमा ब्रान्डको नाम, लोगो, प्रतीक र पहिचान स्वयं ठूलो व्यावसायिक सम्पत्ति मानिन्छ । त्यसैले स्थापित अन्तर्राष्ट्रिय ब्रान्डसँग मिल्दोजुल्दो नाम वा लोगो प्रयोग गर्दा कानुनी विवाद उत्पन्न हुनसक्छ ।

    हालका उजुरीले नेपाली उद्योगले नयाँ ब्रान्ड निर्माण गर्दा पहिले नै ट्रेडमार्कको कानुनी अवस्था जाँच गर्ने, समान वा मिल्दोजुल्दो चिन्ह पहिचान गर्ने र आवश्यक कानुनी परामर्श लिने आवश्यकता झन् स्पष्ट बनाएको छ । अर्कोतर्फ, विदेशी कम्पनीले नेपालमा आफ्ना ट्रेडमार्कको संरक्षण खोज्नुले नेपालमा बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी कानुनी संरचना र त्यसको कार्यान्वयनप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको चासो पनि बढिरहेको संकेत गर्छ ।

    अब उद्योग विभागसमक्ष चुनौती एउटै छ—उजुरीमा निष्पक्ष सुनुवाइ गर्दै तथ्य र प्रमाणका आधारमा निर्णय गर्नु । सम्बन्धित नेपाली उद्योगका लागि भने अर्को चुनौती थपिएको छ—आफ्नो ब्रान्ड जोगाउने कि कानुनी विवादपछि नाम र पहिचान नै परिवर्तन गर्ने ? ट्रेडमार्क विवादको यो शृंखला नेपाली उद्योगका लागि चेतावनी पनि हो । व्यवसाय सुरु गर्नुअघि बजार मात्र होइन, ब्रान्डको कानुनी भविष्य पनि सुनिश्चित गर्नुपर्ने समय आएको छ ।

    ट्रेडमार्क चोरीमा गोयलदेखि दुगडसम्म

    विदेशी ब्रान्डका ट्रेडमार्क चोरी गरी दर्ता गर्नेमा चर्चित ब्यापारीहरु छन् ।  धारा तेल, कुरमुरे, कान्साई नेरोलिक कम्पनीको पेन्ट, जापानी क्यालकुलेटर क्यासियो, कोकाकोलादेखि शुद्ध प्लस गुट्खाका ट्रेडमार्क चोरीमा पहुँचवाला ब्यापारीहरु नै रहेका छन् । उनीहरुको पहुँच उद्योग बिभागका महानिर्देशक, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीशको बेडसम्मै छ ।

    ट्रेडमार्क चोरीमा मोतिलाल दुगड, कैलाशचन्द्र गोयलजस्ता ठूला ब्यापारी नै मुछिएका छन् । दुगड र गोयलको पहुँच प्रधानमन्त्रीदेखि सर्वोच्चका न्यायाधीशहरूसम्म रहेको छ । उनीहरु न्यायाधीश नै नियुक्त गराउने हैसियतमा छन् ।

    पूर्व प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार बनेका विवादास्पद व्यापारी मोति दुगडले भारतीय कम्पनीको कुरकुरे ब्रान्डको ट्रेडमार्क नेपालमा दर्ता गरेका थिए । तर, भारतीय कम्पनीले कुरकुरे ब्रान्ड उत्पादनको अनुमति पेप्सीकोलाको उत्पादक बरुण बेभरेजलाई दिएको छ । बरुण बेभरेज उद्योग विभागमा कुरकुरे ब्रान्डको ट्रेडमार्क दर्ता गर्न जाँदा दुगडले पहिले नै दर्ता गरेको भेटिएको थियो ।

    दुगडले ट्रेडमार्क चोरी गरेको उजुरी लिएर उद्योग विभागमा भारतीय कम्पनी गयो । तर प्रधानमन्त्रीका सल्लाहकार दुगडले उद्योग विभागका तत्कालीन कानुन शाखाका उपसचिव दीपक घिमिरे (हाल जिल्ला न्यायाधीश) सँग सेटिङ गरी चोरीको कुरेकुरेको ट्रेडमार्कको मुद्दामा आफ्नो पक्षमा फैसला गराउन सफल भएका थिए ।

    कुरकुरे प्रकरणलाई दिनलाई रात पार्ने फैसलाका रुपमा विभागभित्र लिने गरिएको छ । ट्रेडमार्क चोरीमा आफूलाई जिताएबापत मोति दुगडले दीपक घिमिरेलाई केपी शर्मा ओलीकोमा लिएर गए मात्र होइन, ओलीमार्फत् न्यायपरिषदबाट जिल्ला न्यायाधीश नै नियुक्ति गराई बाँके पदस्थापन गराएका थिए ।

    कानुन मन्त्रालयमा २९ औं नम्बरका कनिष्ट घिमिरेले ट्रेडमार्क चोरीमा दुगडलाई मात्र होइन, बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालको कोकाकोलाको ट्रेडमार्क चोरी गर्ने कम्पनी क्लवकोलालाई जिताएका थिए । हुबहु क्लवकोलाको ट्रेडमार्क दर्ता गरेको क्लबकोलालाई करोडभन्दा बढी घुस लिएर जिताएको आरोप घिमिरेमाथि लागेको थियो । बोटलर्स नेपाल उक्त आदेशप्रति असन्तुष्ट रहेको बोटलर्स नेपालले तत्कालीन उद्योग मन्त्री, सचिवलाई भेटेर असन्तुष्टि जाहेर गरेको थियो ।

    त्यसैगरी चर्चित अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्नेमा कैलाशचन्द्र गोयलको नाम आउँछ । चर्चित उत्पादनको ट्रेडमार्क उद्योग विभागमा दर्ता गर्ने र उक्त कम्पनी नेपालमा लगानी गर्न आएमा सुरुमै ट्रेडमार्कको झमेलामा पर्ने गरेका छन् । गोयलका कारण नेपाली बजारमा सुपरिचित जापानी ब्राण्ड कन्साई नेरोल्याक पेन्ट्स झमेलामा परेको घटनालाई लिन सकिन्छ ।

    नेरोल्याकको नेपाली कम्पनी ‘केएनपी’ जापानविरुद्ध गोयलले मुद्दा हाले । झन्डै एक सय वर्ष पुरानो र ६० देशमा साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय कम्पनी कन्साईले नेपालमा ८ बर्षअघि उत्पादन सुरु गरेको हो । गोयलले चोरी गरेको तर कन्साईको विश्वभर परिचित आफ्नै आधिकारिक ट्रेडमार्कविरुद्ध गोयलले २० वटा उत्पादनमा मुद्दा हालेर दिनुसम्म दुःख दिए ।

    ४० करोड रुपैयाँ विदेशी लगानी लिएर नेपाल भित्रिएको कन्साई पेन्ट्सको ट्रेडमार्क गोयलले चोरी गरेपछि जापानी ब्राण्ड मुद्दा लड्दालड्दा हैरान छ । ८ बर्षसम्म पनि मुद्दामै अल्झिनुपरेपछि विदेशी लगानीकर्तामा कस्तो प्रभाव पर्ला ? यो मर्म उद्योग विभागदेखि अदालतले समेत बुझ्न सकेका छैनन् ।

    ट्रेडमार्क चोरी गर्ने गिरोहका कैलाश गोयलको पहुँच यति छ कि उनी हरेक न्यायाधीशको घरमा कोशेली बोकेर गरेका छन् । कतिपय न्यायाधीशको घरमा रङ लगाइदिने काम समेत गरिदिन्छन् । उनको काम नै चर्चित विदेशी वा स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने र पछि उक्त कम्पनीले उद्योग संचालन गरिसकेपछि मुद्दा हाल्ने हुँदैआएको छ । गोयल ललिता निवास जग्गाकाण्डका मुख्य आरोपीसमेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार