Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • विपत्तिमा हवाईसेवाको ब्रम्हलुट : ६ हजारको टिकट १० हजार पुर्याए


    बिहिबार, भाद्र ११ २०८३
    140
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । चीनको हिमताल फुटेर रसुवामा आएको बाढीले सयौं मानिसको मृत्यु भएको र हजारौं नागरिक घरबारबिहीन भएका र हराइरहेका बेला हवाई कम्पनीहरुले भने चर्को भाडा बृद्धि गरेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोटको बेत्रावती र धादिङका ४० भन्दा बढी मोटरवेल पुल बगाएकाले सडक यातायात अवरुद्ध भएको फाइदा हवाइ कम्पनीहरुले लिन खोजेको आरोप छ ।

    राष्ट्रमा महाविपत्ति आएका बेलामा हवाई कम्पनीहरुले दोब्बर तेब्बर भाडा बढाएर लुट मच्चाएको गुनासो सामाजिक संजालमा प्रकट भएका छन् । पत्रकार प्रकृृति अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट काठमाडौँका लागि बुधबार विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइएको र यसलाई लुटको संज्ञा दिएका छन् ।

    सामाजिक संजालमा अधिकारीले लेखेका छन्–‘हवाई साधनको लूटको प्रमाण यस्तो छः हिजो वुधबार हवाई टिकट लिन लाग्दा सेकेन्ड सेकेन्डमा भाडा बृद्धि भएको देखिएको थियो । भैरहवाबाट काठमाडौँका लागि विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइयो । आज बिहीबारको लागि १० हजारसम्मको टिकट दर हिजो हेरेका थियौँ, तर किनिएन ।

    अनलाइनमा आजको टिकट सबै बिक्री भएको देखाउँछ । भोलिका लागि टिकट छ र साढे छ हजार रुपैयाँमा किन्न पाइने देखिएको छ । हिजो अपराह्न आठ हजार ६६५ रुपियाँमा टिकट खरिद गरेका थियौँ ।

    काठमाडौँ आउने गाडी रोकिएपछि भैरहवा विमानस्थलमा यात्रुको एक्कासी भीड ओइरियो । सोध्दै जाँदा हामीसँग यात्रा गर्नेहरूले झन्डै साढे नौ हजार रुपैयाँमा टिकट लिएका रहेछन् । अस्ति करिब छ हजार तीन सय रुपियाँको हुने, भोलि साढे ६ हजार रुपैयाँको हुने अनि हिजो र आज साढे आठ हजारदेखि १० हजार रुपियाँसम्ममा बिक्री गर्ने । योभन्दा लूटको धन्धा के हुन्छ ? किन एक्कासी दुई दिनका लागि टिकट दर बढाइनुपथ्र्यो ?

    इन्धनको मूल्य वृद्धि भएको थियो वा के ? बढाइएको रकमको टिकट बिक्रीपछि टिकटको भाउ बढाउन नपाउने भन्ने विज्ञप्ति जारी गरेर नौटंकी नगरे हन्थ्यो । राज्य खोइ ? प्रमाण हामीहरूका टिकट हुन् । आँट भए कारबाही गरौँ न । यो कुरा सानो होला तर नियतको कुरा ठुलो हो । कतिसम्म उपभोक्तामाथि लूट हुन्छ र राज्य टुलुटुलु हेर्छ भन्ने उदाहरण हो यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार