Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • देश संकटमा, जनता पीडामा, मन्त्री र सांसद मस्किँदै डिनरमा !


    शनिबार, भाद्र १३ २०८३
    145
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • अनुसा थापा 

    प्रधानमन्त्री देशको अभिभावक हुन् । आफ्ना नागरिकलाई प्रधानमन्त्रीले समान व्यवहार गर्नुपर्छ । तर, प्रधानमन्त्री बालेन्द्र साहका केही व्यवहारले गम्भीर प्रश्न उठाएको छ । बालेन्द्रले देश बनाउँछन् भन्ने भारी अपेक्षासहित जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई नजिक पुर्याए ।

    उनलाई प्रधानमन्त्री बनाउनकै निम्ति जनताले कतिपय रास्वपाको उम्मेदवार ठीक नलाग्दा नलाग्दै १ सय ८२ सिट दिए । पहिलो पार्टी बनाए । जनताको चाहनाअनुसार नै उनी प्रधानमन्त्री बने । उनको काँधमा जनताले दिएको जिम्मेवारीको भार छ । उनले गर्नुपर्ने काम धेरै छन् । तर, प्रधानमन्त्री साहले आफ्नो जिम्मेवारी बिर्सिएको देखियो ।

    चुनावपछि पहिलोपटक सदनमा जाँदा उनले गोल्डस्टारको जुत्ता लगाएका थिए । उनले गोल्डस्टारको जुत्ता लगाउनु गलत होइन, तर प्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा बसेका कुनै व्यापारीको उत्पादन प्रचार गरिदिनु गलत हो । गोल्डस्टारको मालिक विदूषी राणा समानुपातिक कोटाबाट सांसद छिन् ।

    उनको जुत्ता लगाइदिएको भनि प्रधानमन्त्रीले प्रचार गरे, सँगै हात पनि मिलाए । प्रधानमन्त्रीले उनको जुत्ताको प्रचार गरिदिए । गम्भीर प्रश्न के भने, प्रधानमन्त्रीको नजरमा सबै उद्योगी एकै हुनुपर्ने होइन र ? कुनै निजी व्यापारीको सामानको प्रचार गरेर यो किन भन्न मिल्छ ?

    कुनै पनि उद्योग, कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर बनाउने कलाकारलाई हो । प्रधानमन्त्री कलाकार होइनन्, ब्राण्डको प्रचार गर्नका लागि । तर, त्यहाँ प्रधानमन्त्रीले आफ्नो पदको गरिमा नै बिर्सिए । प्रधानमन्त्री साहले सरकारी स्तरको डीडीसीको पनि प्रचार गरे । अहिले त्यसको व्यापार बढेको छ ।

    सरकारी, सार्वजनिक संस्थान सरकारको भएकाले प्रधानमन्त्री साहले त्यसको प्रचार गर्नुमा कुनै समस्या रहेन । तर, निजी क्षेत्रमा प्रधानमन्त्रीले त्यसो गर्न सुहाउँदैन । सांसद विदूषी राणा सरकारबाट फाइदा उठाउने दाउमा देखिन्छन् । यसको एउटा उदाहरण उद्योगी–ब्यापारीसँग प्रधानमन्त्री वालेन्द्र शाहसँगको वार्तालाप हो ।

    उद्योगी–व्यवसायीसँग सर्वप्रथम अर्थमन्त्रीले छलफल गर्ने हो । तर, अर्थमन्त्रीलाई बाइपास गरेर उनले उद्योगी–व्यवसायीलाई प्रधानमन्त्री साहकहाँ लिएर गइन् । उनको व्यापक चर्चा भयो । प्रश्न उठ्छ–उद्योगीसँग कुरा गर्न प्रधानमन्त्री सांसदमार्फत् जानुपर्छ र ? पहिले अर्थमन्त्रीसँग कुरा गराएर आफूकहाँ बोलाएको भए भइहाल्थ्यो ।

    नत्र आफैं बोलाउन सकिहाल्थें । उनले प्रधानमन्त्री आफ्नोनिकट छन् भन्दै गलत फाइदा उठाइन् भने त्यसको जिम्मेवार को हुन् ? पदमा पुगेको व्यक्तिलाई जो पनि प्रयोग गर्न खोज्छन् । प्रयोग नहुने आफैं सचेत हुनुपर्छ । पुराना दलहरु आफ्ना आसेपासेले भनेको मात्र सुन्दा आज यो अवस्थामा पुगेको प्रधानमन्त्री साहलाई जानकारी छँदैछ ।

    त्यसैले प्रधानमन्त्री सतर्क रहन आवश्यक छ । राजनीतिक परिवर्तनमा राणाको कुनै योगदान छैन । उनी व्यापारी हुन् । व्यापारीले हेर्ने भनेकै नाफा हो । उपभोक्ता ठगेर र श्रमको मूल्य नदिएर उद्योगीहरुले कमाइरहेका छन् । उनले पनि त्यसै गरेकी छिन् कि ? बरु छानबिन गरौं न ।

    देश बाढी आएर रोइरहेको छ, सयौंको ज्यान गएको तथ्यांक आइसक्यो, हजारौंको अत्तोपत्तो छैन । यो संख्या बढेर कति पुग्ने हो । हजारौं जनताको बिचल्ली भएको छ । यस्तोमा उनी डिनर पार्टीमा मख्ख छिन् । अझै फोटो खिचाउँछिन् । अर्थमन्त्री, उनीसहितको टोली मस्किँदै डिनर खाइरहेको तस्बिर भाइरल छ । देश रोएको बेला जिम्मेवार पदाधिकारी होटलमा गएर डिनर पार्टी गर्न मिल्छ ?

    स्कूलका विद्यार्थीले आफ्नो खाजाको पैसाबाट पाँच–पाँच रुपैयाँ कटाएर बाढी पीडितलाई सहयोग गरिरहेका छन् । अर्थमन्त्री र सांसदको पारा भनेको यस्तो छ । जनताले यही हेर्नको लागि रास्वपालाई भोट दिएको हो र ? अब जनताले मतदान गर्नुअघि सोच्नुपर्छ । पार्टी होइन, उम्मेदवारको क्षमता हेर्नुपर्छ ।

    देशमा भएको यो क्षतिले जनताको आँखा रसाइरहेका छन् । जनता सहयोगमा जुटेका छन् । जनता भोकै छन्, उनीहरु डिनर पार्टीमा रमाउँछन् । जनता हरेकपल्ट यो पार्टीले गर्ला, त्यो पार्टीले गर्ला भनेर मतदान गर्छन् । जनताको आशामा सँधै पानी फेरिन्छ । पदमा पुगेकाहरु रमाउँछन्, जनतासँग गरेको बाचा बिर्सिन्छन् ।

    यस्ताले देश बनाउलान् भनेर जनताले कल्पना गर्नु बेकार छ । बाढीपीडितले पानी खान नपाएको अवस्थामा यता रास्वपाका नेता तोयनारायण पौडेल मासु नपाएको भन्दै गुनासो पोखिरहेका थिए । यस्ता पनि मन्त्री, सांसद र नेता ? देश संकटमा छ, यस्तोमा मासु पाइएन भन्दै गुनासो गर्न सुहाउँछ ?

    भिडियो बनाउन नैतिकताले दिन्छ ? मासु खाने भए चुपचाप खाने हो, सकियो । दुनियाँलाई किन देखाइरहनुपर्यो ? बाढी पीडितलाई सहयोग नगर्ने अनि मासु पाइएन भन्दै कराउने । यो देशलाई संकट परेको बेला हो । सबै एकजुट भयो भने मात्र देश बन्न सक्छ । तर, कसैमा त्यो सोच देखिएन ।

    वर्तमान सरकारको मन्त्रिमण्डलमा सबै हुनेखाने छन् । तर, एक महिनाको मात्रै तलब छोड्ने घोषणा गरे । उनीहरु तलबको आवश्यकता भएका मान्छे त होइनन् । एक बर्षको तलब दिँदा पनि केही फरक पर्दैनथ्यो । सांसदहरुले पनि सेवासुविधा छोड्दा हुन्थ्यो । सरकारी कर्मचारीहरुले दुईदेखि १० दिने तलब छोड्ने निर्णय गरेका छन् ।

    एक महिनाको तलब छोड्दा के जान्छ ? एक महिना तलब नदिँदा मरिन्न नि । पेन्सन बुझ्नेहरुले एक महिनाको छोडिदिए, बाढीपीडितलाई ठूलो राहत पुग्थ्यो । भूपू राष्ट्रपतिलगायतले पनि सरकारबाट सेवासुविधा लिइरहेका छन् । उनीहरु त्यति त छोड्न सक्छन् त ।

    यही देशले रामवरण यादव, विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनायो । यिनै जनताले उनीहरुलाई मतदान गरेर त्यहाँ पुर्याए । देश छ र हामी छौं । तर, देश संकटमा भएको बेला कोही चुइँक्क बोल्दैनन् । देशका लागि यहाँ कोही केही छोड्दैनन् । देशमा सामाजिक सुरक्षा भत्ता खाने लाखौंमा छन् ।

    उनीहरुले पनि एक महिनाको नलिने घोषणा गर्ने हो भने करोडौं रुपैयाँ जोगिन्छ । त्यो पैसा बाढीपीडितको राहत र पुनःस्थापनामा प्रयोग गर्न सकिन्छ । जेमा पनि विदेशीको मुख ताकेर मात्र हुँदैन, आफूले पनि छोड्न सिक्नुपर्छ । अरु देशले आफ्नो देश आफैं बनाएका छन्, माटोबाट उठेर अहिले कहाँ पुगेका छन् ।

    बाढी प्रभावित बेत्रावतीदेखि माथि टिमुरेसम्मको अवस्थाबारे अहिलेसम्म केही तथ्य आएकै छैन । बेत्रावती पारी सरकार पुग्न सकेको छैन । नुवाकोटको मैथिल ब्यारेकसम्म मात्र सीमित भएर प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक संजालमा लेखेर सबैतिर पुगेको जस्तो गरिरहेका छन् । बेत्रावतीमै सरकारको उपस्थिति नभएको बिषयमा ध्यानाकर्षण गराउँदा रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याललाई गृहमन्त्रीका मानिसहरुले धम्की दिएको समाचार आएको छ ।

    त्यसैले यो देश बनाउने पनि हामीले नै हो । अरु आएर बनाइदिन्नन् । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । भदौ २३ र २४ गते त्यत्रो आन्दोलन भयो । ठूलो धनजनको क्षति भयो । जनताले परिवर्तनको अपेक्षा राखे । तर, के भयो ? नयाँ भनाउँदो रास्वपा पनि पुरानै सरकारको बाटोमा गयो ।

    देश र जनताले रास्वपालाई ठूलो जनमत दिएर जिताए तर परिवर्तन हुन सकेन । जनताले दिएको १८२ सिट वालुवामा पानी हालेसरह बन्यो । न आपत पर्दा जनताले सरकार र सांसद भएको महसुश गरे न कसैले आफ्नो सेवासुविधा नै त्यागे । जुन जोगी आएपनि कानै चिरेको अवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार