Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बीरगञ्ज यातायातमा सरुवा भएका कर्मचारीलाई राखेर घुस असुली


    सोमबार, पुष २२ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • बीरगंज । यातायात व्यवस्था कार्यालय बीरगंजका कार्यालय प्रमुख धर्मेन्द्र कर्णले मधेश प्रदेश सरकारले सरुवा गरिसकेका कर्मचारीलाई रमाना नदिई राखेका छन् । सरुवा भइसकेका कर्मचारीलाई काखी च्यापेर कार्यालय प्रमुख कर्णले प्रदेश सरकारको निर्णयलाई लत्याएका छन् ।

    प्रदेश सरकारले सरुवा गरिसकेका कम्प्युटर अधिकृत शेष रजाउल हकलाई आर्थिक असुलीका लागि प्रयोग गर्नका लागि प्रमुख कर्णले रमाना नदिई रोकेर राखेको आरोप छ ।कम्प्युटर अधिकृत हकलाई राखेर कर्णले पछिल्लो समय यातायात व्यवस्था कार्यालय बीरगंजमा असुुली गर्दैआएका छन् । धर्मेन्द्र कर्ण प्रमुख भएर आएदेखि कम्प्युटर अधिकृत  हकको कार्यालयमा मनोपोली बढेको छ । हकले प्रमुख कर्णको अबैध असुली तथा आर्थिक कारोवारलाई साथ दिंदैआएकाले उनको सरुवा भए पनि रमाना नदिई राखिएको छ ।

    यातायात ब्यवस्था कार्यालय बीरगंजमा खुल्लमखुल्लासेवाग्राहीबाट पैसा असुल्ने गरेको तथ्य नयाँ होइन । अबैध रुपमा असुली भएका पैसा प्रमुख कर्णसम्म पु¥याउने काम हकले गर्दै आएका छन् । मोटरसाइकल, हल्का गाडी र हेभी गाडी सबैको लिखितदेखि ट्रायलसम्म दररेट तोकेर घुस लिई सवारी अनुमतिपत्र बितरण गर्ने बीरगंजमा हुने गरेको छ । कार्यालय प्रमुख कर्णका विश्वासपात्र कम्प्युटर अधिकृत  हकले नै सबै घुसको डिल गर्ने गरेका छन् ।

    मधेश प्रदेश सरकारले हकलाई तीन महिनाका लागि काजमा बीरगंज पठाएको थियो । तर उनी तीन बर्षदेखि यातायात व्यवस्था कार्यालय बीरगंजमा अड्डा जमाएर बसिरहेका छन् । उनी कम्प्युटर अधिकृत हुन् तर, उनले कार्यालयमा कम्प्युटर चलाएको भेटिंदैन । आफ्नो कार्यकक्षमा कहिलेकाहीँ मात्र भेटिने गरेका उनी बिचौलियाहरुसँग सेटिङ मिलाउनमै व्यस्त रहने गरेका छन् । त्यतिमात्र होइन, नयाँ नयाँ सेवाग्राहीलाई काम गर्न गाह्रो छ भनेर गेटमै बसेर बर्गेनिङ गर्न पनि उनी खप्पिस छन् । कार्यालय प्रमुखको प्रियपात्र बन्दा उनी यातायात कार्यालयमा आर्थिक अनियमितताको साम्राज्य खडा गर्न सफल भएका छन् ।

    उनलाई मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयले २०८१ असोज १५ गते काजफिर्ताको पत्र पठाएको थियो । पत्रमा असोज १४ गतेको मधेश प्रदेशका श्रम तथा यातायात मन्त्रीस्तरीय सरकारको अर्थमन्त्रालयमा काज फिर्ता गरिएको उल्लेख रहेको छ । तर, उनी अझै काज फिर्ता भएका छैनन् ।

    कार्यालय प्रमुखले उनलाई बीरगंज यातायातमै थमौती गर्ने बचन दिएको स्रोतको दावी छ ।  शेष रजाउल हकले कार्यालयका कर्मचारीहरुलाई पनि आतंकित पार्ने गरेका छन् । आफ्ना काला कर्तुतहरु अरुलाई सुनाए र बिरोध जनाए जुन कुनै दिन पहुँच प्रयोग गरेर सरुवा गरिदिने धम्की उनले दिने गरेका छन् ।

    कार्यालय समय सुरु हुनासाथ प्रमुख धर्मेन्द्रलाल कर्णले उनीसँग हरेक दिन एक घण्टा बार्ता गरेर मात्र काम सुरु गर्ने गरेको एक कर्मचारीले बताए । हक काज फिर्ता नभएपछि मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयले गत कार्तिक २९ गते पुनः सबै यातायात ब्यवस्था कार्यालयलाई पत्र लेखी काज फिर्ता गरिएका कर्मचारीहरुलाई तीन दिनभित्र रमाना दिई मन्त्रालयलाई जानकारी गराउन आदेश दिएको थियो । सो आदेशको समेत अवज्ञा गर्दै कार्यालय प्रमुख कर्णकै आडमा उनी वीरगंजमै बसिरहेका छन् ।

    कार्यालय प्रमुख कर्ण पनि आफ्नो दाहिने हात हकलाई त्यहीँ राख्न भएभरको शक्ति प्रयोग गरिरहेका छन् । शेष रजाउल हकका कारण यातायात ब्यवस्था कार्यालय बीरगंज र सिङ्गो बीरगंज शहरकै बदनाम गराउने गरी काम गरेको भन्दै रमाना दिन स्थानीयले माग गरेका छन् । तर हालसम्म उनले रमाना लिएका छैनन् । एक कम्प्युटर अधिकृतले गर्दा सिङ्गो कार्यालयको प्रतिष्ठा तहसनहस बनाउँछ भन्ने कुराको उदाहरण बनिरहेका छन् शेष रजाउल हक । यसरी उनको मनोबल बढ्नुको मुख्य कारण कार्यालय प्रमुख कर्ण नै हुन् ।

    कार्यालय प्रमुख कर्णले नै संरक्षण गरेर उनीमार्फत् लाइसेन्समा घुस उठाउने गरेपछि अन्य इमन्दार कर्मचारीहरुको मनोबल खसकेको छ । उनको गतिबिधि र रवैयाले राज्यसंयन्त्र नै उनकाअघि निकम्मा बनेको छ । कसैले कम्प्युटर अप्रेटर हकलाई काजफिर्ताको बारेमा कुरा गर्दा मैले मन्त्रालयका उपसचिव रंजितकुमार यादव र कार्यालय प्रमुख कर्ण दुवैलाई मिलाइसकेको भन्दैआएका छन् ।

    उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु एवं मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयका उपसचिवसँग राम्रो उठवसको कारण पनि अबैध आर्थिक लेनदेन रहेको स्रोतले बताएको छ । यातायात व्यवस्था कार्यालय बीरगंजमा सेवाग्राहीहरुसँग अबैध रुपमा असुली गरिएको रकम तलदेखि माथिसम्म पु¥याउन उनी माहिर तथा पुराना खेलाडी हुन् ।

    उनलाई मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले असोज १५ गते नै काजफिर्ता गरिएको पत्र दिएको थियो । मन्त्रालयले प.स. ८१९८२ च.न.२८८, मिति २०८१ असोज, उनलाई लेखेको पत्रमा मन्त्रालयको असोज १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयमा काजफिर्ता गरिएको उल्लेख गरिएको छ । तर, करिब दुई महिना बितिसक्दा पनि उनी यातायात व्यवस्था कार्यालय बीरगंजबाट टसमस भएका छैनन् ।

    प्रमुख कर्णको एक कर्मचारीहरुप्रतिको आशक्ति देखेर अन्य कर्मचारीहरु चकित परेका छन् । यता, कार्यालय प्रमुख कर्ण प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायको गाउँले भएकाले आफूले जे पनि गर्न सक्ने भन्दै आएको एक कर्मचारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार