Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआईजी ज्ञवालीलाई तत्काल बर्खास्त गर्न परमादेश माग गर्दै रिट दर्ता, शुक्रबार पेशी 


    बिहिबार, जेष्ठ ३२ २०८०
    15.3K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवालीले उमेर ढाँटेर गैरकानुनी रुपमा सेवामा प्रवेश गरेकाले उनलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार मदन भण्डारीले जेठ २२ गते दर्ता गरेको रिट रजिष्टार नारायणप्रसाद पन्थीले दरपिठ गरेका थिए । उक्त दरपिठका बिरुद्ध बुधबार दर्ता गरिएको रिटमा एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी सेवाको सुरुदेखिकै अभिलेख नरहने गरी प्रहरी सेवाबाट बर्खास्त गर्न परमादेश जारी गर्न माग गरिएको छ । रिटको पेशी शुक्रबारलाई राखिएको छ ।

    पत्रकार भण्डारीले रिट निवेदन पेश गर्नुपर्ने तथ्यगत अवस्था र कारण उल्लेख गरेका छन् । उनको रिटमा उल्लेख छ–ज्ञवालीले प्रहरी निरीक्षक पदको खुला प्रतिस्पर्धामा सहभागी हुँदा आफ्नो नागरिकताको प्रतिलिपि पेश नगरी उमेर ढाँटी झुटा व्यहोरा उल्लेख गरी सुरु नियुक्तिको लागि हुने प्रतिस्पर्धाको लागि आवेदन पेश गरी प्रतिस्पर्धामा भाग लिई छनौट भई सुरु नियुक्ती लिएको प्रारम्भिकरुपमा नै देखिन्छ । उनको सुरु नियुक्तिमा नै गम्भीर कैफियत भएको र तत्कालीन समयमा प्रहरी निरिक्षक पदको लागि विज्ञापन गरिएको पदमा आवेदन पेश गर्न नै ज्ञवाली अयोग्य भएको कुरा उल्लेख छ ।

    ज्ञवालीको नागरिकताको फोटोकपी हेर्दा उक्त नागरिकता जारी मिति २०४१।१२।२१ (गतेको २ पछिको १ प्रष्ट नबुझिएकोेले २०४१।१२।२ पनि हुन सक्ने देखिन्छ) मा जारी गरिएको देखिन्छ । नागरिकता जारी भएको उक्त मितिमा ज्ञवालीको उमेर १७ वर्ष भन्ने समेत उल्लेख छ । त्यस आधारमा र प्रचलित कानुनी व्यवस्था, सर्वोच्च अदालतबाट प्रतिपादित नजीर सिद्धान्तहरुको आधारमा उनको जन्ममिति २०२४।१२।२१ कायम हुने भई मिति २०४९।१२।२१ मा नै ज्ञवालीको उमेर २५ वर्ष पूरा हुने समेत प्रष्ट भयो ।

    प्रहरी निरीक्षक पदको लागि नेपाल प्रहरीले २०५०।०८।०१ मा प्रकाशित विज्ञापन बमोजिम ज्ञवालीले आवेदन पेश गरी प्रतिस्पर्धामा भाग लिई छनौट भई २०५१।१२।०५ मा प्रहरी निरीक्षक पदमा सुरु नियुक्ति लिएका थिए । उक्त विज्ञापन प्रकाशित भई ज्ञवाली छनौट भएको बखत प्रहरी नियमावली, २०४९ कायम रहेको थियो । उनले भाग लिएको प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा भाग लिने उम्मेदवारको उमेर सम्बन्धमा उक्त नियमावलीको नियम १३९१(९क) मा प्रष्टसँग “छनौट हुने सालको बैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको” हुनुपर्ने भनी उमेर सम्बन्धी योग्यता तोकेको छ ।

    उक्त कानुनी व्यवस्था अनुसार मिति २०५०।०८।०१ मा प्रकाशित विज्ञापन अनुसार आवेदन भर्न २०५०।०१।०१ गते सम्ममा २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ । तर ज्ञवाली मिति २०५०।०१।०१ अगावै २५ वर्ष नाघिसकेको हुँदा ज्ञवाली उक्त सूचना बमोजिम प्रहरी निरीक्षक पदमा आवेदन गर्न नै अयोग्य रहेको कुरा प्रष्ट छ । झन् हाल कायम प्रहरी नियमावली, २०७१ को नियम १२, ४० तथा अनुसुची ३ को प्रकरण १ मा दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रष्ट व्यवस्था गरेको छ । यसरी मिति २०५०।०८।०१ को सूचना बमोजिम आवेदन गर्न तत्काल कायम रहेको कानून बमोजिम अयोग्य रहेको कुरा निज प्रत्यर्थीको नागरिकताको प्रमाणपत्रबाट प्रष्ट हुने भएकाले ज्ञवालीले नागरिकताको प्रमाणपत्र पेश नगरी झुटा कागजात पेश गरी प्रहरी निरीक्षक पदको लागि आवेदन गरी सुरु नियुक्ति लिएको कुरा प्रष्ट छ ।

    तत्काल कायम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ मा राष्ट्रसेवकको ओहदाको निमित्त योग्यता, नाम इत्यादि ढाँट्ने व्यक्तिलाई यस्तो दण्ड सजाय हुने ब्यवस्था छ–कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने उद्देश्यले शिक्षा सम्बन्धी कुनै योग्यता, नाम, तीनपुस्ते, उमेर, जात थर, वतन, नागरिकता वा अयोग्यता ढाँटेमा उसलाई कसूरको मात्रा अनुसार २ वर्षदेखि ६ बर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । उक्त व्यवस्थालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ले सारमा निरन्तरता दिएको छ ।

    एआईजी ज्ञवालीले प्रहरी निरीक्षक जस्तो राष्ट्रसेवकको पद प्राप्त गर्न उमेर हदका कारण अयोग्य भएकोमा उमेर, नागरिकता वा अयोग्यता ढाँटी आवेदन गरेको सम्बन्धमा मिति २०७९।११।१५ मा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीउपर कारवाही सुरु गर्दै आयोगले २०७९।१२।०६ मा छानविन गरी प्रतिवेदन गर्न गृह मन्त्रालयमा पत्र पठाएको थियो । उक्त पत्रमा एक महिनाभित्र छानबिन गरी मन्त्रालयको स्पष्ट राय सहितको छानविन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरु आयोगमा उपलब्ध गराउन भनिएको रहेछ । तर अकस्मात अख्तियार ज्ञवाली उपर परेको उजुरीलाई तामेलीमा राख्ने गरी २०८० बैशाख १४ मा निर्णय गरेको कुरा सार्वजनिक भएको थियो ।

    ज्ञवाली उपरको उजुरी तामेलीमा राखिएको जानकारी प्राप्त भए पश्चात् के कुन कारणले उक्त तामेलीमा राखिएको हो भन्ने सम्बन्धमा आयोगमा सूचना जानकारी माग गर्दै दिइएको छैन ।
    ज्ञवालीले उमेर र अयोग्यता ढाँटी झुठा व्यहोरा उल्लेख गरी प्रहरी निरीक्षक जस्तो राष्ट्रसेवकको पद प्राप्त गरेको कुरा झन् प्रष्ट भएकाले तत्काल वर्खास्त गर्नुपर्नेमा आपसी स्वार्थको लेनदेन र मिलेमतोका कारण उजुरी तामेलीमा राखी उनलाई गैरकानूनीरुपमा उन्मुक्ति दिन खोजिएको प्रष्ट हुन आयो ।

    उमेर र अयोग्यता ढाँटी आवेदन पेश गरी प्रहरी निरीक्षक जस्तो राष्ट्रसेवक पदमा नियुक्ति लिई सोही आधारमा तह तह बढुवा भई हाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बहाल रहेको कुरा प्रारम्भिकरुपमा नै प्रष्ट भएकाले र उक्त कार्य प्रथम दृष्टिमा नै गैरकानूनी रहेको तथा उक्त गैरकानूनी कार्यले निरन्तरता पाउने कुरा प्रथम दृष्टिमा नै गैरकानूनी नै हुने हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्म ज्ञवालीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पद समेतको प्रहरी सेवामा कुनै तरहले कार्य गर्न नदिन माग गर्दै भण्डारीले रिटमा माग गरेका छन् ।

    रिट निवेदनः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार