Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • उद्योग मन्त्रालयमा सरुवा आतंक, कस-कसलाई गरियो अवधि नपुग्दै पँजनी ?


    शनिबार, चैत्र १० २०८०
    3K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । निजामती सेवा ऐनमा कर्मचारीको सरुवा २ बर्ष अवधि पुगेपछि मात्र हुने ब्यवस्था छ । तर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने १२ महिना अवधि नपगेका कर्मचारीको सरुवा भइरहेको छ । अवधि नपुगी सरुवा भएका कर्मचारीहरुले गुनासो र उजुरी नगरेपछि मन्त्रालयका लागि कर्मचारी सरुवा गर्न कुनै पनि ऐन कानुन पल्टाउनुपर्ने अवस्था देखिंदैन । मन्त्री र सचिवले चाहेपछि तत्कालै सरुवा गर्ने परिपाटी उद्योग मन्त्रालयमा फष्टाउँदै आएको छ । उद्योग विभागबाट अवधि नपुगी कर्मचारीलाई मन्त्रालय र अन्यत्र सरुवा गर्ने त परिपाटी बसालिसकिएको छ ।

    २ बर्ष नपगी उद्योग विभागका उपसचिव हरिप्रसाद पँगेनी, रमिला भण्डारी, खगेन्द्रबहादुर बस्नेतलाई मन्त्रालय तानियो । सचिव र मन्त्रीका निकट कर्मचारीहरुलाई उद्योग विभाग पठाउनकै लागि अवधि नपुगी सरुवा गरिएको हो । मन्त्रालयले सरुवा गरेपछि लुरुलुरु खटाएको ठाउँमा गएर उपसचिवहरुले काम गर्दैआएका छन् । सो ठाउँमा सचिव र मन्त्रीनिकट उपसचिव अर्जुनसेन ओली र सोम गौतमलाई लगिएको थियो । ओली र गौतम मन्त्रालयमा पदस्थापन भएको ६ महिना नबित्दै शक्तिको आडमा विभाग पुगेका थिए ।

    उपसचिवहरु कल्पना घिमिरे, भक्तराज जोशी, उदय गुप्ताहरु पनि अवधि नपुग्दै मन्त्रालयबाट फालिएका थिए । मन्त्री र सचिवको चाहनामा चल्दैआएको बिभागमा शक्तिकै आडमा दोहोर्याएर एक बर्षमै पुनः विभाग जाने पावरफुल नासु हुन्, उदयराज पौडेल । यसअघिका उद्योग मन्त्री रमेशप्रसाद रिजाललाई भेना नाता लाएर मन्त्रालयको स्टोर शाखा सम्हालेका थिए । उनै पौडेललाई रिजालले जाँदाजाँदै उद्योग विभाग पठाएका छन् । पौडेल विभागबाट मन्त्रालय सरुवा भएको एक बर्ष नपुग्दै पुनः सोही कार्यालयमा पुग्ने भाग्यमानी कर्मचारी हुन् । उद्योग विभागबाट १७ महिनामा मन्त्रालयमा सरुवा गरिएका उपसचिव हरि पँगेनीलाई त्यहाँबाट २ महिनामै बाणिज्य कार्यालय बीरगंजमा पुर्याइएको छ ।

    त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले आफ्ना विश्वासपात्र उपसचिव प्रवीण कोइरालालाई कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याएको तीन महिना नबित्दै उनलाई वर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले बाणिज्य विभागमा पठाएका छन् । बाणिज्य विभागका घनश्याम सुवेदीलाई मन्त्रालयको कर्मचारी प्रशासन शाखाको जिम्मा दिइएको छ । सुवेदी पनि डेढ बर्षमै बाणिज्य बिभाग छाड्ने कर्मचारी बन्न पुगेका छन् । बाणिज्यको दर्ता शाखामा केही समय कार्यरत रहेर प्रशासन शाखाको प्रमुख चलाइरहेका सुवेदीलाई मन्त्रीका निजी सचिव विवेक घिमिरेको जोडबलमा मन्त्रालयको महत्वपूर्ण शाखा दिइएको हो । हालका मन्त्री आएपछि निरीह बन्न पुगेका सचिव निरौलाले आफ्नै रोजाइमा लगेका कोइरालालाई टिकाउन सकेनन् ।

    सचिव निरौलाले औद्योगिक प्रबद्र्धन शाखामा लगेका उपसचिवद्वय शेखर पौडेल र सुरेश दाहाललाई पनि सरुवा गर्ने तयारीमा मन्त्रीको सचिवालय लागेको छ । जहाँ जहाँ तत्कालीन मन्त्री रिजाल र सचिव निरौला निकट कर्मचारी छन्, तिनको पृष्ठभूमि बुझ्दै थान्को लाउने क्रम उपसचिव कोइरालाबाटै सुरु भएको छ । यो क्रम कहाँसम्म पुग्ने हो हेर्न बाँकी छ । उपसचिव मातृका आचार्य जो रिजालका निजी सचिव थिए, उनलाई उद्योग मन्त्रालयबाटै ससम्मान बिदाइ गर्ने तयारी गरिएको छ । आचार्यको समूहले घिमिरेलाई यसअघि उद्योग मन्त्रालय छाड्न बाध्य बनाएका थिए । उक्त घटना नबिर्सेका घिमिरेका लागि अहिले आफ्ना बिरोधीहरु छानीछानी सरुवा गर्ने दायित्व आइलागेको छ ।

    बाणिज्यकै उपसचिव भेष कुँवर करिब आधा महिनादेखि मन्त्रालयमा सरुवा भएर आएका छन् । निरौलाले कुँवरलाई उपयुक्त जिम्मेवारी दिने बाचाका साथ सरुवा गरे पनि त्यो पूरा गर्न सकेका छैनन् । उनी अहिले हाजिर गर्दै फर्किनेमा सीमित छन् । कुँवरलाई अघिल्लो मन्त्रीका पालामा ल्याइएको हुँदा अहिलेका मन्त्रीले पनि जिम्मेवारी दिने संकेत देखिएको छैन । अवधि नपुगी उद्योग विभागबाट सरुवा भएकी कमला घिमिरे एक बर्षको बीचमा सूचना प्रविधि शाखाबाट नीति योजनामा पुगेकी थिइन् । उनै घिमिरेलाई आइतबार बाणिज्य बिभागतिर पठाएर निरौलाले आफ्ना विश्वासपात्र कोइरालालाई पठाएका छन् । घिमिरेको भाग्यमै नभएर हो वा अरु कुनै कारणले हो, एक बर्षको बीचमा उद्योग बिभाग, मन्त्रालयमा केही दिन जिम्मेवारीबिहीन, पछि मन्त्रालयका २ वटा शाखा हुँदै बाणिज्य बिभागमा पुर्याइएकी छन् ।

    ३ बर्षदेखि एकछत्र राज गरेकी सचिव चन्द्रकला पौडेलले महिला उपसचिव घिमिरेलाई संरक्षण गर्न नसकेको आरोप छ । अहिले मन्त्रालय पौडेलकै इशारामा चल्ने गरेको छ । अघिल्ला मन्त्री र सचिव निरौलाले मन्त्रालय र बिभागमा कांग्रेसनिकट कर्मचारीमात्र सरुवा गरेको झोसपोल मन्त्री भण्डारीलाई सहसचिव पौडेलले लगाएको आरोप छ । भण्डारीको बहालीपछि पौडेलको फुर्तीफार्ती यतिसम्म बढेको छ कि सचिवद्वय निरौला र नारायण शर्मा दुवाडीसमेत उनकै इशारामा चलेको आरोप छ । पौडेलले आफूले मन्त्रालयमा सुधार गरिरहेको, अहिलेसम्म प्रगतिमा आफ्नो ठूलो योगदान रहेको बताउने गरेकी छन् । उनकै इशारामा सहसचिवद्वय रामचन्द्र तिवारी, छवि रिजाल र जीवलाल भूसाललाई मन्त्रालयबाटै आउट गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार