Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • प्रधानमन्त्री वालेन्द्र शाहलाई नमागेको सल्लाह


    बुधबार, साउन २७ २०८३
    125
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • सम्राट उपाध्याय

    सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको दिन नेपाल सरकारका सचिवहरुलाइ दिएको निर्देशन र यो हप्ताको फेसबुक स्टाटस पढ्दा बाध्य भएर केही बुँदा लेखियो :

    १. पहिलो दिन सचिवहरुलाइ निर्देशन दिंदा हाम्रा मन्त्रीहरु धेरै पढेका छन्, धेरै नपढाउनुहोला भनेर पहिलो निर्देशन दिनुभयो । धेरै पढेका मन्त्रीहरुको कामबाट नेपाली जनताले चार महिनामा धेरै थाह पाइसके । कोही मन्त्री सरकारी चिठ्ठा  खेलाउँदै हुनुहुन्छ । कोही सार्वजनिक पदमा बसेर खुट्टा भाँच्ने गलत शब्द बोल्दै हुनुहुन्छ ।

    २. सल्लाहकारबाट सल्लाह लिने वा शासन गर्ने होइन, आफैं संवाद गर्नुहोस्, आफैं शासन संचालन गर्नुहोस् । विगतका सरकारहरु बिचौलियाले चलाएका थिए भन्ने भाष्य सृजना गरी सत्तामा आउनुभयो । आज तपाईंको सरकार तपाईंका सल्लाहकारहरुले चलाएका छन् । राहदानीको ठेक्का रद्द गर्नका लागि ठेक्का नपाउने फ्रान्सेली कम्पनी आईडीमीयाका नेपाली एजेन्ट सिद्धार्थ पाण्डेबाट प्रभावित भएको देखिनुले तपाईका सल्लाहकारको भूमिका पनि बिचौलियाजस्तै रहेको छर्लङ्ख भइसकेको छ ।

    एक महिनादेखि ग्याँस हाहाकार छ । विद्यार्थी, मजदुर दिनभर ग्याँसको लाइनमा बस्दा पनि पाउन सकेका छैनन् । घरघरमा राहदानी पुर्याउने घोषणा गरियो, तर राहदानी बिभागमा राहदानीका लागि गएका सेवाग्राहीको लाइन चाहिँ घरसम्म पुर्याउँछु भनेको रहेछ भनेर त्यो घोषणाप्रति ब्यंग्य गर्न थालिएको छ । सवारी चालक अनुमतिपत्र छपाइ भएको भन्दै मिडियाबाजी भयो । तर सेवाग्राहीलाई २ महिना लाग्छ भन्दै फर्काउने गरिएका समाचार र भिडियो देख्न सकिन्छ । महंगी चरम सीमामा पुगेको छ । तर सरकारको काम सम्पत्ति शुद्धीकरण र सीआईबी लगाउने र आफ्ना बिरोधी र कर्मचारीलाई तर्साउनेमै सीमित छ ।

    राणाकालमा भाइभारदार, पंचायतकालमा राजदरबारका सचिव र राजपरिवारको, २०४६ पछि बिचौलियाको र जेनजीको जगमा भएको चुनावपछि बनेको सरकारमा सल्लाहकारतन्त्र चलेको छ । सल्लाहकारका कारण मन्त्रालयका मन्त्री र सचिवले  विवेकपूर्ण निर्णय लिन सकेका छैनन् । तपाईंका औपचारिक सल्लाहकार नेपाल
    सरकारका मुख्यसचिव सचिव विभागीय मन्त्री हुन् । उनीहरुसँग निरन्तर संवाद  छलफल गर्नुहोस् । आफ्नो विवेकले निर्णय गर्नुहोस् ।

    ३. कर्मचारीतन्त्रलाई विश्वासमा लिनुहोस् । तपाईंले कर्मचारीको दरबन्दी कटौती गर्न ३०-५५ को प्रावधान निजामती सेवा ऐनमा ल्याउन खोजेपछि नेपालको निजामती संयन्त्र त्रसित बनेको छ ।

    दरबन्दी कटौती गर्ने भए सबैको गर्नुहोस् । राजनीतिक–प्रशासिनक दुबै राजनीतिक  हिसावमा संघ र प्रदेशका जनप्रतिनीधिहरुको संख्या अनावश्यक संबैधानिक निकाय, न्यायालय, सुरक्षा निकाय सबैतिर समान रुपमा कटौती गरौं । नत्र निजामती सेवामा मात्र तरवार चलाउने होइन । तपाईंले भाइरल हुन सिंहदबारका केही स्वार्थ समूहको सल्लाहमा दरबन्दी कटाउने गलत निर्णय गर्दा लोकसेवा तयारी गरिरहेका लाखौं बिद्यार्थीको भविष्य के होला ? एकपटक सोचौं ।

    सबै तपाइहरु जस्तै नेपो बेबी छैनन् । जो विगतमा नेपाल सरकारको उच्च पदमा भएर इन्जिनियर लगायत उचित शिक्षा पाए । बिद्यार्थीहरु आन्दोलनमा छन् । भोलि केही भएमा त्यसको जिम्मेवार तपाईं हुनुपर्दछ ।

    ४. कर्मचारी कटौतीको छैन राम्रो प्रतिफलः बिस २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीस बर्षे प्राबधान लगाएर धेरै कर्मचारी कटौती गरे । संस्थानहरु निजीकरण गरे । त्यसको सकारात्मक भन्दा नकारात्मक असर देखियो । जसको अहिले पनि नेपाली काङ्ग्रेसले उचित जवाफ दिन सकेको छैन । त्यो बेला धेरै कर्मचारीहरु अदालतबाट पुनर्बहाली भए । इतिहासका अनुभवबाट सिक्ने प्रयास गरौं ।

    ५. प्रहरी लगाएर शासनः तपाईंले एक बिशिष्ट श्रेणीका सचिवलाई ब्यक्तिगत संवादको बिषयलाई लिएर प्रहरी लगाएर मानसिक सामाजिक तनाव दिनुभयो । आफ्नो बिभागीय मन्त्रीलाई प्रहरी लगाएर थुन्ने प्रयास गर्नुभयो तर आइजीपीले विवेक प्रयोग गर्नुभयो । धन्न त्यस्तो हुन पाएन ।

    प्रहरी सेना लगाएर शासन चलाउने बिधि ज्ञानेन्द्र शैली हो । ज्ञानेन्द्रले शुरुको बेला सबैतिर आर्मी प्रहरी लगाएर शासन गर्न खोजेका थिए, असफल भए । तपाईंले गलत अभ्यास गर्नुभएको छ । मन्त्रीहरुको कार्यक्षमता नभए आफ्नो अगाडि राखेर सम्झाउने, हटाउने सबै अधिकार तपाईंमा निहीत छ । कर्मचारीको हकमा मुख्यसचिव सचिवमार्फत् सम्झाउन सचेत गराउन सकिन्छ ।

    ६. तपाईं एक्लै लड्छु भन्नुहुन्छ, हनुमानलाई आफ्नो शक्ति थाहा नभए जस्तो निरीहता प्रकट नगर्नुहोस् । तपाईं पूर्ण बहुमतको सरकारको प्रधानमन्त्री हो । संसदीय दलको नेता हो । संसदीय दलको बैठक राखेर स्पष्ट निर्देशन दिनुहोस् । संसदीय दलमा दलका सदस्यहरुको समस्या सुन्नुहोस् ।

    ७. राष्ट्रियता लहडको बिषय होइन, महानगरमा हुँदा कुन नक्सा राख्नुभयो, मतलबको बिषय होइन तर प्रधानमन्त्री भैसकेपश्चात् गरेका केही ब्यवहार सकारात्मक देखिएनन् । भारतीय बिदेश सचिवलाई भेट्दिनँ भन्नुभयो । संसदमा विवादास्पद बिषय बोल्नुभयो । अहिले आएर राजदूतहरुलाइ एक्लाएक्लै भेटिरहनुभएको छ । आफ्नो सल्लाहकारलाई बेलायती दूताबास, भारतको सुरक्षा सल्लाहकारसँग भेट्न पठाउनुभयो ।

    सस्तो लोकप्रियतामा चल्ने बिषय होइन कूटनीति । कुनै बेला तपाईंका गुरु डा. बाबुराम भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वय नेपालमा सुरुङ युद्व गर्ने भनेर सोझा नेपालीलाइ दिग्भ्रमित बनाउँथे । भारतमा भारतीयकै मेजमानी खाएर बस्थे । राति–राति भारतीय दूतावास धाउँथे । निकटतम छिमेकी भारत, उत्तरी छिमेकी चीन र समुद्रपारका शक्तिराष्ट्रहरुसँग बिगतको अभ्यासबाट सिकेर असल कूटनीतिक सम्बन्ध कायम गरौं ।

    ८. धर्मनिरपेक्षता तपाईंले शपथ ग्रहणमा हिन्दू बौद्व दुबै धर्मको संयुक्त अभ्यासबाट सकारात्मक सन्देश दिएको समयमा अहिले आएर बिभिन्न छलफलमा धर्म सापेक्षता आवश्यक छैन भन्ने कुरा आयो । नेपाली जनतालाइ दिग्भ्रमित बनाउने के चाला हो ?

    ९. नाका ब्यवस्थापन : तपाईंको अर्थमन्त्रीले जति नाका कडाइ गरे पनि अपेक्षित राजश्व संकलन हुनसकेको छैन । गृहमन्त्रीले जति छद्मभेषमा नाका अनुगमन गरे पनि तस्करी रोकिएको छैन । ठूला समान आयात निर्यातमा अनुगमन सुदृढ बनाउन दैनिक उपभोगका सामग्रीहरुमा आम नेपाली नागरिकलाइ दुःख दिने काम बन्द गरौं ।

    १०. नियमित संवाद : राजनीतिक दलका नेताहरु, नेपाल पत्रकार महासंघ, प्राध्यापक संघ लगायत पेशागत संघ–संस्थाहरु, नागरिक समाजका अगुवा सबैसँग नियमित संवाद गरेर आवश्यक पृष्ठपोषण हासिल गरौं । लोकतन्त्रमा संवाद एक अचूक अस्त्र हो । तपाईं औपचारिक जनमतबाट निर्वाचित प्रधानमन्त्री हो । नागरिक समाज, मिडिया पेशागत संघ–संस्थाहरु राजनीतिक दलहरु पनि शासकीय संरचनाका महत्त्वपूर्ण अवयव हुन् । नियमित संवाद गरौं ।

    प्रधानमन्त्रीज्यू, तपाईंको कार्यकाल सफल होस् । नेपाली जनताको गरिबी,
    बेरोजगारी, कुशासन शीघ्र अन्त्य होस्, शुभकामना !!

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार