सुयोग शर्मा
काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् । वर्तमान सरकारको भक्तिभावबाट सेवानिबृत्तपश्चात् राजनीतिक नियुक्ति संबैधानिक पद पनि मिलोस् । भदौ २२ गतेको निजामती सेवा दिवसको शुभकामना छ ।
१. नेपाल सरकारको शासकीय सुधार कार्यक्रम सय बुँदा पारित भयो । सार्वजनिक प्रशासनमा शासकीय संरचना भन्नाले निजामती कर्मचारीमात्र हो कि राज्यको समग्र संरचना हो बुझ्न सकिएन । दरबन्दी कटौति संघ, प्रदेश, स्थानीय तीन तहको हो कि संघको मात्र ? सुरक्षा निकाय, न्याय क्षेत्र, संस्थान, बिश्वबिद्यालय शैक्षिक क्षेत्रमा यो सरकार हात हाल्न डराउँछ । केवल निजामतीका दरबन्दीहरु काटेर सुशासन र मितब्ययिताको मन्त्र पढाउँछ । प्रधानमन्त्री र मन्त्रीहरुका सल्लाहकारहरुको संख्या बढाउँछ । दरबन्दी पनि संगठन संरचना हावाको तालमा हप्ता–हप्तामा परिवर्तन हुन्छ ।
स्वास्थ्य मन्त्रालयको जनसंख्या हटाएर खाद्य स्वच्छता बनाइयो । साइनबोर्ड लगायतमा कति कति खर्च दायित्व बढ्यो । एकाबिहानै बैज्ञानिक मन्त्रीले खाद्य स्वच्छता नवप्रवर्तन मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भनेर फेसबुकबाट उर्दी जारी गर्नुभयो । कार्यबिभाजन नियमावली परिवर्तन नगरी मुख्यसचिवबाट प्रमाणित नगरी फेसबुकबाट सूचना जारी गर्न पाइन्छ । यही हो सुशासन !
जल तथा मौसम बिज्ञान बिभागलाई अलग बनाइयो ।अहिले बाढी बितन्डा आयो । को जिम्मेबारी हुने ? लामो समयदेखि सहसचिव, उपसचिव बढुवाको अपेक्षा गरेर बसेका कर्मचारीहरु अहिले निराश भएर बसेका छन् । हप्ता हप्तामा हुने संरचना परिवर्तनले जनताले खोजेको सुशासन सुनिश्चित गर्दछ ?
२. विद्वान मुख्यसचिवज्यूलाई निजामती सेवा ऐन २०४९ को दफा ५८ र ३५ जानकारी नै होला । दफा ५८ को सेवा, शर्त बिपरीत कानून बनाउन नपाइने प्रावधानलाई उलडघन गरेर कसरी निजामती सेवा ऐनको मस्यौदा तयार भयो ? दफा ३५ ले निश्चित सुविधा दिएर स्वेच्छिक अवकाशमा जान सकिने ब्यवस्था गरेको छ ।
बिगतको ऐनले सुनिश्चित गरेका अधिकार सुबिधा कटौती गरेर ल्याउन लागिएको ऐनले सुशासन दिएको हामीले मान्दिनुपर्ने । हालको दरबन्दी कटौती र ३०/५५ को प्रावधानले २० हजार कर्मचारी, तिनका परिवारसमेत गरेर १ लाख परिवारसमेत रात दिन तनावमा बसेका छन् । कर्मचारीको हितमा कानून अनुसार अडान लिने कि आफ्नो १ लाख जतिलाई रुवाएर आफ्नो पद जोगाउने तपाईको हातमा छ ।
डा. बिमल कोइराला मुख्यसचिव भएको बेला राजाको हातमा शासन थियो । लोकसेवा नदिएर सोझै उपसचिवसम्म नियुक्त गर्ने पर्चा खडा गरेर कर्मचारी हटाउने प्रावधान ल्याउन राजाको आदेश गराएर रमेशनाथ पाण्डेहरु लागेका थिए । बिमल कोइरालाले म आफ्नो मृत्युपत्रमा आफै हस्ताक्षर गर्दिनँ भनेर कर्मचारीको पक्षमा अडान लिनुभएको थियो । पूर्वमुख्यसचिव बिमल कोइराला र वर्तमान मुख्यसचिव गोविन्दबहादुर कार्की संयोगले भोजपुरकै हुन् ।
माझ किराँतका ती कोइरालाले राखेको अडान अहिले पनि निजामती कर्मचारी सम्झिरहन्छन् । तर वर्तमान मुख्यसचिव कार्कीले अवकाशपछि संवैधानिक निकायमा नियुक्तिको प्रलोभनमा परी निजामती कर्मचारीको इतिहासमै कलंक लाग्ने काम गर्न उद्यत भएको दाग लाग्ने मौका दिनुहुन्न भन्ने झिनो आशा अझै कर्मचारीले लिएका छन् । ५५–३० लागू भएर ठूलो संख्यामा कर्मचारी अवकाश हुँदा संस्थागत स्मरण नै समाप्त हुनेछ, जुन राज्यका लागि निकै घाटाको बिषय हुनेछ ।
३. वर्तमान सरकार लोकतन्त्रको मान्यताबाट चलेको छ कि अघोषित सल्लाहकारतन्त्रबाट चलेको छ थाहा भएन । च्याट जीपीटी र एआईबाट सबै काम हुन्छ, सरकारी कर्मचारी कटौती गर्नुपर्छ भन्नेहरुलाई थाहा होला सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीले काम गरेको छैन । राष्ट्रिय परिचयपत्रबाट प्रणालीले काम नगर्दा ई–पेन्सन बनाउन समस्या आएको छ । राहदानी, यातायात बिभागका आफ्नै समस्या छन् ।
सबै नागरिकहरुलाई दिग्भ्रमित बनाउने काम भएको छ । सफ्टवेयरका पूर्वाधार कमजोर छन् । दक्ष जनशक्तिको अभाव छ । सबै काम शनै शनै हुने हो तर एकैचोटी एक क्लिकमा हुन्छ भनेर दिग्भ्रमित बनाइयो तर नागरिकले दुःख पाएका छन्, कसैलाई मतलब छैन ।
४. तपाईंहरु उच्च प्रशासक र वर्तमान जान्नेलाई छान्ने सरकारले ट्रेड युनियनलाई खारेज गर्न न्वारनदेखिको बल लगाउनुभयो । अध्यादेश पनि आयो तर साठी दिनभित्र पास हुन सकेन । हालै सम्मानित सर्वोेच्च अदालतको आदेशबाट ट्रेड युनियनको अस्तित्व यथावत राखेको छ ।
विगतमा माओबादी संकटकालमा कर्मचारीमाथि अन्याय हुँदा यही निकाय बोलेको थियो । पर्सामा तत्कालीन सीडीओ दुर्गाप्रसाद आचार्यमाथि तत्कालीन राज्यमन्त्री करिना बेगमको आक्रमण हुँदा होस् कि तत्कालीन वनमन्त्री मातृका यादवले तत्कालीन ललितपुरका एलडीओ डुन्डुराज घिमिरेलाई शौचालयमा थुनेको बेला आवाज उठाउने यही निकाय थियो ।
राणा शासनको बिरुद्व आवाज उठाउने एकादशी सभा, बिराटनगर जुटमिल आन्दोलन, न्यूनबैतनिक कर्मचारी आन्दोलनदेखि शाहीकालमा गृहमन्त्री बिरुद्व आवाज उठाएर गृह मन्त्रालयमा गिरफ्तारी दिएर पाएको ट्रेड युनियन अधिकार हो । वर्तमान सरकार, यसका धुपौरे प्रशासकहरुले ट्रेड युनियन खारेज गर्ने सपना नदेखून्, यसको प्रतिफल स्वतः पाउनेछन् ।
५ वर्तमान प्रतिगामी निजामती ऐन जारी गर्न केही निजामती सेवाका स्वार्थ समूहहरु लागेको स्पष्ट थाहा भएको छ । प्रधानमन्त्रीको सचिवालयमा कार्यरत सहचिव प्रदीप परियार, लोकसेवाका पण्डित प्रकाश दाहाल, एकदेव अधिकारी, भीष्मप्रसाद भूसाल लगायतका बिद्वान मूर्धन्य सहसचिवहरुलाई तत्काल सचिव बढुवा हुनुपरेको छ ।
प्रधानमन्त्री कार्यालयका कथित सल्लाहकारहरुलाई आफ्ना मानिस राख्नुपरेको छ । माननीय प्रतिभा रावललाई लालबाबु पण्डितभन्दा पनि अधिक लोकप्रिय हुनुपरेको छ । यही स्वार्थ समूहको चक्रब्यूहमा समग्र निजामती प्रशासन परेको छ । स्वार्थको रोटी सेकाउन केही समय सकिएला तर सिंहदरबार बाहिर आए सबै खुला हुन्छ, सबैको एक एक हिसाब समय आएपश्चात् हुन्छ ।
६. एक बिशिष्ट श्रेणीका कर्मचारीले ब्यक्तिगत म्यासेज पठाउँदा प्रहरी लगाएर मानमर्दन गरियो । वर्तमान सहसचिव प्रमुख जिल्ला अधिकारीले सामाजिक सन्जालमा आफूले महामारीको समयमा गरेको असल अभ्यासको अनुभव फेसबुकमा लेख्दा दरबन्दी नभएको स्थानमा सरुवा गरेर मानमर्दन गरियो । अहिले पूर्वराजा ज्ञानेन्द्र शाहको शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्कीको भन्दा पनि निरंकुश अभ्यास शुरु भएको छ ।
लोकमानसिंह कार्की मुख्यसचिव भएको बेला नगरपालिकाको चुनाव आह्वान भएको थियो । सबै कर्मचारीलाई निर्वाचनमा सहभागी हुन उर्दी जारी गरिएको थियो । तत्कालीन उपसचिव(पशु चिकित्सक) प्रसन्न कोइरालाले रिपोर्टर्स क्लबमा गएर म चुनावमा सहभागी हुन्न भनेर बक्तब्य जारी गरेका थिए । उनी सुशील कोइरालाका भतिजा पनि थिए तर उनलाई तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीले कुनै कारबाही गरेनन् । सरुवा पनि गरेनन् । लोकमानसिंह कार्कीको भन्दा हालको कार्की सा’बको कालमा ‘सुशासन’ बढी देखियो ।
७. कानूनको मूल्य मान्यता सिद्वान्तको आधारमा कानुन मन्त्रालयले सुझाव सहमति दिएर तयार गरेको मस्यौदालाई प्रतिभा रावलले अस्वीकार गरेको बताइएको छ । कानुन मन्त्रालयमा बिधेयक केही समय होल्ड पनि भएको हो । तर प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्री प्रतिभा रावलले जबर्जस्ती आफूले र स्वार्थ समूहबाट तयार गरेको मस्यौदामा हस्ताक्षर गर्न लगाएर संघीय मन्त्रालयमा ल्याएर मन्त्रिपरिषदमा ल्याएको सूचना सबैलाई थाह भइसकेको छ ।
कानून मन्त्री सोबिता गौतमले पनि प्रधानमन्त्री कार्यालयको दबाबमा परी मस्यौदामा हस्ताक्षर गर्न दबाब दिएको बुझिएको छ । यो ऐन लागू भएमा कानूनका उच्चपदस्थ अनुभवी धेरै कर्मचारी जानेछन् जबकि कानून मन्त्रालयले यो बर्षमा कानून धेरै बनाउने बार्षिक कार्यतालिका जारी गरेको छ । कानुन बनाउन अनुभवी कर्मचारीको आवश्यकता पर्दछ नै ।
८. श्रीमान मुख्यसचिवकै नेतृत्वमा सुशासनको ब्लुप्रिन्ट जारी भएको हो । सुशासन भनेको बिधिको शासन हो । सुशासन सबैलाई सुनिश्चित हुनुपर्दछ । तत्कालीन ऐनअनुसार राज्यसँग करार सम्झौता गरी जागिर खाएका कर्मचारीलाई गोर्खे लौरी लगाएर घर भगाउनु ‘सुशासन’ हो भने भन्नु केही छैन ।
बिधिको शासन कायम गराउने काम मुख्यसचिवको हो । निजामती कर्मचारीको अभिभावक मुख्यसचिव हो । विगतका तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी, तत्कालीन सचिव दिनेश थपलिया, तत्कालीन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनको समयमा दिएको पीडाको आँशु सेलाउन नपाउँदै वर्तमान मुख्यसचिव कार्की साब र भाइरल अति ‘लोकप्रिय’ मन्त्री प्रतिभा रावलले दिएको पीडा कहिल्यै नमेटिने भयो ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend