Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिन ठेक्कामा आधा करोड घोटाला, लेखा अधिकृत र डीनको सेटिङ


    सोमबार, मंसिर १ २०८३
    5
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको चमेना गृह ठेक्का प्रक्रियामा अनियमितता भएको खुलेको छ । प्रतिष्ठानको क्यान्टिन सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलका नाममा विकास भन्ने व्यक्तिले मासिक १२ लाख ७७ हजार भाडा तिर्नेगरी २०७९ असोज ४ गतेको सम्झौता बमोजिम क्यान्टिन सञ्चालन गरिरहेका छन् ।

    उक्त सम्झौतामा उल्लेखित प्रावधान बमोजिम क्यान्टिनको म्याद बढीमा २ बर्ष थप गर्न सकिने व्यवस्थाबमोजिम २०८१ सालमा २ बर्ष म्यादथप भई २०८३ असोज ४ सम्म मात्रै थियो । सार्वजनिक खरिद कानुनबमोजिम म्यादथप गर्न मिल्ने वा पाइने अवस्थाको विद्यमानता नरहेको अवस्था भए पनि सेटिङमा थप गरिएको थियो ।

    यस अवस्थामा क्यान्टिन सञ्चालनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको चमेना गृह भाडामा सञ्चालनका लागि ठेक्का नं एयब्जकरल्ऋद्य(छद्दरऋब्ल्त्भ्भ्ल्रद्दण्डद्द(डघ को विद्युतीय बोलपत्र माग गरेको थियो । मूल्याकन समितिले उच्चतम भाडा रकम मासिक २२ लाख कबोल गरेको कम्पनीलाई सारभूतरुपमा प्रभावग्राही बोलपत्रसमेत छनोट गरिसकेको थियो ।

    छनोट भएको कम्पनीलाई सम्झौताका लागि पत्राचार भइसकेको थियो । निर्धारित अवधिमा सम्झौताका लागि उक्त कम्पनी नआएपछि उक्त कम्पनीको बोलपत्र जमानत रु. १५ लाख जफत गरी सारभूत रुपमा प्रभावग्राही दोस्रो उच्च भाडा कबोल गर्ने महागढीमाई क्यान्टिनलाई (जसले मासिक करिब १९ लाख भाडा कबोल गरेको थियो) छनोट गर्ने मूल्यांकन समितिले निर्णय गरेको थियो ।

    यो निर्णय टिप्पणीमार्फत् उपकुलपतिस्तरमा भएको थियो । सम्झौताका लागि उक्त कम्पनीलाई पत्राचार गरिसकिएको थियो । यो निर्णय बमोजिम उक्त कम्पनीले कार्यसम्पादन जमानतसहित तयारीका लागि १ महिनाको समय माग गरेको निवेदनसमेत कार्यालयमा पेश गरेको थियो । उक्त कम्पनीसँग सम्झौता गरी क्यान्टिन सञ्चालन गर्नुपर्ने हो । तर त्यसो नगरी अर्कै काम भयो ।

    नयाँ कम्पनीसँग सम्झौता भएको भए प्रतिष्ठानलाई मासिक १९ लाख रुपैयाँका दरले भाडा प्राप्त हुने अवस्था थियो । तर सुनिल क्यान्टिनसँगको मिलेमतोमा सार्वजनिक खरिद ऐन नियमविपरीत उक्त कम्पनीसँगको ठेक्का तोड्ने र सुनिल क्यान्टिनलाई नै निरन्तर पुरानै भाडा लिनेगरी क्यान्टिन सञ्चालन गर्न दिने भनी कार्यकारी परिषदले निर्णय गरेको छ । जसका कारण मासिक ६ लाख भन्दा बढी र बार्षिक ७२ लाख रुपैयाँभन्दा बढी राज्यकोषमा घाटा लागेको छ ।

    क्यान्टिन ठेक्का अपारदर्शी, प्रतिष्ठानसामु उठेका ६ प्रश्न

    १. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदलाइ सार्वजनिक खरिद कानुनबिपरीत सम्झौताका लागि बोलाइसकेको अवस्थामा उचित कारण बेगर ठेक्का रद्द गर्ने अधिकार कसरी प्राप्त भयो ?

    २. सुनिल क्यान्टिनलाई पुरानै भाडामा क्याण्टिन चलाउन दिनेगरी म्यादथप गरिएको छ । यो न खरिद कानुनबमोजिम मिल्छ न सम्झौता बमोजिम । (२ वर्ष थप गर्न मिल्ने प्रावधान बमोजिम २ बर्ष थप भइसकेको थियो । अव फेरि थप गर्न मिल्ने वा पाउने अवस्था थिएन ।)

    ३. सारभूत रुपमा प्रभावग्राही उच्च भाडा कबोल गर्ने कम्पनीको धरौटी जफतको निर्णय भइसकेको अवस्थामा उक्त धरौटी हतार हतार फिर्ता गरियो, किन ?

    ४. उन्नाइस लाख कबोल गर्ने कम्पनी सम्झौताका लागि तयार हुँदाहुँदै कानुनविपरीत पुरानै क्यान्टिनको म्यादथप गर्ने निर्णय असल नियतले भएको होला त ?

    ५. यस्तो दूरगामी र महत्वपूर्ण निर्णय न खरिद शाखाको राय लिइएको छ न तहगत निर्णय भएको छ । अन्तिममा आएर यस्तो निर्णय लिँदा यही ठेक्काका अन्य निर्णय जस्तै तहगत निर्णय र खरिदको राय लिइनुपर्ने होइन र ?

    ६. बैठकको एजेण्डामा नै नभएको विषय विविध शीर्षकमा घुसाइएकोले यो निर्णय वदनियतपूर्ण देखिन्छ ।

    कसरी भयो अनियमितता, सेटिङमा को को छन् ?

    यो निर्णय र साँठगाँठ थाइल्याण्डमा भएको थियो । कार्यालयका आर्थिक प्रशासन शाखाका उपसचिव मार्कण्डप्रसाद बराल, लेखा अधिकृत हेमन्तराज ढकाल र हालका डीन प्राडा डेविड श्रेष्ठ क्यान्टिन सञ्चालक विकासकै लगानीमा थाईल्याण्ड भ्रमणमा एकसाथ गएको प्रतिष्ठान स्रोत बताउँछ ।

    क्यान्टिन जुनसुकै हालतमा सुनिल क्यान्टिनका विकासलाई नै सञ्चालन गर्न दिने गरी थाइल्याण्डमा नै सेटिङ भएको स्रोतको दाबी छ । जस अनुसार कार्यकारी परिषदको बैठकमा यो विषयलाई एजेण्डामै नराखी हठात निर्णय लेखिएको छ । एकसाथ थाइल्याण्डमा रहेको र उनीहरुका गतिविधि ट्राभल हिस्ट्री र कल डिटेलबाट छानबिन भए प्रष्ट देखिन्छ ।

    क्यान्टिन ठेक्कामा भएको यो गैरकानुनी निर्णयले मासिक ६ लाख र बार्षिक ७२ लाख रुपैयाँ प्रतिष्ठानलाई घाटा लागेको छ । जफतको निर्णय भइसकेको १५ लाख धरौटी फिर्ता गर्दा समेत थप १५ लाख राज्यकोषमा घाटा लागेको छ ।

    यस्तो निर्णयमा संलग्न पदाधिकारी र लेखाका कर्मचारीहरु मार्कण्ड र हेमन्तलाई कारबाही हुन्छ कि तलदेखि माथि सबै सेटिङमै मिलाउँछन् होला भन्ने चर्चा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुबीच चल्ने गरेको छ ।

    सुनिल क्यान्टिनः जताततै विवाद र बदनाम

    सुनिल क्यान्टिनले बजार मूल्यभन्दा धेरै सस्तोमा बोलपत्रमा दररेट पेश गरी ठेक्का लिने र सम्झौतापछि महँगोमा खाना र खाजा बिक्री गर्ने भनेर बदनाम भइसकेको छ ।
    उसले ठेक्का लिएका अस्पतालहरुमा सुनिलले गुणस्तरहीन र महंगो दरमा खाना र खाजा बेच्ने गरेकोमा पटक–पटक कारबाहीमा परिसकेको छ । सुनिल क्यान्टिनले ठेक्का लिएका अस्पतालहरुका चमेनागृहमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले अनुगमन गर्दा समेत कैफियत भेटिएका गुनासा आइरहने गरेका छन् ।

    सुनिल क्यान्टिनले हेटौँडाको सरकारी अस्पतालको चमेनागृह सञ्चालन गरिरहेको छ । उक्त अस्पतालमा सञ्चालित चमेनागृह मापदण्ड र सम्झौताबिपरीत सञ्चालन भएको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको बाणिज्य कार्यालयका प्रतिनिधिसहितको टोलीले ३ लाख जरिवाना १५ दिनभित्र बुझाएर त्यसको भौचर पेश गर्न आदेश दिएको थियो । टोलीले २०८२ असार १५ गते निर्देशन दिएको थियो । त्यसका अलावा वीर अस्पतालको ट्रमा सेन्टरदेखि प्रसूती गृह जहाँ जहाँ क्यान्टिनको ठेक्का पाएको छ, त्यहाँ त्यहाँ सुनिल क्यान्टिन विवादित छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भनाइ

    २०७९ असोज ४ देखि क्यान्टिनको ठेक्का पाएको सुनिल क्यान्टिनलाई नै पटक– पटक म्यादथप गर्दै आएको र २०८३ असोज ४ मा टेण्डर गरेकोमा मासिक १९ लाख कबोल गरेको महागढीमाई क्यान्टिनलाई नदिइएकोबारेमा उनले भने–त्यो प्रक्रिया नै रद्द भइसकेको छ ।

    अस्पतालले साबिकमा क्यान्टिन संचालन गरिएको ठाउँमा अस्पताललाई नै आवश्यक परेकाले जग्गा दिएर संरचना नै बनाई संचालन गर्नेगरी नयाँ टेण्डर गर्न लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी भीमप्रसाद पौडेलले बताए ।

    टेण्डर गरेर मासिक १९ लाख कबोल गर्नेलाई नै नदिई १२ लाख ७७ हजार तिरेर ४ बर्षदेखि संचालन गर्दैआएको सुनिल क्यान्टिनलाई नै पुनः चलखेलका आधारमा दिइएकोबारेमा उनले भने–‘त्यस्तो होइन, प्रतिष्ठानले पुनः टेण्डर गर्ने प्रक्रिया सुरु गरेको छ । विस्तृत त निर्देशकज्यूलाई थाहा हुनसक्छ ।’ अहिले टेण्डर नभएसम्म सुनिल क्यान्टिनलाई संचालन गर्न दिइएको स्वीकार गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार