Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एनपीएल सुरक्षाका लागि दैनिक १ हजार बढी प्रहरी खटिने


    आइतबार, कार्तिक ९ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि विशेष सुरक्षा योजना बनाएर काम सुरू गरेको छ । हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ ।

    प्रहरीले एनपीएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

    उनका अनुसार खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने ८ वटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदाआउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने छ ।

    खेलको उद्घाटन र समापनमा भीआईपी, भीभीआईपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको छ ।

    यी सबै सुरक्षाका लागि दैनिक एक हजार प्रहरी परिचालन हुने बताइएको छ । यसमा सादा पोशाकका प्रहरी पनि समेटिनेछन् । त्यस्तै सीसीटीभीबाट निगरानी गर्नेदेखि ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङ समेत गरिने प्रहरीले बताएको छ ।

    अहिले स्टेडियम वरपर सीसीक्यामेरा समेत जडान गरिएको र त्यहाँको निगरानी स्टेडियममै खटिएका प्रहरीले गर्नेछन् । अन्यत्रको सीसीक्यामेराका निगरानी भने प्रहरीको सीसीक्यामेरा कन्ट्रोल रुमबाट हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार