Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • साढे २ अर्ब हुण्डी प्रकरणः पर्साका सरकारी वकिल गुप्ता महान्यायाधीवक्ता कार्यालय तानिए


    बुधबार, असोज २८ २०८३
    220
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधीवक्ता मनोजप्रसाद गुप्तालाई महान्यायाधीवक्ता कार्यालयमा तानिएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउनका लागि सिफारिस गरेकोमा हुन्डीमा मात्र मुद्दा चलाएपछि मुख्य प्रतिवादी सागरकुमार साह, उपेन्द्रकुमार साह र राहुलकुमार गुप्ता जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

    प्रहरीले अनुसन्धान गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन अभियोजन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता गुप्ताले गम्भीर अभियोग नलगाई अभियोजन गरेपछि सबै आरोपी जनही ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । करिब साढे २ अर्ब रुपैयाँ हुन्डी कारोबारीलाई आर्थिक चलखेलमा सामान्य धरौटीमा छोडेको बिषयमा मिडियाबाजी भएपछि महान्यायाधीवक्ता कार्यालयले बुधबारै गुप्तालाई काठमाडौंमा तानेको छ ।

    महान्यायाधिवक्ताको कार्यालयका अनुसार गुप्तालाई काठमाडौंस्थित कार्यालयमा उपन्यायाधिवक्ताको पदमा कामकाज गर्ने गरी तोकेको हो । कार्यालयले सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम २१ को उपनियम (३) बमोजिम अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी तोकिएको जनाएको छ ।

    महान्यायाधिवक्ताको कार्यालयबाट जारी पत्रमा गुप्ताले काठमाडौंस्थित कार्यालयमा कामकाज गर्ने, नियमानुसार अन्य भत्ता पाउने तथा तलबभत्ता पदाधिकारी रहेको कार्यालयबाट प्राप्त गर्ने उल्लेख छ । उनलाई काजभत्ता भने उपलब्ध नहुने पत्रमा जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार