Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • साढे २ अर्ब हुन्डी कारोबारीहरूलाई पर्सा प्रहरीले पक्राउ गर्यो, सरकारी वकिल कार्यालयले सेटिङमा उन्मुक्ति दियो


    बुधबार, असोज २८ २०८३
    905
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग जोडिएका आरोपी सागरकुमार साहसमेतलाई सरकारी वकिल कार्यालय पर्साबाट चलखेलमा उन्मुक्ति दिइएको छ ।

    गएको साउन २५ गते वीरगञ्ज–१०, आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ परेका व्यक्तिहरूको बैंक खाता, भौचर, ह्वाट्सएप च्याट तथा डिजिटल कारोबारमाथि अनुसन्धान गर्दा कुल २ अर्ब ३९ करोड २२ लाख ६८ हजार ७९३ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको पुष्टि भएको थियो ।

    मुख्य आरोपी सागरकुमार साहसमेतले २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको स्वीकार गर्दै सोही रकमबाट कलैयास्थित गार्डेन रिसोर्टमा शेयर लगानी गरेको बयान जिल्ला प्रहरी कार्यालय पर्सामा दिएका थिए । तर सरकारी वकिल कार्यालयमा चलखेल गरी करिब साढे २ अर्ब हुन्डी कारोबारीहरु साधारण तारिखमा छुटेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार प्रहरीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र हुण्डी कारोबारसम्बन्धी कसूरसमेत समेटेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोगमा मुद्दा नचलाई हुन्डीको मात्र अभियोग लगाएकाले आरोपीहरुले उन्मुक्ति पाएका छन् ।

    प्रहरीले तीनवटै अभियोग लगाएर मुद्दा अभियोजन गरेको भए पनि सरकारी वकिल कार्यालयमा चलखेल भएपछि आरोपीहरुलाई उन्मुक्ति दिइएको छ । सरकारी वकिल कार्यालय पर्साले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएर मुद्दा दर्ता गरेकाले हुन्डी कारोबारमा पर्सा जिल्ला अदालतका न्यायाधीश ठाकुर खरेलको इजलासले असोज ८ गते मुख्य प्रतिवादीहरू सागरकुमार साह, उपेन्द्रकुमार साह र राहुलकुमार गुप्तालाई जनही पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

    गम्भीर कसुर आकर्षित हुने नेपाल राष्ट्र बैंक ऐनलाई सुरुमै पन्छाएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसमेत हटाइएका कारण करिब अढाई अर्ब रुपैयाँ वित्तीय अपराधमा मुछिएका प्रतिवादीहरू जिल्ला अदालतबाट केही लाख धरौटी बुझाएर छुट्न सफल भएका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तामाथि नै करिब साढे २ अर्ब हुन्डी कारोबारीलाई उन्मुक्ति दिन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएर हुन्डीमा मात्र मुद्दा बुझाई चलखेल गरेको आरोप छ । प्रहरीले मुद्दा बुझाउँदा ठूलै आर्थिक लेनदेन गरी हुन्डीमा मात्र मुद्दा लगाएकाले साहसहितका आरोपीले उन्मुक्ति पाएका छन् । यस प्रकरणमा जिल्ला न्यायाधिवक्ता मनोज गुप्तामाथि ५० लाखकै लेनदेन गरेको आरोप लागेको छ ।

    अढाई अब आर्थिक अपराध प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि आरोपितहरूले अपेक्षाकृत सहज रूपमा धरौटीमा छुट पाएपछि ५० लाखको चलखेल भएको चर्चा पर्सामा चुलिएको छ । यति गम्भीर अपराधमा संलग्नलाई धरौटीमा छोडिएपछि सरकारी वकिलको नियतमाथि प्रश्न उठेको छ ।

    त्यसैगरी न्यायाधीश मोहनबहादुर अधिकारीको इजलासले असोज १३ गते प्रतिवादी प्रमेश सर्राफलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । भारतीय नागरिक सुरजकुमार साहलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार