काठमाडौं । निजामती सेवा ऐनमा कर्मचारीको सरुवा २ बर्ष अवधि पुगेपछि मात्र हुने ब्यवस्था छ । तर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने १२ महिना अवधि नपगेका कर्मचारीको सरुवा भइरहेको छ । अवधि नपुगी सरुवा भएका कर्मचारीहरुले गुनासो र उजुरी नगरेपछि मन्त्रालयका लागि कर्मचारी सरुवा गर्न कुनै पनि ऐन कानुन पल्टाउनुपर्ने अवस्था देखिंदैन । मन्त्री र सचिवले चाहेपछि तत्कालै सरुवा गर्ने परिपाटी उद्योग मन्त्रालयमा फष्टाउँदै आएको छ । उद्योग विभागबाट अवधि नपुगी कर्मचारीलाई मन्त्रालय र अन्यत्र सरुवा गर्ने त परिपाटी बसालिसकिएको छ ।
२ बर्ष नपगी उद्योग विभागका उपसचिव हरिप्रसाद पँगेनी, रमिला भण्डारी, खगेन्द्रबहादुर बस्नेतलाई मन्त्रालय तानियो । सचिव र मन्त्रीका निकट कर्मचारीहरुलाई उद्योग विभाग पठाउनकै लागि अवधि नपुगी सरुवा गरिएको हो । मन्त्रालयले सरुवा गरेपछि लुरुलुरु खटाएको ठाउँमा गएर उपसचिवहरुले काम गर्दैआएका छन् । सो ठाउँमा सचिव र मन्त्रीनिकट उपसचिव अर्जुनसेन ओली र सोम गौतमलाई लगिएको थियो । ओली र गौतम मन्त्रालयमा पदस्थापन भएको ६ महिना नबित्दै शक्तिको आडमा विभाग पुगेका थिए ।
उपसचिवहरु कल्पना घिमिरे, भक्तराज जोशी, उदय गुप्ताहरु पनि अवधि नपुग्दै मन्त्रालयबाट फालिएका थिए । मन्त्री र सचिवको चाहनामा चल्दैआएको बिभागमा शक्तिकै आडमा दोहोर्याएर एक बर्षमै पुनः विभाग जाने पावरफुल नासु हुन्, उदयराज पौडेल । यसअघिका उद्योग मन्त्री रमेशप्रसाद रिजाललाई भेना नाता लाएर मन्त्रालयको स्टोर शाखा सम्हालेका थिए । उनै पौडेललाई रिजालले जाँदाजाँदै उद्योग विभाग पठाएका छन् । पौडेल विभागबाट मन्त्रालय सरुवा भएको एक बर्ष नपुग्दै पुनः सोही कार्यालयमा पुग्ने भाग्यमानी कर्मचारी हुन् । उद्योग विभागबाट १७ महिनामा मन्त्रालयमा सरुवा गरिएका उपसचिव हरि पँगेनीलाई त्यहाँबाट २ महिनामै बाणिज्य कार्यालय बीरगंजमा पुर्याइएको छ ।
त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले आफ्ना विश्वासपात्र उपसचिव प्रवीण कोइरालालाई कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याएको तीन महिना नबित्दै उनलाई वर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले बाणिज्य विभागमा पठाएका छन् । बाणिज्य विभागका घनश्याम सुवेदीलाई मन्त्रालयको कर्मचारी प्रशासन शाखाको जिम्मा दिइएको छ । सुवेदी पनि डेढ बर्षमै बाणिज्य बिभाग छाड्ने कर्मचारी बन्न पुगेका छन् । बाणिज्यको दर्ता शाखामा केही समय कार्यरत रहेर प्रशासन शाखाको प्रमुख चलाइरहेका सुवेदीलाई मन्त्रीका निजी सचिव विवेक घिमिरेको जोडबलमा मन्त्रालयको महत्वपूर्ण शाखा दिइएको हो । हालका मन्त्री आएपछि निरीह बन्न पुगेका सचिव निरौलाले आफ्नै रोजाइमा लगेका कोइरालालाई टिकाउन सकेनन् ।
सचिव निरौलाले औद्योगिक प्रबद्र्धन शाखामा लगेका उपसचिवद्वय शेखर पौडेल र सुरेश दाहाललाई पनि सरुवा गर्ने तयारीमा मन्त्रीको सचिवालय लागेको छ । जहाँ जहाँ तत्कालीन मन्त्री रिजाल र सचिव निरौला निकट कर्मचारी छन्, तिनको पृष्ठभूमि बुझ्दै थान्को लाउने क्रम उपसचिव कोइरालाबाटै सुरु भएको छ । यो क्रम कहाँसम्म पुग्ने हो हेर्न बाँकी छ । उपसचिव मातृका आचार्य जो रिजालका निजी सचिव थिए, उनलाई उद्योग मन्त्रालयबाटै ससम्मान बिदाइ गर्ने तयारी गरिएको छ । आचार्यको समूहले घिमिरेलाई यसअघि उद्योग मन्त्रालय छाड्न बाध्य बनाएका थिए । उक्त घटना नबिर्सेका घिमिरेका लागि अहिले आफ्ना बिरोधीहरु छानीछानी सरुवा गर्ने दायित्व आइलागेको छ ।
बाणिज्यकै उपसचिव भेष कुँवर करिब आधा महिनादेखि मन्त्रालयमा सरुवा भएर आएका छन् । निरौलाले कुँवरलाई उपयुक्त जिम्मेवारी दिने बाचाका साथ सरुवा गरे पनि त्यो पूरा गर्न सकेका छैनन् । उनी अहिले हाजिर गर्दै फर्किनेमा सीमित छन् । कुँवरलाई अघिल्लो मन्त्रीका पालामा ल्याइएको हुँदा अहिलेका मन्त्रीले पनि जिम्मेवारी दिने संकेत देखिएको छैन । अवधि नपुगी उद्योग विभागबाट सरुवा भएकी कमला घिमिरे एक बर्षको बीचमा सूचना प्रविधि शाखाबाट नीति योजनामा पुगेकी थिइन् । उनै घिमिरेलाई आइतबार बाणिज्य बिभागतिर पठाएर निरौलाले आफ्ना विश्वासपात्र कोइरालालाई पठाएका छन् । घिमिरेको भाग्यमै नभएर हो वा अरु कुनै कारणले हो, एक बर्षको बीचमा उद्योग बिभाग, मन्त्रालयमा केही दिन जिम्मेवारीबिहीन, पछि मन्त्रालयका २ वटा शाखा हुँदै बाणिज्य बिभागमा पुर्याइएकी छन् ।
३ बर्षदेखि एकछत्र राज गरेकी सचिव चन्द्रकला पौडेलले महिला उपसचिव घिमिरेलाई संरक्षण गर्न नसकेको आरोप छ । अहिले मन्त्रालय पौडेलकै इशारामा चल्ने गरेको छ । अघिल्ला मन्त्री र सचिव निरौलाले मन्त्रालय र बिभागमा कांग्रेसनिकट कर्मचारीमात्र सरुवा गरेको झोसपोल मन्त्री भण्डारीलाई सहसचिव पौडेलले लगाएको आरोप छ । भण्डारीको बहालीपछि पौडेलको फुर्तीफार्ती यतिसम्म बढेको छ कि सचिवद्वय निरौला र नारायण शर्मा दुवाडीसमेत उनकै इशारामा चलेको आरोप छ । पौडेलले आफूले मन्त्रालयमा सुधार गरिरहेको, अहिलेसम्म प्रगतिमा आफ्नो ठूलो योगदान रहेको बताउने गरेकी छन् । उनकै इशारामा सहसचिवद्वय रामचन्द्र तिवारी, छवि रिजाल र जीवलाल भूसाललाई मन्त्रालयबाटै आउट गर्ने तयारी भइरहेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend