Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पावर सेन्टर र तिनको परिक्रमा, पंचायतकालदेखि सुशीला कार्कीसम्म


    बुधबार, मंसिर १० २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • माधव पौडेल

    देशमा सरकार संचालन गर्ने कार्यकारी प्रमुखलाई प्रभावमा पारी अनुकूल निर्णय गराउने शक्तिकेन्द्रहरुको चलखेल पंचायतकालदेखि २०४६ को परिवर्तन, गणतन्त्र हुँदै जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारसम्म हट्नसकेको छैन ।

    पंचायतकालको उत्तर्राद्धमा रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्र शक्तिकेन्द्र थिए । पंचायतकालका सचिवदेखि मन्त्रीहरु रानी र अधिराजकुमार कसले भनेको काम गर्ने भन्ने द्विविधामा पर्ने गरेका त्यतिबेलाका मन्त्रीहरुका अन्तर्वार्ता र आत्मकथाबाट पुष्टि हुन्छ । पंचायतकालमा लामै समय प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले भूमिगत गिरोहले सरकार संचालन गर्ने गरेको अभिब्यक्ति निकै चर्चित थियो । भूमिगत गिरोह शब्द रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रतिरै लक्षित थियो ।

    पंचायतकालमा मन्त्रिपरिषदको अध्यक्षता गर्ने राजालाई नै सोधेर ठेक्कापट्टादेखि नियुक्तिका निर्णय गर्नुपर्ने बाध्यता रहेको कुरा पंचायतकालमा अधिकांश समय मन्त्री भएका पद्मसुन्दर लावतीले आत्मकथा ‘मेरो देश मेरो परिवेश’ मा लेखेका छन् । २०४६ मा रानी ऐश्वर्यलाई आन्दोलनकारीले मुख्य निशाना बनाउँदै पम्फादेवीको संज्ञा दिएका थिए । पंचायतकालको घटना इतिहास भइसकेको छ ।

    २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको शासनमा नोना कोइराला र सुजाता कोइरालाको दबदबा पनि एकादेशको कथा नै भइसक्यो ।

    १९ माघ, २०६१ मा तत्कालीन राजा ज्ञानेन्द शाहले सत्ता हातमा लिएपछिका घटनाबारे पछिल्लो पुस्ता धेरै जानकार छ । राजा ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गरेपछि उनका ज्वाइँ राजबहादुर सिंहले बहादुर भवन अगाडिको अन्नपूर्ण होटल पछाडिको भवनमा शक्तिकेन्द्र बनाए । पुरानो ब्रिटिश काउन्सिलको भवनमा शक्तिकेन्द्र बनाएपछि उक्त भवनमा स्वभाविक रुपमा प्रधानन्यायाधी हुने हरिप्रसाद शर्मा पनि दाम चढाउन पुग्नुपर्ने बाध्यात्मक परिस्थिति बनाइएको थियो ।

    राजाले मन पराएका कानुन ब्यवसायी बालकृष्ण न्यौपाने कानुन मन्त्री हुने निश्चित जस्तै थियो । तर शक्तिकेन्द्र नरिझाएको र उसले नरुचाएका कारण निरन्जन थापाले कानुन मन्त्री हुने मौका पाए । हिरो होन्डा एसएस मोटरसाइकलमा आवतजावत गर्ने अजय पराजुली सुमार्गी राजबहादुर सिंहकै कृपाले रातारात चुनखानी चलाउन छाडेर टेलिकमक कम्पनी संचालन गर्ने हैसियतमा पुगे ।

    रसियामा पावर सेन्टर रिझाएर ब्यापारमा सफल भएका उपेन्द्र महतो राजबहादुरलाई रिझाएर नेपालमा नवधनाढ्य भए । जनआन्दोलन २०६२–०६३ मा राजाको शासन ढल्यो ।
    राजा ज्ञानेन्द्रलाई गद्दीच्यूत नगरे पनि निलम्बन जस्तै भए । अन्तरिम सरकार गठन भयो । शक्तिकेन्द्रहरु पनि परिवर्तन हुँदै गए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । सो समयमा कृष्णप्रसाद सिटौला शक्तिकेन्द्रका रुपमा देखिए । पहिलो संविधानसभा निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए । प्रचण्डको शासनकालमा उनका भतिजा समीर दाहाल, हिसिला यमी, अमरेशकुमार सिंहहरुको नयाँ शक्तिकेन्द्रका रुपमा उदय भयो ।

    नेपालमा हुने कुनै पनि ठेक्का, निजी क्षेत्रमा खुल्ने एनसेल, हाइड्रो, पुनर्वीमा कम्पनी जस्तै ठूला संस्थाको अनुमति(लाइसेन्स घपला) जस्ता धेरै निर्णय उल्लेखित पात्रलाई खुसी नपारी संभव नै हुँदैनथ्यो ।

    २०७० मा माओवादीको शक्ति क्षीण भएपछि उदाएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अमरेशकुमार सिंहलाई घरको न घाटको पारिदिए । सुशील कोइरालाको कार्यकालभर पावर सेन्टरका रुपमा कृष्णप्रसाद सिटौला नै रहे । कोइरालाको अवसानपछि शक्तिकेन्द्र बालकोट र बुढानीलकन्ठतिर सर्यो । जसमा खुमलटार पनि थपियो ।

    नेपालमा सेनापति नियुक्ति, प्रहरी महानिरीक्षक बनाउने, ठूूला हाइड्रोपावर, विमान खरिद जस्ता निर्णय तीन वटै दरबारको सहमतिमा भएका उदाहरण धेरै छन् । सत्तामा हुने र प्रतिपक्षमा हुनेले हैसियत अनुसार भागबण्डा मिलाउँदै आएका थिए । तीन दलीय गठबन्धनको सेटिङबाट नेपाली नागरिक वाक्कदिक्क भई गएको भदौ २३ र २४ गते बिद्रोह गर्न पुगे ।

    २४ घन्टामै दुईतिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरु राजीनामा दिएर सेनाको ब्यारेकमा गएर ज्यान बचाउनुपर्ने अवस्थामा पुगे । जेनजी बिद्रोहपछि शक्तिको स्रोत कुपण्डोल कानदेवतास्थानतिर सरेको छ । जहाँ कानुन समाज नामको कार्यालय छ । कृष्णमान श्रेष्ठजस्ता विवादित पात्र नेपाल कानुन समाजका हर्ताकर्ता हुन् । यौनदुब्यर्वहार अभियोग लागेका कारण निर्वाचन आयुक्त नियुक्ति सिफारिस भएर पनि संसदीय सुनुवाइ समितिबाट भाग्न बाध्य भएका कृष्णमानमार्फत् विवादित ब्यक्तिहरु कल्याण दरबारमा पुग्ने गरेका छन् ।

    खुँखार हवाई माफिया प्रदीप अधिकारीसँग हेलिकोप्टर यात्राको आनन्द लिने, उनलाई भ्रष्टाचार मुद्दा लाग्नबाट रोक्ने, आफ्नो छोराको निदान अस्पतालमा दीपक भट्टजस्ता बिचौलियाको साझेदारी गराउने, सत्ता स्वार्थका लागि राजनीतिक दल परिवर्तन गरिरहने विनोद चौधरीसँग भारत यात्रा गर्ने कल्याण श्रेष्ठ पछिल्ला दिनमा शक्तिकेन्द्रका रुपमा देखिएका पात्र हुन् । नेपालका भ्रष्ट कर्मचारी प्रदीप अधिकारीदेखि बदनाम ब्यापारी दीपक भट्टहरुलाई कल्याणले नै संरक्षण गरेका छन् ।

    प्रहरीका डीआईजीदेखि आईजीपी बढुवाको लागि पनि पछिल्ला दिनमा उनकोमा धाउने क्रम चलेको देखियो । आकर्षक कार्यालयमा सरुवाका लागि प्रहरी, सशस्त्रका उच्चपदस्थ र कर्मचारीहरु पनि कल्याण दरबारमा लाइन लाग्ने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार