Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सुपारी तस्करीका लागि उद्योग दर्ता गर्ने होड, आयातको सिफारिस लिन प्रतिकिलो ५ रुपैयाँ घुस


    बिहिबार, कार्तिक ८ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सरकारले सुपारी, मरिच र पोस्तादानालगायतका बस्तु आयातमा प्रतिबन्ध लगाएको छ । आयातमा प्रतिबन्ध लगाए पनि उद्योगको कच्चा पदार्थ प्रयोजनका लागि भनेर उद्योग बिभागले दैनिक हजारौं हजार मेट्रिक टन सुपारी, मरिच जस्ता बस्तुहरु आयात गर्न सिफारिस दिइरहेको छ ।

    आयातमा प्रतिबन्ध लगाएपछि औद्योगिक कच्चा पदार्थका नाममा दैनिक हजारौं मेट्रिक टन सुपारी, पोस्तादाना आयात हुँदैआएको छ । ती बस्तु औद्योगिक प्रयोजनका लागि तेस्रो मुलुकबाट आयात  गरी ठूलो परिमाणमा भारत  तस्करी हुँदैआएको छ । मन्त्रिपरिषदको बैठकबाट औद्योगिक कच्चा पदार्थ आयातका लागि ती बस्तुहरु खुल्ला गर्ने, उद्योग विभागले सिफारिस दिंदा औचित्य पुष्टि हुनेगरी मात्र दिने सर्त राखेको छ । तर विभागले मनोमानी ढंगबाट यस्ता बस्तुहरुको आयात गर्न सिफारिस दिएपछि सुपारी मरिच जस्ता कच्चा पदार्थ प्रयोग हुने उद्योग खोल्नेहरुको ताँती नै लागेको छ ।

    दैनिक २ देखि ३ वटा यस्ता उद्योग उद्योग दर्ता हुने गरेको स्रोत बताउँछ । उद्योग विभागको घरेलु शाखा र अनुमति शाखाबाट दर्ता हुने यस्ता उद्योगले आफ्नो परियोजना प्रस्तावमा आवश्यकता भन्दा बढी परिमाणमा सुपारी र मरिच जस्ता बस्तु कच्चा पदार्थ खपत हुने उल्लेख हुने गरेका हुन्छन् । उक्त परिमाणमा सुपारी र मरिच जस्ता कच्चा पदार्थ आवश्यक पर्ने नपर्ने विभागले छानबिन र औचित्य पुष्टि हुने आधारविना नै त्यस्ता उद्योग दर्ता हुने गरेका छन् । अनुमति शाखाका निर्देशक सरोज पोखरेल र घरेलु शाखाकी निर्देशक गीता घिमिरेबाट यस्तो काम हुँदै आएको छ ।

    यसरी सुपारी र मरिच जस्ता कच्चा पदार्थ आवश्यक पर्ने उद्योग संचालन गर्ने उद्देश्यले भन्दा पनि ती बस्तु नेपाल भित्र्याएर भारत तस्करी गर्ने मुख्य ध्येयले दर्ता गरिएको छ । अहिलेसम्म दर्ता भएका त्यस्ता उद्योगले सुपारी र मरिच कच्चा पदार्थका रुपमा प्रयोग गरेर के कति उत्पादन गरे ? अर्थतन्त्र रोजगारीको क्षेत्रमा कति टेवा पुर्यायो ? त्यसको लेखाजोखा समेत उद्योग विभागले नगरी उद्योग दर्ता गर्ने र ती उद्योगलाई सुपारी, मरिचको अन्धाधुन्द आयातको सिफारिस दिइरहेको छ । यसरी ठूलो संख्यामा आवश्यकता भन्दा बढी यस्ता बस्तु कच्चा पदार्थको रुपमा आवश्यक पर्ने प्रस्ताव पेश गरी दर्ता भएका उद्योगहरुलाई बिभागको सुविधा शाखाले आयात यस्ता बस्तु सिफारिस दिंदैआएको छ ।

    सुविधा शाखाका निर्देशक अर्जुनसेन ओली र शाखा अधिकृत सुन्दर थापाले सेटिङमा ती उद्योगलाई सिफारिस दिने गरेका छन् । प्रतिकिलो १ देखि ५ रुपैयाँसम्म घुस सिफारिस दिएबापत ओली र थापाले असुली गर्ने गरिरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । उद्योगीहरुले सेटिङमै तस्करीका लागि नाममात्रको (संचालन नगर्ने) उद्योग दर्ता गरी सुपारी र मरिच आयात गर्न विभागले नै प्रोत्साहन गरेपछि ट्रेडिङका लागि आयात रोकिंदै आएको छ ।

    विगतमा २०७५ देखि २०७८ सम्म बाणिज्य बिभागका तत्कालीन महानिर्देशकहरुले अन्धाधुन्द सुपारी आयात खोलेको र नेपाल उत्पादन भएको भन्दै त्यस्तो बस्तु भारत तस्करी गर्ने गरेको आरोप लागेपछि रोकिएको थियो ।
    यतिसम्म कि आयातका लागि सरकारले तोकेको कोटाभन्दा बढी बाणिज्य विभागले सिफारिस दिंदा बीसौं करोड बराबरको ब्यापारीले ल्याएको सुपारी बीरगंज भन्सार नाकामै थन्किन पुगेको छ ।

    अन्धाधुन्द ढंगले उद्योग दर्ता र सुपारी आयातको सिफारिस दिइएकोबारेमा उद्योग विभागका सूचना अधिकारी अर्जुनसेल ओलीले भने–‘पुराना केही गुट्खा उद्योगलाई क्षमताबृद्धि र पूँजीबृद्धिको सिफारिस गरिएको हो । त्यो पनि औद्योगिक प्रबद्र्धन बोर्डबाट निर्णय हुनुपर्छ ।’ नयाँ उद्योगलाई सुपारी, मरिच र पोस्तादाना आयातको सिफारिस नदिइएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार