Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जनस्वास्थ्यमा हानी गर्ने एक्स्ट्रिमको विज्ञापनले काठमाडौं कुरुप, खाद्य प्रविधि बिभाग किन मौन ?


    बुधबार, भाद्र १० २०८३
    980
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । जनस्वास्थ्यका लागि घातक मानिने इनर्जी ड्रिङ्कको जतासुकै विज्ञापन गरिएकोमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमै बिरोध गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै राईले भने–एक्स्ट्रिम नामक इनर्जी ड्रिङ्कको काठमाडौंका बाटैभरी, पोल–पोलमा छ्याप्पछ्याप्ती ब्यानर देखिन्छ । ‘काठमाडौं सबै एक्स्ट्रिम उत्पादक कम्पनीले किनेको हो ?’ हर्क राईको प्रश्न छ–‘के सरकारका मन्त्रीहरुको पनि एक्स्ट्रिम उत्पादन गर्ने कम्पनीमा लगानी छ ? यसको उत्तर हामीलाई चाहिन्छ ?’

    सहरी सौन्दर्य नै कुरुप बनाउने र जनस्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने सूचना र विज्ञापन प्रकाशन र प्रशारण गर्न पाइँदैन । तर आकृति एडभरटाइजीङ कम्पनीले एक्स्ट्रिम नामक इनर्जी ड्रिङ्कको बिज्ञापन अंकित होडिङबोर्ड बनाएर काठमाडौं नै कुरुप बनाएको छ ।

    अधिकांश पालिकाको होडिङबोर्डको ठेक्कापट्टा सेटिङमा मिलाउँदै आकृतिले पछिल्लो समय एक्स्ट्रिमसँग सहकार्य गर्ने मौका पाएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगर र भक्तपुर नगरपालिकाका केही कर्मचारीसँग सेटिङ मिलाएर बच्चादेखि बृद्धसम्म हिंडडुल गर्ने मूख्य चोक र सडकमा एक्स्ट्रिमका विज्ञापन अंकित बोर्डहरु छ्यापछ्याप्ती राखेको छ ।

    किरानापसलदेखि सार्वजनिक यातायातका साधन, होटल, रेष्टुरेन्टका मुख्य द्वार यस्तै बोर्ड राखिएका छन् । जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भन्ने उखानलाई माथ गर्नेगरी आकृतिले एक्स्ट्रिमका होर्डिङ बोर्डहरु जताततै टाँगेको छ । करोडौंको ब्यापार पाएपछि जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने एक्स्ट्रिमको बोर्ड सार्वजनिक स्थलमा राखेर सबैले उपभोग गर्नुपर्छ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । विज्ञापन बोर्डले असार १९ गते एक परिपत्र जारी गर्दै शारीरिक वा मानसिक क्षमता बृद्धि हुने, तुरुन्त ऊर्जा प्राप्त हुने, अध्ययन, खेलकुदमा फिट हुने जस्ता अतिरन्जित र आधारहीन विज्ञापन सामग्री उत्पादन, प्रकाशन, बितरण र प्रशारण नगर्न अनुरोध गरेको छ ।

    यसैगरी, परिपत्रमा ऊर्जाशील पेयपदार्थ(इनर्जी ड्रिङ्क) तथा उच्च चिनीयुक्त पेयपदार्थको विज्ञापनमा चेतावनीमूलक संकेत समावेश गर्न निर्देशन दिएको छ । तर आकृतिले तयार गरी सडक र सार्वजनिक स्थानमा झुन्ड्याइएका बोर्डहरुमा कहीँ कतै पनि चेतावनीयुक्त सन्देशहरु राखिएको पाइँदैन । एग्रो थाई फुड्स प्रा.लि.ले एक्स्ट्रिम, म्याक्स टाइगर जस्ता इनर्जी ड्रिङ्क र स्ट्रेवरी वाटरमेलन, लेमन लाइम, ग्रेप बेरी क्यान्डी, ब्लु र्यासपबेरी, म्याङ्गो, गोभा, स्ट्रेबरी फ्लेबरका जुुसी जेली जस्ता पेयपदार्थहरु उत्पादन गर्दैआएको छ ।

    १८ बर्ष पुगेका नागरिकले मात्र उपभोग गर्न पाउने सूचना एक्स्ट्रिमको लेबलमा साना अक्षरले लेखेको झारा टार्ने काममात्र गरिएको छ । मूल बोर्डमा भने कुनै पनि उक्त ड्रिङ्क स्वास्थ्यका लागि हानीकारक छ भन्ने बिषय कहीँ कतै उल्लेख गरिएको पाइँदैन । चलचित्र हलमा जहाँ बच्चादेखि बृद्धसम्म मनोरन्जनका लागि पुग्ने गर्दछन्, त्यहाँ समेत एक्स्ट्रिमको बिज्ञापन खुलेआम गरिएको छ । सूर्तीजन्य पदार्थको उपयोग नगर्न चेतावनीमूलक सन्देश प्रवाह गर्दैआएका चलचित्र हलहरुले एक्स्ट्रिमबाट मोटो रकम पाएपछि निर्वाध रुपमा उक्त विज्ञापन प्रशारण गर्दैआएका छन् । खेलकुद क्षेत्रमा त झन् एक्स्ट्रिमको विज्ञापन अनिवार्यजस्तै गरिएको छ ।

    पालिकालाई कमाइखाने भाँडो बनाएको आकृतिले पछिल्लो समय करोडौंको ब्यापार एक्स्ट्रिमबाट पाएर जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने बिज्ञापन सहर कुरुप पार्नेगरी गर्दा पनि नियमनकारी बिज्ञापन बोर्डलगायतका निकाय किन मौन छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

    उत्पादकले आफ्नो बस्तु वा सेवाको प्रबद्र्धन गर्न नपाउने बिषय होइन, तर आकृतिले खुलेआम रुपमा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने इनर्जी ड्रिंक्सको विज्ञापन गर्दा पनि उसमाथि कारबाही गर्न कुनै निकायले हिम्मत गर्न सकेका छैन् । आकृतिका संचालक मनोज चौहानले भने–कम्पनीले विज्ञापन गर्न जिम्मा दिएपछि काम गरेका हौं । आकृतिलाई होइन, कम्पनीलाई सोध्नुुस् भन्दै फोन काटे ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन इनर्जी ड्रिङ्कमा क्याफिनको मात्रा बढी रहेको बताउँछन् । उनी भन्छन्–एक्स्ट्रिम क्याफिनको मात्रा अत्यधिक भएकाले जनस्वास्थ्यमा हानी त पुग्छ । एक्स्ट्रिमले भ्रमपूर्ण विज्ञापन गरेको महर्जनको भनाइ छ ।

    महर्जनले भने–‘भ्रमपूर्ण विज्ञापन गरी उपभोक्ता ठगी गर्ने एक्स्ट्रिमको काठमाडौंमा जताततै गरिएको विज्ञापन तत्काल रोकेर सेवनयोग्य छ कि छैन, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले परीक्षण गर्नुपर्छ । र, सेवनयोग्य भएमात्र क्याफिन र अन्य के के मिसाइएको छ, उल्लेख गरी चेतावनीमूलक संकेत राखेर मात्र बिक्रीबितरण गर्न दिनुपर्छ ।’
    फाइबरको मात्रा बढी भएको र जनस्वास्थ्यमा हानी पुग्नसक्ने इनर्जी ड्रिङ्क उत्पादन र बितरण भइरहेको, काठमाडौं नै कुरुप पार्नेगरी विज्ञापन गरिएकोबारेमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क उत्पादक कम्पनी एग्रो थाई फुड्सका व्यापार विभाग प्रमुख सोनिया रानासँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनको सम्पर्क नै प्राप्त हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार