काठमाडौं । १८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गर्छ । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर गुह्येश्वरीबाट क्षेत्रबाट भक्क्तपुरतर्फ लैजाँदै गरिएको रक्तचन्दन जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको थियो ।
रक्तचन्दनका मालिक थिए, नवीनराज बस्नेत । रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ पर्छ । मोटरसाइकलबाट रक्तचन्दन बोकेको मिनीट्रकको अघिपछि गर्दै गइरहेका थिए, रक्तचन्दनका मालिक बस्नेत ।
काठमाडौं प्रहरी परिसर (तत्कालीन महानगरीय प्रहरी परिसर, काठमाडौं) प्रमुख थिए, राजेन्द्र श्रेष्ठ । नेकपा (एमाले) महेश बस्नेतमार्फत् रक्तचन्दनका मालिक नवीनराज बस्नेतलाई जोगाउने खेल हुन्छ । नवीनराज बस्नेत प्रहरीका परिसर प्रमुख राजेन्द्र श्रेष्ठकहाँ पुग्छन् ।
जिल्ला वन कार्यालयमार्फत् सुनुवार, सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर हुन्छ । ९ वैशाख, ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गर्दै गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र ३ लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर ग¥यो । रक्तचन्दन तस्करीको घटनामा चालक र सहचालकलाई कैद र जरिवाना भयो । तर प्रहरीले नवीनराज बस्नेतको स्थायी ठेगाना नखुलेको प्रतिवेदन लैजान्छ ।
बस्नेतले भनेका थिए, ‘राजेश बज्राचार्य दाइ र मैले भेटेर कुमार बेनसँग कुरा मिलाएका छौँ । कुमार बेनलाई ओली प्रधानमन्त्री भएको बेला सन् २०१८ देखि २०१९ सम्म राजेश बज्राचार्य दाइले बालुवाटारमा काम दिनुभएको थियो । कुमार बेनले त्यो गुन तिर्छु भनेका छन् ।’
प्रहरीको अनुसन्धानमा बस्नेत आफंैले बालुवा ओसार्न भन्दै बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । तर, उनको स्थायी ठेगाना पत्ता नलागेको भन्दै प्रहरीले योजनाबद्ध रुपमा काठमाडौं महानगरपालिका–१६ बस्ने भनेर अभियोग दर्ता गरायो । जिल्ला अदालतका तत्कालीन न्यायाशीश रमेशराज पोखरेलको इजलासको फैसलामा भनिएको छ, ‘निज नवीन बस्नेतको वास्तविक वतन खुलाई आएमा बाँकी कारबाही हुन सक्ने नै हुँदा निजका हकमा प्रस्तुत मुद्दा जिल्ला अदालत, नियमावली, २०५२ को नियम १९ (क)बमोजिम तामेलीमा राखिएको छ ।’
जिल्ला अदालत नियमावली, २०५२ को नियम १९ (क) को उपनियम (४) मा प्रतिवादीको नाम, थर वा वास्तविक वतन (ठेगाना) स्पष्ट रूपमा खुल्न नसकेको वा पक्ता नलागेको अवस्थामा लगत कट्टा गरी हाललाई मुद्दा तामेलीमा राख्ने प्रक्रियागत व्यवस्था उल्लेख गरिएको छ । पछि निजको वास्तविक वतन वा सुराक पत्ता लागेर आएमा वा फेलापरेमा वा अदालतमा हाजिर/पक्राउ भएमा उक्त तामेलीमा राखिएको मुद्दा वा कारबाहीलाई पुनः जगाएर कारबाही अगाडि बढाउने गरिन्छ ।
पक्राउ परेका भीमबहादुर र खेमबहादुर दुवैले प्रस्ट रूपमा सो बालुवा कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतको भएको बयान दिएका थिए । बस्नेत त्यतिबेला बालुवाको डिपो चलाउने गर्दथे । चालक भीमबहादुरले बयानमा भनेका छन्–‘मिति २०६९÷१२÷१६ गते कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुप¥यो भनी बोलाउनुभएको थियो । मैले निजलाई मेरो लाइसेन्स छैन भन्दा निजले सो बालुवा जोरपाटीबाट करिब दुई सय मिटरजति भित्र लाने हो, केही फरक पर्दैन भनेका थिए ।
गाडी भएको ठाउँमा जाँदा गाडी लोड भइसकेको थियो । म गाडी लिएर नवीन बस्नेत बाइकमा, अघि–अघि म पछि–पछि पिछा गर्दै गएँ । बीच बाटोमा प्रहरीले गाडी चेक गर्दा जिल्ला विकास समितिलाई कर तिरेको कागज नभएकाले प्रहरीले गाडीलाई बरामद ग¥यो । पर्सिपल्ट मात्र गाडी फिर्ता भयो । सोही गाडी लिएर म गुह्येश्वरी हुँदै गोठाटारतर्फ लागेँं । गुह्येश्वरीमा सिभिलमा रहेका प्रहरीले गाडीमा खोजतलास गर्दा बालुवामुनि लुकाइराखेको रक्तचन्दन भेट्टाए । गाडीमा रक्तचन्दन भएको कुरा मलाई थाहा थिएन । यस अपराधमा मुख्य संलग्नता नवीन बस्नेतको छ । निजले हामीलाई काम लगाउने बहानामा फसाएका हुन् ।’
गाडीधनी रमेश प्रजापतिले पनि कारोबार गर्नेलाई कारबाही हुनुपर्ने बयान गरेका थिए । तर, मुख्य कारोबारीलाई केही नभई उनको गाडी भने जफत भएको थियो । प्रहरी स्रोतका अनुसार त्यतिबेलै बस्नेतको सबै विषय पहिचानसमेत भएको थियो । तर, दबाबका कारण उनलाई पक्राउ नगरी वास्तविक ठेगानासमेत नराखी मुद्दा चलाइएको थियो । त्यसपछि प्रहरी तथा वन कार्यालय दुवैले उनको वतन पत्ता लगाउने प्रयास नै गरेनन् । सहयोगीलाई जेल पठाएको यो मुद्दामा नवीनले महेश बस्नेतको शक्तिमा उन्मुक्ति पाए । तर यो एउटा मात्रै उदाहरण हो, प्रहरी स्रोतका अनुसार यसरी अरुको आडमा उन्मुत्ती लिएर मनपरी गर्ने उनको यात्रा जारी छ ।
रक्तचन्दनबाट सुन तस्करी
२०७४ सालतिर रक्तचन्दन तस्कर गर्दै आएको समूह पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय हुन थालेको थियो । प्रहरी स्रोतका अनुसार २०७४ भदौ १४ मा प्रहरीले काठमाडौंको टोखामा बस्ने सिन्धुपाल्चोक, भोटेकोसीका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो ।
त्यो सुन रक्तचन्दन तस्करीमा संग्लनहरुको समूहले ल्याएको थियो । प्रहरी स्रोतका अनुसार त्यो समूहका सदस्य बस्नेत पनि थिए । प्रहरीले बस्नेतको संग्लनता पुष्टी गरे पनि दबाबमा उनलाई उन्मुक्ति दिइएको थियो ।
यसअघि अख्तियार प्रमुखसहित उच्चपदस्थलाई धम्क्याएको घटनामा बस्नेत संग्लन थिए । क्यानका तत्कालीन डीजी प्रदीप अधिकारीसहितका व्यक्तिमाथि परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । त्यो घटनामा बस्नेतको समेत कनेक्सन देखिए पनि थप बुझ्ने भन्दै मुद्दा दर्ता भएको थिएन ।
रक्तचन्दनबाट सुन तस्करी, त्यसपछि बिचौलिया
सामान्य आर्थिक परिवारका बस्नेत अहिले आफूलाई करोडपति भन्छन् । उनी तथा परिवारको नाममा सान्दर्भिक निर्माण सेवा प्रालि, निलडेभिड इन्टरनेसनल युनिसेक्स सलोन, क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि, ड्रिमटाउन डेभलपर्स प्रालि, क्षमादेवी इन्टेरियर, क्षमादेवी इन्टरनेसनल प्रालि जस्ता कम्पनी छन् ।
प्रहरी स्रोतका अनुसार रक्तचन्दनबाट सुन तस्करी, त्यसपछि बिचौलिया भएका थिए । खासगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्तामा आएपछि उनले एकपछि अर्को सेटिङ गरेका थिए । हालका एमाले सचिव महेश बस्नेत र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका प्रिय भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग नजिकिएका थिए । बस्नेतले तीन बर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।
बस्नेत अहिले महेश बस्नेत, राजेश बज्राचार्यका व्यापारिक साझेदार हुन् । प्रहरीको अनुसन्धानमा क्यानका तत्कालीन डीजी अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउने जिम्मा लिएको देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत् ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका थिए ।
प्रहरीका अनुसार प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ को राति ११ः०७ बजे मात्रै राजेश दाइसँग कुरा भयो भनेर नवीन बस्नेतलाई ह्वाट्सएपमा म्यासेज गरेको देखिन्छ । म्यासेजमा देखिन्छ, ‘बस्नेतले ११ः१० को राति कुर्दैछु, भित्र किचेनमा भनेर जवाफ फर्काउँछन् । बस्नेतले अर्को म्यासेज पठाउँछन् बासँग पनि भेट्छु । दाइ, म सँगै छौं ।’
यसअघि २२ नोभेम्बरमा अधिकारीले ‘केही प्रोग्रेस भयो त भाइ’ भन्दै म्यासेज पठाएको देखिन्छ । जहाँ बस्नेतले जवाफ फर्काउँदै ‘बाले नै गर्नुपर्ने भयो दाइ’ भनेर म्यासेज गरेको देखिन्छ, ‘आरएम हाम्रो कुरा त्यही आयो ।’
१७ नोभेम्बरमा बस्नेतले अधिकारीलाई म्यासेज पठाउँछन्, ‘यति साह्रो किन प्रेसर, रोकिन्छ, ढुक्क हुनु न ।’ अख्तियारले लाने मुद्दा रोकिनेबारे बस्नेतले अधिकारीलाई आश्वासन दिएको देखिन्छ । प्रदीपले ४ नोभेम्बर १२ः२४ बजे नवीनलाई म्यासेज गर्छन्– हिजो ठोक्न ठिक्क थियो रे फाइल ।
बस्नेतलाई जहिल्यै छुट
अख्तियारलाई प्रभावमा पारेर मुद्दा सामसुम गराउने प्रयास असफल भएपछि एकसाथ दुई वटा काम गरेको देखिएको छ । जसमा उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्ने । उग्रवादी संगठनको लेटरप्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्सएपमा पठाएको देखिन्छ । डीएफएल (डीजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको ९७०७७७७… नम्बरबाट ह्वाट्स एपमार्फत् प्रदीप अधिकारीलाई पठाएको खुलेको छ ।
उक्त फोटो ओरिजिनल पीडीएफ फाइलमा रहेको र पछि जेपीजी इमेजमा पीडीएफबाट एक्स्ट्र्याक्ट गरेको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् । यता, प्रहरीसँगको बयानमा भने बस्नेतले आफ्नै ह्वाट्स एपबाट पठाएको लेटर प्याडका बारेमा समेत थाहा नभएको जिकिर गर्दै बयान दिएका छन् ।
यही लेटर हेडमार्फत् एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए ज्यान मार्ने धम्की पाठकले भिडियोमार्फत् नै दिएका थिए । यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत पाइएको छ । सुरुमा १० करोडबाट बार्गेनिङ भएको २ करोडमा कुराकानी मिलेपछि पाठक धम्की दिन तयार भएका थिए ।
स्रोतका अनुसार २ करोड बस्नेतमार्फत् अधिकारीले पाठकलाई दिएका थिए । यी सबै तथ्यहरु भेटिदा समेत प्रहरीले बस्नेतलाई उच्चपदस्थलाई मार्ने धम्की दिएको मुद्दामा छुट दिएको थियो । प्रहरीले प्रहरीले बस्नेत केन्द्रित अनुसन्धान अघि बढाएको छ । उनको गतिविधि शंकास्पद देखिएपछि प्राविधिक विश्लेषण गरेर अनुसन्धान गर्दा बस्नेतको मोबाइल विवरण फेला पारेको छ । त्यो घटनामा बस्नेतको समेत कनेक्सन देखिए पनि थप बुझ्ने भन्दै मुद्दा दर्ता भएको थिएन । स्रोतका अनुसार एमाले नेता महेश बस्नेत र सञ्चार उद्यमी रामेश्वर थापामार्फत् तत्कालीन काठमाडौं प्रहरी प्रमुख रमेश थापालाई प्रभावमा पारेर मुद्दा रोकिएको थियो ।
बस्नेतले ७ महिनाको अवधिमा ६ थान मोबाइल फेरेको पाइएको छ । २० जुन २०२५ मा बस्नेतले ए ३२९७ मोडलको आइफोन १६ प्रो म्याक्स चलाएका थिए । ३० सेम्टेम्बरमा ए ३५२६ मोडलको आइफोन १७ प्रोम्याक्स चलाएको भेटिएको छ । १७ नोभेम्बरमा २०२५ मा पनि यही फोन प्रयोग गरेको देखिन्छ ।
२४ जनवरी २०२६ मा भने बस्नेतले ए २८९४ मोडलको आइफोन १४ प्रोम्याक्स चलाए । २५ जनवरीमा फेरि यो मोबाइल परिवर्तन गर्दै ए ३५२६ को आइफोन १७ प्रोम्याक्स चलाएको अनुसन्धानमा भेटिएको छ । यो मोबाइल चलाएको पाँच दिनमै ३० जनवरीमा उनले ए ३५२५ को आइफोन १७ प्रो म्याक्स चलाएको विवरण भेटिएको छ ।
कहाँबाट आयो यति धेरै सम्पत्ति ?
स्रोतका अनुसार बस्नेतका आधा दर्जन कम्पनी बाहेक जग्गा र हाउजिङ कम्पनीहरुमा करोडौं लगानी रहेको छ । ड्रिम टाउन डेभलपर्सका साझेदारसँग मिलेर भक्तपुरको दुवाकोटमा मात्रै ७२ रोपनी जग्गा खरिद गरी प्लानिङ गरिएको छ । यो प्लानिङमा ओलीका स्वकीय सचिव बज्रचार्यको पनि लगानी रहेको स्रोतको दाबी छ । यसैगरी बस्नेतको नाममा सिनामंगल, दुवाकोट, जोरपाटी, कोटेश्वर, ठिमी, बालकोट जस्ता ठाउँमा ठूलो मात्रामा जग्गा विभिन्न व्यक्तिको नाममा रहेको स्रोतको दाबी छ ।
अहिले बेनको नाममा चलखेल
एकपछि अर्को मुद्दा र अपराधमा उन्मुक्ति पाउँदै आएको आरोप खेपिरहेका नवीनराज बस्नेतले पछिल्लो समय प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग आफ्नो कुरा मिलिसकेको दाबी गर्न थालेका छन् । उनले बेनसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको दाबी गर्दै आफूनिकटका व्यक्तिहरूलाई कुनै चिन्ता लिनुनपर्ने बताउन थालेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, करिब एक साताअघि सिंहदरबारको पूर्वी गेटनजिकै रहेको एक कार्यालयमा केही अनलाइन मिडियाका सम्पादक तथा व्यवसायीहरूसँगको भेटमा बस्नेतले आफूहरूबीच कुरा मिलिसकेको दाबी गरेका थिए । भेटमा सहभागी एक व्यक्तिका अनुसार बस्नेतले ‘राजेश बज्राचार्य दाइ र मैले भेटेर कुमार बेनसँग कुरा मिलाएका छौँ’ भन्दै आफूलाई कुनै समस्या नहुने बताएका थिए ।
भनेका थिए, ‘राजेश बज्राचार्य दाइ र मैले भेटेर कुमार बेनसँग कुरा मिलाएका छौं । कुमार बेनलाई ओली प्रधानमन्त्री भएको बेला सन् २०१८ देखि २०१९ को अन्त्यसम्म राजेश बज्राचार्य दाइले बालुवाटारमा काम दिनुभएको थियो । कुमार बेनले त्यो गुन तिर्छु भनेका छन् ।’
बस्नेतले उक्त भेटमा कुमार बेनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा सन् २०१८ देखि २०१९ को अन्त्यसम्म राजेश बज्राचार्यले बालुवाटारमा काम दिएको र त्यसको ‘गुन तिर्ने’ आश्वासन बेनबाट पाएको दाबीसमेत गरेको ती व्यक्तिले बताए ।
काठमाडौं । कर्मचारी संचयकोषको प्रशासकमा एक महिनाअघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले एक महिनासम्म...
काठमाडौं । स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधानबिपरीत गठन गरिएको विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विधानलाई सर्वोेच्च अदालतले खारेज...
काठमाडौं । नापी कार्यालयका प्रमुखहरु स्वयम् प्लटिङ व्यवसायीसँग मिलेर लगानी गर्दछन् भन्ने सुन्दा अचम्म लाग्छ । तर यो वास्तविकता हो । नापी कार्यालयकै प्रमुख र...
काठमाडौं । सरकारले याङ्की उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको निर्णय गएको साउन २० गते गरे पनि अहिलेसम्म नियुक्ति दिएको छैन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend