Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भक्तको आरतीबाट रमाएका ज्ञानेन्द्र शाह र सामाजिक संजालको महिमागानबाट मख्ख नयाँ नायक


    आइतबार, चैत्र १५ २०८२
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सन्तोष चिमरिया

    ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ मुसुक्क हाँस्थे र ‘मैले बुझेँ’ भन्थे ।

    उनी पनि घडी र पलहरूको मिहीन हिसाबकिताब गरेर कार्यारम्भ गर्थे । कुनै निश्चित दिनलाई शुभ र कुनैलाई अशुभ मान्थे । त्यसैले उनका ज्योतिषहरूले सबै ग्रह र नक्षत्रहरूसँग सघन वार्ता र छलफल गरेपछि १८ र १९ को अंक शुभ र शुक्रबारको दिन शुभ भनेर आफ्ना महाराजाधिराजका निम्ति किटानी गरेका थिए । साइत अनुसार राजाले असोज १८ र माघ १९ गते शुक्रबार पारेर देश बनाउने जिम्मा आफ्नो हातमा लिए ।

    लिएको सत्ता जोगाउनका निम्ति, ज्योतिषका सल्लाह मानेर उल्का र उटपट्याङ पनि गरे । जस्तो कि परेवा, राँगो आदिको पञ्चबली दिए । पाँच जीव बली दिनुलाई पञ्चबली भनिँदोरहेछ । राजाले पनि ज्योतिषको सल्लाह अनुसार अन्तिममा चुरेमाईमा गएर मुसाको बली दिएर पञ्चबली सम्पन्न गरे ।

    यति गरेर सबै ग्रहसँग राजाले सेटिङ गरे । तर, दल र माओवादीले भारत र अमेरिकासँग गरेको सेटिङलाई उस्तो महत्व दिएनन् । उनलाई देवीदेउता र ग्रह नक्षत्रभन्दा भारत र अमेरिका शक्तिशाली हुन्छन् भनेर लाग्दै लागेन ।

    लेखक चिमरिया

    सबै दैविक सेटिङ सम्पन्न गरिसकेपछि राजा नायकत्वमा पनि उत्रिए । ०४८ देखिको ‘भ्रष्टाचार’ छानबिन गर्न शक्तिशाली शाही आयोग बनाए । सरकारी सेवा सुविधालाई चुस्तदुरुस्त बनाउन नागरिक बडापत्र लेखेर हरेक कार्यालयमा झुन्ड्याए । ट्रेड युनियनहरूमाथि धावा बोले ।  स्थानीय निकायमा बहुदललाई लखेटेर पूर्वपञ्चेहरू नियुक्त गरे ।

    पानीट्याङ्कीमा पैसा लुकाउने, मेलम्चीमा भ्रष्टाचार गर्ने, लाउडा खाने, बहुदलीय नेता र भ्रष्ट कर्मचारी सबै समाते । यता सहरतिर गिरिजाप्रसाद, माकुने, ईश्वर पोखरेल, उता जंगलतिर बाबुराम, प्रचण्ड—कसैलाई खेदाउन र थुन्न बाँकी राखेनन् ।

    अहिलेका डिजिटल नागरिकले आफ्नो नयाँ नायकको महिमामण्डनमा आरती लेखेर सेयर र ट्वीट गरेजस्तै उबेला पनि आरती भयो । अहिले जस्तो फेसबुक र ट्विटर त थिएन । तर पत्रिका थिए । टिभी र रेडियो थियो । त्यहाँ नायकका फोटोसहित विज्ञापन आउँथ्यो । नायकको महावाणी आउँथ्यो । त्यहाँ नायकको आरती हुन्थ्यो । महिमामण्डन हुन्थ्यो । साँझ घरघरमा दिपावली हुन्थ्यो । नायकले खोकेको र वायुत्याग गरेको विषयमा समाचार बन्थे ।

    यो जात्रा अरु तीन बर्ष जति चल्यो । अनि ग्रहदशा र बली खाने देवीदेउताले ज्ञानेन्द्रलाई धोका दिए । ग्रहदशाले नै धोका दिएपछि नायकत्वले पनि हावा खायो । त्यसपछि अरु अरु नायक भए । दृश्य र सम्बाद उही । बस पात्र र नायक फरक ।

    हेर्नुस् बुढो हुनु भनेको चालीस कट्नु र दारी तिलचामल हुनुमात्र होइन । इतिहास दोहोरिएको देख्न पाउने सौभाग्य जुर्नु पनि हो । फरक पात्रले उही पटकथा, दृश्य र संवादमा अभिनय गरेको हेर्दा पहिलेको जस्तो रोमान्चक अनुभूति त हुँदैन । तर इतिहास दोहोरिएको दृश्य पनि हेर्न सक्ने र जान्नेहरूका निम्ति कम्ता रोचक चाहिँ हुँदैन । अझ आफूभन्दा जेठा, ४५ र ५० तिरका बुढाहरूले चौथो पटक उही दृश्य हेरेर र संवाद सुनेर मर्नुन्जेल ताली पड्काएको हेर्नु त, यो मंचनको उलकै रमाइलो पक्ष भैहाल्यो ।

    चिमरियाको फेसबुकबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार