Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • महिलासँगको विवादित अडियोबारे खगेन्द्र सुनारले बुझाए स्पष्टीकरण


    आइतबार, कार्तिक ९ २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्।

    एक महिलासँगको विवादित संवाद सार्वजनिक भएपछि उनले उक्त अडियो आफ्नो नभएको र पूरै कृत्रिम (एआई प्रविधिबाट निर्मित) रहेको दाबी गर्दै पार्टीमा इन्कारी पत्र पेश गरेका हुन् ।

    अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सांसद सुनारले यसअघि सामाजिक सञ्जालमा राखेका स्पष्टीकरणहरुकै आधारमा लिखित पत्र पेस गरेका छन् । सुनारले प्रहरीको भ्रष्टाचारको मुद्दा उठाएका कारण आफूमाथि सुनियोजित प्रहार भइरहेको जिकिर गर्दै आएका छन् ।

    उनले आरोप सीधै अस्वीकार गरेपछि छानबिन समितिले सत्यतथ्य पत्ता लगाउन ‘स्वतन्त्र प्राविधिक प्रमाण’ को खोजी तीव्र पारेको छ । समितिले उक्त सामग्री सार्वजनिक गर्ने ‘जनआस्था’ पत्रिकाबाट सम्पादन हुनुअघिको मूल अडियो मागेको छ भने, पीडित भनिएकी महिलाले दिएको अन्तर्वार्ताको अडियो प्राप्तिका लागि ‘न्युज २४’ लाई पनि पत्राचार गरेको छ ।

    प्राप्त अडियोहरूलाई आन्तरिक रूपमा भेरिफाई गर्ने र आवश्यक परे प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने पनि समितिले जनाएको छ ।

    अडियो काण्ड बाहिरिनेबित्तिकै सर्वत्र आलोचना भएपछि रास्वपाले यसलाई गम्भीर रूपमा लिँदै आन्तरिक छानबिनका लागि अनुशासन आयोगलाई निर्देशन दिएको थियो । छानबिनको अन्तिम निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले कडा निर्देशन दिएको छ ।

    सांसदको इन्कारी र पीडित भनिएकी महिलाको भनाइ बाझिएका कारण अबको सम्पूर्ण अनुसन्धान ‘प्राविधिक जाँच’ को रिपोर्टमा निर्भर रहने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार