Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बीरगंज यातायातमा चरम भ्रष्टाचार, घुसको दररेट तोक्दै लाइसेन्स बिक्री

    अख्तियारले डामेका गौतम र शम्भु गुरुङको सेटिङ


    मंगलबार, चैत्र २१ २०७९
    4.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • रेविन्द्र कार्की

    बीरगंज । यातायात व्यवस्था कार्यालय बीरगंज सवारी चालक अनुमतिपत्र शाखा लाइसेन्स बेच्ने थलो भएको छ । यातायात ब्यबस्था कार्यालय बीरगंजमा कार्यालय प्रमुख भएर आएपछि कमलराज गौतमले सेटिङ गर्न परिचालन गरेका केही कर्मचारी र बिचौलियामार्फत् खुल्लेआम लाइसेन्स बेच्ने काम गरिरहेका छन् । स्कुटर, मोटरसाइकल, हल्का सवारी साधन र हेभी गाडीको घुसको दररेट तोकेर लिने गरिएको छ ।

    यसरी दररेट तोकेर गौतमले महिनामा करोड भन्दा बढी घुस संकलन गरेको आरोप छ । लाइसेन्स बितरण गर्ने परीक्षाको नाटक रच्दै दलाल बिचौलियामार्फत् माघ महिनासम्ममा करोडौं घुस असुली गरेका कार्यालय प्रमुख गौतमले फागुन महिनाभर लाइसेन्स बितरण कार्य बन्द गरेका थिए । नाटकीय रुपमा बन्द गरिएको लाइसेन्स बितरण कार्य चैत १९ गतेबाट पुनः सुचारु गरेर आफ्नो कमाउ धन्दा निरन्तर गर्न संगठित बिचौलिया समूह तयारी हालतमा राखिएको छ । यसअघि एक कार्यकाल बीरगंज यातायात कार्यालयको अधिकृत रहँदा गौतमसहितका ५ कर्मचारीले भारतीय नक्कली लाइसेन्सलाई नेपालीकरण गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेर निलम्वन गरी मुद्दा चलाएको थियो ।

    कमलराज गौतम नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालका भाइ भएकाले बिभिन्न शक्तिकेन्द्रमा सेटिङ मिलाएर निलम्बन फुकुवा गराएर पुन अकूत कमाई हुने ठाउँ पहिल्यउँदै यातायात कार्यालय बीरगंजमा सरुवा भएर आएका र ब्रह्मलुट गरिरहेका छन् ।

    लामो समयदेखि करारमा काम गरिरहेका शम्भु गुरुङ गौतमका मुख्य सहयोगी हुन् र कार्यालयका हर्ताकर्ता पनि उनै हुन् । शम्भु गुरुङले सम्पूर्ण बिचौलियाहरुको सेटिङ मिलाएर घुस बुझाएका आधारमा लाइसेन्स परीक्षामा पास र फेल गरिन्छ । स्कुटर, मोटरसाईकल, ईरिक्सा, जिपकार, ट्याक्टर, मझौला सवारी र हेभी (ट्रक, बस) समेतको घुसको दररेट फरक फरक तय गरिएको छ । लाइसेन्सको दररेट २० देखि ६० हजारसम्म तय गरिएको छ । लाइसेन्स बितरणमा भएको चरम अनियमितताका बारेमा कार्यालय प्रमुख कमलराज गौतमसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    विशेषबाट मुद्दा जितेपछि यातायातमै सरुवा, खुलेआम घुस असुली

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते यातायात व्यवस्था कार्यालय  बीरगञ्जका तत्कालीन प्रमुख विश्वराज नेपालसहित ५ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

    आयोगले शाखा अधिकृतहरु कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालीन नायब सुब्बा अविन्द दासबिरुद्ध मुद्दा दायर गरेको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र,  बीरगञ्जले सवारीचालक अनुमतिपत्र कानून विपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेख समेतको सरकारी कागजात नष्ट गरेकोले गौतमसहित पाँचैजनाबिरुद्ध बशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । तर तिनै गौतम विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेपछि पुनः बीरगञ्ज यातायातकै प्रमुखमा सरुवा भएका छन् ।  र, बीरगञ्जमा सरुवा भएपछि उनले लाइसेन्स परीक्षालाई देखावटी रुपमा मात्र गरी बिचौलिया र सेटिङमा परिचालन गरेका कर्मचारीमार्फत् घुसको दररेट तोकेर लाइसेन्स दिने गरेको आरोप छ । अख्तियारले मुद्दा दर्ता गरेपछि मुद्दा जित्नका लागि रकम खर्च भएको भन्दै गौतमले बीरगञ्ज यातायातबाट लाइसेन्स बिक्री गर्दैआएका छन् ।

    सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम एकीन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमतिपत्र जारी गर्ने कार्यमा प्रमुख नेपालसहित पाँचै जनाको संलग्नता देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको थियो ।

    तत्कालीन शाखा अधिकृतद्वय कमलराज गौतम र शालीग्राम पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसूर गरेकोेले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो ।  विशेष अदालतमा बिचौलियामार्फत् सेटिङ गरी मुद्दा जितेपछि उनी पुनः बीरगंज यातायात कार्यालयकै प्रमुखमा सरुवा भएका छन् । भारतीय नक्कली लाइसेन्स बाहकसँग २० हजारका दरले घुस लिंदै नेपालीकरण गरिदिएको प्रमाण अख्तियारले पेश गर्दा पनि  उनीहरुले विशेषबाट सफाइ पाएका थिए ।राजनीतिक पहुँचका आधारमा गौतम बीरगंज यातायातको प्रमुखमा सरुवा भएका हुन् ।  मुद्दा जित्दा ठूलै रकम खर्च भएको भन्दै उनले बीरगंज यातायातमा सरुवा भएपछि परीक्षाको नाटक मन्चन गरी खुलेआम लाइसेन्स बिक्री गर्ने गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार