Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यका प्रहरी प्रमुख गैरजिम्मेवार बन्दा राज्यका संरचना खरानी


    बुधबार, असोज १ २०८२
    4K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । भदौ २३ को जेन–जी आन्दोलनको दिन काठमाडौं उपत्यकाको तीन जिल्लाको सुरक्षा हेर्ने उपत्यका प्रहरी कार्यालय नेतृत्वविहीन थियो । तत्कालीन एआईजी टेकबहादुर तामाङ अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डिआईजी ओम रानाले सम्हालिरहेका थिए । राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका विवादास्पद पृष्ठभूमिका उनी कमाण्ड कन्ट्रोलमा कमजोर मानिन्छन् ।

    डीआईजी रानाको कमान्ड कमजोर देखिएपछि उपत्यका प्रहरी कार्यालयका एसएसपी दीपशमशेर जवराले उपत्यकाको अपरेसनको कमान्ड सम्हालेका थिए । जेन–जी आन्दोलनमा सामान्य प्रदर्शन हुने आँकलन गरेको काठमाडौं प्रहरी टोली त्यतिबेला झस्कियो, जब डिएसपी एलिजा गिरीले संचारसेटमा ‘पुलिस मार्यो, मार्यो, हामीलाई मार्न आँट्यो ।’

    डीएसपी गिरीले संचार सेटमा गुहार माग्दै गर्दा प्रदर्शनकारीहरु बानेश्वरको सुरक्षा घेरा तोडेर सांसद भवनभित्र छिर्न थालिसकेका थिए ।

    त्यसलगत्तै संचारसेटमा तत्काल गोली चलाउने आदेश आयो । आदेश दिने प्रहरी अधिकारी थिए काठमाडौं प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारी । एसएसपी अधिकारीले पटक–पटक गरी ६ पटक गोली चलाउन आदेश दिए । तर पनि फिल्डमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिन गोली नचलाएपछि एसएसपी अधिकारीले आक्रोशित हुँदै संचारसेटमा ‘मैले ६–६ पटक भनिसकेँ, तुरुन्तै गोली चलाऊ, गोली नचलाए फिल्ड कमान्डरलाई कारबाही गर्छुु ।’

    एसएसपी अधिकारीको आदेशसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अपरेसनको कमाण्ड गरेका एसएसपी दीपशमशेर जवरा कराउन थाले– ‘तत्काल गोली चलाऊ, संसद भवनभित्र मान्छे छिर्न नदेऊ, पटकपटकको दबाबपछि फिल्डको प्रहरी यसरी दमनमा उत्रियो कि केही क्षणमै दर्जनांै युवा ठाउँको ठाउँ ढले, १९ जनाको मृत्यु भयो ।

    प्रहरीले बर्बर तरिकाले आन्दोलनकारी युवा विद्यार्थीहरुलाई गोलीले उडाएपछि सारा मुलुक नै आन्दोलनमा उत्रिने अवस्था सिर्जना भयो । राज्यपक्षबाट १९ जनाको बर्बर हत्यापछि दवाब थेग्न नसकेर गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै राजीनामा दिए । त्यसैदिन साँझ मन्त्रीपरिषद बैठक बसेर बन्द गरिएका सामाजिक संजाल खोल्ने निर्णय गर्यो ।

    त्यसैदिन साँझ बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा उपत्यकाको प्रहरी नेतृत्व खाली भएकोले तत्काल एआईजी खटाउनुपर्ने भन्दै नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले प्रस्ताव गरे । उपत्यका प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई खटाउने निर्णय पनि भयो ।

    उपत्यका प्रहरीको कमान्ड सम्हालेका एआईजी कार्कीले सर्वोेच्च अदालत, सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालयहरु लगायत विभिन्न ब्यापारिक भवन ध्वस्त हुँदा पनि गोली नचलाउने, थुनुवा छोड्ने आदेश किन गरे त ? यो प्रश्नको उत्तर खोज्न बिगतलाई फर्केर हेर्नुपर्ने हुन्छ ।

    २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री भए । त्यतिबेला रवि लामिछानेको दोहोरो राहदानी सम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धानको क्रममा थियो । त्यो बेला काठमाडौं प्रहरी प्रमुख थिए एसएसपी भरतबहादुर बोहरा । बोहराले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिब ५ महिना चल्दै थियो । त्यहीबेला उपप्रधान तथा गृहमन्त्री भएका रवि लामिछानेले एकाएक नेपाल प्रहरीका एसएसपीहरुको सरुवा निकाले ।

    सरुवामा काठमाडौंबाट बोहरालाई हटाएर तत्कालीन एसएसपी दानबहादुर कार्कीलाई काठमाडौं प्रहरीको कमाण्ड दिइयो । तत्कालीन आईजीपी धिरजप्रताप सिंहले एसएसपी बोहरालाई हटाउन चाहेका थिएनन् तर लामिछानेले काठमाडौं प्रहरीमा अनुसन्धान भइरहेको दोहोरो राहदानी सम्बन्धी मुद्दामा आफूअनुकूल निर्णय गराउन कार्कीलाई ल्याएको त्यो बेला चर्चा चलेको थियो ।

    कार्कीले पनि लामिछानेको चाहना बमोजिमा हतारहतार दोहोरो राहदानी मुद्दामा मुद्दा नचल्ने गरी सरकारी वकिलमार्फत् निर्णय गराएपछि तत्कालीन आईजीपी धिरजप्रताप सिंहले आफूलाई एकपटक रिपोर्ट समेत नगरी मुद्दा नचल्ने निर्णय गरेको भन्दै झपारेका थिए ।

    त्यसलगत्तै सर्वाेच्च अदालतमा सुनुवाइको क्रममा नागरिकता सम्बन्धि विवादमा रवि लामिछाने पदमुक्त भए । त्यसको केही समयमै प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने पुनः उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा फर्किए । त्यो बेला तत्कालीन एसएसपी दानबहादुर कार्की आईजीपी वसन्त कुँवरको सचिवालयमा कार्यरत थिए । आफूलाई दोहोरो नागरिकता मुद्दामा उन्मुक्ति दिलाएको गुन तिर्न लामिछानेले एक ब्याच उछिनेर कार्कीलाई एकल डीआईजीमा बढुवा गर्ने प्रयास गरे ।

    २०५२ को समूहका तीनजनालाई अगाडि राखेर २०५४ को ब्याचबाट कार्कीलाई भावी नेतृत्वको एकल दावेदार बनाउने योजना अनुसार तत्कालीन आईजीपी वसन्त कुँवरलाई व्यापक दवाव दिए । कुँवरले ब्याचको सिंगल बढुवा दिंदा राम्रो सन्देश नजाने भन्दै डा.मनोजकुमार केसी र राजन अधिकारीलाई छुटाउन नहुने अडान लिएका थिए । लामिछानेको दबाब र तत्कालीन आईजीपी कुँवरले अडान लिने क्रम चलिरहँदा १ बर्ष सिनियर सिद्धिबिक्रम शाहको ब्याचलाई छुटाएर कार्कीलाई ब्याचबाट पहिलो नम्बर, केसीलाई दोस्रो नम्बर र अधिकारीलाई तेस्रो नम्बरमा बढुवा गरिएको थियो ।

    पहिला मुद्दा मिलाइदिंदा आफूले लगाएको गुन तिर्न लामिछानेले ब्याच उछिनेर पहिलो नम्बरमै डिआईजी बनाइदिएपछि उत्साहित भएका कार्कीले लामिछानेलाई मामा र उनकी श्रीमती निकिता पौडेल लामिछानेलाई माइजू सम्बोधन गर्ने गरेका छन् ।

    उपत्यकामा कार्यरत एक प्रहरी बृत्त प्रमुखका अनुसार भदौ २४ मा मुलुकमा एआईजी कार्कीको ब्यक्तिगत स्वार्थको कारण प्रहरी कार्यालयहरुको यो अवस्था भएको, प्रहरी कमजोर भएपछि मुलुकमा भयावह स्थिति सिर्जना हुनुको पछाडि एआईजी कार्की नै जिम्मेवार रहेको बताउँछन् । ‘भीडले रवि लामिछानेलाई जेलबाट निकालेर लिएर आएपछि सिधै प्रधानमन्त्री हुन्छन् । आफू सजिलै नेतृत्व लिन्छु भन्ने बदनियतका कारण सारा मुलुकले दुःख पायो ।’ उनले भने ।

    ‘गोली चलाउँदै नचलाउनू, बल प्रयोग नगर्नू भन्ने अनि आफैं भागेर १० बजे नै नक्साल पुगेर सादा पोशाकमा बस्ने ? कमान्डर एआईजी नै भागेपछि प्रहरीले कुन मोरालले काम गर्ने ? पछि थुनुवा पनि छोड्नू भन्ने आदेश आयो, तिनै थुनुवाले हाम्रो कार्यालयमामाथि आगजनी गरे, प्रहरीलाई मारियो, कुटियो, हातहतियार लुटियो । प्रहरीलाई हात खडा गराएर आत्मसमर्पण गराएर बागमतीमा धकेलेर ढुङ्गा हान्दा समेत नेतृत्व मूकदर्शक भएर बस्यो । हामी अब कुन मनोबलले काम गर्ने ? उपत्यकाको एक बृत्त प्रमुखले प्रश्न गरे । ‘कमसेकम हामीलाई आफ्नो कार्यालय, सवारीसाधन, हातहतियार र थुनुवाको सुरक्षा गर्नु भनेर तालुक कार्यालयले आत्मबल दिएको भए हामी हाम्रो प्रहरी र कार्यालयको सुरक्षा गथ्र्यौं’ उनले भने । माथिबाट आत्मबल बढाउनु त टाढाको कुरा आफू सुरक्षित भएर भाग्नू भन्ने जस्तो आदेश आयो ।

    उच्च स्रोतका अनुसार रवि लामिछाने थुनामा रहेको नख्खु कारागार प्रशासनलाई समेत रवि लामिछानेलाई बाहिर छाडिदिए माहोल शान्त हुने भन्दै विभिन्न माध्यमबाट प्रहरीका उच्च अधिकारीले दबाब दिएको बुझिएको छ । उक्त दिन सर्वोच्च अदालतमा आक्रमण शुरु भएपछि प्रहरीले सम्पूर्ण न्यायाधीशहरुलाई न्याय परिषद सचिवालयसम्म गाडीमा चढाएर लगेर सेनाको सुरक्षा घेरामा छिराएको थियो । सर्वोच्चका न्यायाधीशहरुले दिनभर आफ्नो अंगरक्षकको संचार सेट सुनेर बसेका थिए ।

    सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोेच्च अदालतको फुल कोर्ट बैठकमा समेत प्रहरीको उपत्यका एआईजीको भूमिका कमजोर र शंकास्पद देखिएको प्रष्ट बुझेका थिए । सर्वाेच्च अदालत बचाउन प्रहरीबाट सहयोग नभएको निष्कर्ष निकालेको बुझिएको छ ।

    गृहमन्त्रालय स्रोतका अनुसार घटना सम्बन्धमा छानबिन गर्न आयोग गठन भएपछि प्रहरीमा भएका कमजोरीमा कठोर कारबाही गर्ने तयारी थालिएको छ । नेपाल प्रहरीतर्फ डिआईजी ओमबहादुर राना, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, उपत्यका प्रहरीका अपरेसन कमाण्डर एसएसपी दीप शमशेर जवरा, केन्द्रीय प्रहरी विशेष कार्यदलका एसपी ऋषिराम कँडेल, नगर प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङ, काठमाडौं परिसरका अपरेसन कमान्डर डीएसपी सुन्दर तिवारी र केन्द्रीय प्रहरी विशेष कार्यदलका इन्स्पेक्टर समुन्नत अधिकारी लगायतलाई निलम्बन गरेर कारबाही गर्ने तयारी गरिएको छ ।

    त्यसो त एआईजी कार्कीले पछिल्लो समय आफ्नै संगठनका अधिकृत जवानहरुबाटै असुरिक्षित महसुस गरेका छन् । आफ्नै कमजोरीको कारण प्रहरी संगठनको मनोबल घटेको, कार्यालय ध्वस्त भएको, तीन प्रहरी कर्मचारी मारिएको, प्रहरीमाथि कुटपिट र दुब्र्यवहार भएको, हातहतियार लुटिएको घटनामा तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको बुझाइ रहेको थाहा पाएपछि उनले पछिल्लो समय २० जना भन्दा प्रहरीको लावालस्कर लिएर हिंड्ने गरेका छन् । अहिलेसम्म आईजीपी बाहेक कसैले पनि अगुवा पछुवा गाडी लिएर हिंड्ने गरेका थिएनन् । तर पछिलो समय आफ्नै संगठनका सदस्यबाट असुरक्षित ठानेर एआईजी कार्कीले अगुवा पछुवा गाडीमा प्रहरीको ठूलो जत्था लिएर हिड्ने गरेको एक प्रत्यक्षदर्शीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार