कुमार दाहाल
मुख्यसचिवको पद राजनीति र प्रशासनको मिलनबिन्दु हो । यहींँबाट राजनीतिले प्रशासनको विज्ञता र प्रशासनले राजनीतिको विश्वास प्राप्त गर्छ । सबै कर्मचारीको अपेक्षा र आकर्षण यही पद हो । कर्मचारीले आफूलाई योग्य र विज्ञ बनाउने उत्प्रेरणा यही पदबाट प्राप्त गर्छ । सचिवहरु मन्त्रीका सल्लाहकार हुन् र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो ।
मुख्यसचिवको पद मास्लोको आत्मसन्तुष्टिको अन्तिम बिन्दु हो । वुड्रो विल्सन राजनीति र प्रशासनको सम्बन्ध बिन्दु यही पदमा देख्छन् । राजनीतिबाट नछुट्टिएको जर्मनीको प्रशासन र विज्ञताबाट उँचाइमा पुगेको भारतको प्रशासन दुबैमा यो पदको गरिमा उच्च छ । त्यसैले मुख्य सचिव पदको नियुक्ति बढुवा मात्र होइन । यसमा कर्मचारी र राजनीति दुबैको चासो हुन्छ । यो पदमा कस्तो व्यक्ति पुग्नुपर्छ भन्ने संसारमा आफ्नै मान्यता छन् । अमेरिकामा बढुवाबाट यो पदमा कर्मचारी पुग्दैनन् । राष्ट्रपतिले सोझै नियुक्ति गर्छन्, जसलाई Spoil System भनिन्छ । फ्रान्समा ६५ वर्ष कर्मचारीको उमेर अवधि छ । तर मुख्यसचिवको पद त्यो भन्दा माथि सम्म रहन सक्छ । किनकि मुख्य सचिवको पद उमेरभन्दा विज्ञता र योग्यताको विषय बढी हो ।
नेपालमा मुख्यसचिवको पदमा सचिवहरुमध्ये बढुवाबाट नियुक्ति गरिन्छ, र मुख्यसचिव ५८ वर्ष वा सेवा अवधि ३ वर्षसम्म बहाल रहन्छन् । अहिले मुख्य सचिवको पदमा नियुक्तिका चर्चा चल्न थालेको छ । यो पदमा नियुक्तिका थुप्रै प्रतिस्पर्धी हिजो पनि थिए आज पनि छन् । तर, सरकारले एकाध बाहेक मुख्यसचिव पदमा नियुक्ति गर्दा समग्र प्रशासनको मर्म, धर्म, कर्म र विश्वासलाई जित्न सकेको छैन । यो पदको नियुक्तिमा पनि गणेश प्रवृत्ति हावी छ । पद, योग्यता र विज्ञताको मर्यादा नाघेर नियुक्ति गर्दा केही वरिष्ठ सचिवहरुले राजीनामा दिएका उदाहरण थुप्रै छन् । मुख्य सचिवको पदमा नियुक्ति गर्दा केही वरिष्ठ सचिबले भोलि पनि राजीनामा दिनेछन् । र, उनीहरुले भन्नेछन् मर्यादाक्रम भत्कियो !
योग्य, विज्ञ, अनुभवी, तटस्थ र राजनीतिक नेतृत्वको विश्वास जित्ने व्यक्ति यो पदमा नपुगुन्जेल यस्ता गुनासा र प्रश्नहरु दोहोरिरहन्छन् । किनकि मुख्यसचिवको पद वृत्तिविकास र प्रतिष्ठाको पद मात्र होइन । यो समग्र प्रशासनको उत्प्रेरणा हो । यो पदमा नियुक्ति गर्दा राजनीतिक चेत प्रष्ट हुन जरुरी छ ।
सचिव र मुख्य सचिव जस्तो उच्चपदले काठमाडौँ भञ्ज्याङ भन्दा बाहिरको कर्मचारीको मर्का बुझेको हुनुपर्छ । यस क्षेत्रमा अनुभव गरेको हुनुपर्छ । मर्का सुनिदिने र प्रत्यक्ष अनुभूत गराइदिने नेतृत्व अहिले चाहिएको छ । तर उच्च पदासिनहरु अवकाशपछि पनि राजदूत र राजनीतिक नियुक्ति खाने प्रलोभनले आफ्नो दायित्व बिर्सिन्छन् । प्रोटोकलको हिसाबले तलका पदहरुमा जागिर खानुभन्दा समाजको सम्मानित व्यक्ति हुनु कति आनन्द होला ? यो आजको प्रशासनिक नेतृत्वको ठूलो समस्या हो । अवकाशपछि आफ्नो योग्यताको कहीँ न कहीँ प्रयोग गर्नैपर्छ तर पद खानकै लागि आफ्नो कर्तव्य भुल्दाको समस्या नेतृत्ववर्गमा नयाँ होइन ।
संघीयतामा ३ तहको कर्मचारी नीति छ । शिक्षा, स्वास्थ्य, महिलाका कर्मचारीहरुको दरबन्दी र पद कहाँ छ, टुंगो छैन । अहिले कर्मचारीको संख्या कति पुगेको छ ? अभिलेख प्रणाली कमजोर छ । कुन कर्मचारीलाई कहाँ सरुवा गर्नुपर्छ, सरुवा नीति छैन, मानव स्रोत व्यवस्थापन योजना छैन । राजनीतिले पनि सही सल्लाह पाएकै छैन । अवकाशको उमेर प्रदेश पिच्छे फरक छन्, विभिन्न सेवा समूहमा वृत्तिविकासका अवसर फरक छन् । भ्रष्टाचार उच्च छ । कहीँ कर्मचारी कुटिएका छन्, कतै हेपिएका छन् । कहीँ कालोमोसो दलिएका छन् तर यसको संरक्षक सचिब, सहसचिब, मुख्यसचिब हामी कोही बोल्दैनौं । यस्ता विकृतिहरुको जिम्मेवारी निजामती सेवाको उच्च पदले लिनुपर्ने हैन र ? यो संस्थागत खराबी आउनुमा कर्मचारी प्रशासनकै थुप्रै कमजोरी छन् ।
ट्रेड युनियन यति हावी छन् कि उनीहरुले निष्पक्षता र प्रतिबद्धता भुलिसके । ट्रेड युनियनका पदाधिकारीहरु राजनीतिज्ञ जस्तै छन् । निजामती सेवामा कहीँ पनि सन्तुष्टि छैन । काम हुने ठाउँमा कर्मचारी छैनन् । काम नहुने ठाउँमा कर्मचारी छन्, कार्यबोझ अनुसार कर्मचारी छैनन् । सिंहदरबारभित्रका कर्मचारी काम नपाएर बसेका छन्, स्थानीय तहमा कर्मचारी कम छन् । सरुवा हुनै रकम बुझाउनुपर्छ । राजनीतिक आस्था चाहिन्छ । यस्ता विकृति कम गर्न मुख्य सचिव पदको भूमिका के छ ? स्पष्ट भएमा मुख्यसचिव प्रतिको आस्था बढेर जान्छ । कर्मचारीले अहिले अभिभावक चाहेका छन् ।
मुख्यसचिव पदको आकर्षण पद र प्रतिष्ठामा हैन– जिम्मेवारी, उत्तरदायित्व, तटस्थता र नतीजामा छ । त्यसैले यो पदलाई उमेर वर्षभित्र राख्नुहुँदैन । कोही योग्य छ भने ६० वर्षपछि पनि नियुक्ति दिन सकिन्छ । मुख्यसचिवको पदलाई २ वर्ष र सचिवको २ वर्ष राख्दा खासै फरक पर्दैन । किनभने ती पदहरु टिकिरहने पद होइनन् । जीवनभरको अनुभवलाई छोटो समयमा नतीजामा अनुभूति दिने पद हुन् । यी पदहरूले तल्ला पदहरूको वृत्तिविकासलाई सहज बनाउनुपर्छ । किनकि हाम्रो संगठनको ढाँचा पिरामिड प्रकृतिको छ । लामो अवधिसम्म टिक्ने पदले तल्ला पदहरूको वृत्तिविकासमा ठूलो समस्या पार्छ । माथिल्लो पदले विज्ञ र सन्तुष्टि दियो भने तल्ला पदहरू स्वतः उत्प्रेरित हुँदै जान्छन्, यो व्यवस्थापनको मान्यता हो ।
मुख्यसचिवको पद सामान्यज्ञ र विशेषज्ञको पदभन्दा माथिल्लो पद हो । यो पदले राजनीतिको धर्म, प्रशासन र यसभित्रका कर्मचारीको मर्म बुझेको हुनुपर्छ । जिल्ला, प्रदेश, स्थानीय तहको फरक बुझेको हुनुपर्छ । कमसेकम नीतिमा आफ्ना कामहरूको अनुभव समेटिनुपर्छ । राजनीतिले यो पदमा नियुक्ति गर्दा कुन पार्टीको वा कुन समर्थनको वा कसरी भक्तिगान आउँछ भन्ने हेर्नुभन्दा कसरी काम गर्छ र विगतमा कति नतिजा दिएको छ, हेर्नैपर्छ । आजसम्म नेतृत्वमा बढुवाको समस्या यहीँ छ ।
मुख्यसचिवको पदमा नियुक्तिमा व्यक्तिको योग्यतालाई लिनुपर्छ । उत्तराधिकार योजना हुनुपर्छ । तबमात्र नेपालको निजामती सेवा र समग्र कर्मचारीतन्त्र योग्य हुन सक्छ । मुख्यसचिवको पद समग्र कर्मचारीतन्त्रलाई सम्मान दिने र सम्मानित हुनुपर्छ । मन्त्रिपरिषदमा जाने प्रस्तावहरुलाई हेर्ने, लेख्ने र व्याख्या त सहसचिव, उपसचिवले पनि गर्नसक्छन् । त्यो भन्दा माथि समग्र गवर्नेंन्सको उँचाईलाई महसुस गर्ने व्यक्ति यो पदले प्राप्त गरेमा हामी विश्व प्रशासन र राष्ट्रिय प्रशासनको विश्वास जित्न सक्छौं र हाम्रा नीति, योजना, कार्यक्रमहरु प्रभावकारी हुन्छन् । कमसेकम नेतृत्वप्रति एउटा कर्मचारी शिर झुकाउन वाध्य हुन्छ ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend