Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • उद्योग विभागका डीजी, होटल–होटलमा बिचौलियासँग डिलमा बिजी


    शनिबार, मंसिर २९ २०८१
    2.8K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको औद्योगिक प्रबद्र्धन बोर्डको बैठकले माइक्रो ब्रुअरीको लाइसेन्सका लागि मापदण्ड पुनरावलोकन गर्नका लागि कार्यदल गठन गरेको छ ।

    केही समयअघि बसेको बोर्डको बैठकले उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालयका प्रतिनिधि रहनेगरी उच्चस्तरीय समिति बनाएको थियो । सो समितिको बैठक औपचारिक रुपमा बसेको कसैलाई पनि थाहा छैन । तर महानिर्देशक ज्ञवालीले मापदण्ड पुनरावलोकन गर्ने भन्दै केही उद्योगी ब्यवसायी र लगानीकर्ताहरुसँग छुट्टै बसेर डिल गरिरहेको स्रोत बताउँछ ।

    लगानीकर्ताहरुको स्वार्थ अनुसार मापदण्ड परिवर्तन गर्ने तयारीमा उद्योग बिभागका महानिर्देशक(डीजी) राजेश्वर ज्ञवाली नै लागेका छन् । डीजी भएको एक महिनाको बीचमा ज्ञवालीले २ पटक औद्योगिक प्रबद्र्धन बोर्डको बैठक राखिसकेका छन् । हचुवाका भरमा विनातयारी थोरै समयको फरकमा राखिएका बैठकबाट दूरगामी असर पार्ने किसिमका निर्णय भएका छन् ।

    औद्योगिक प्रबद्र्धन बोर्डको २४३ औं बैठकले ईटा उद्योगहरु मंसिर र पुस महिना बन्द गर्ने निर्णय गरेको छ । ईंटा ब्यवसायी महासंघका अध्यक्ष शंकरबहादुर चन्द मन्त्री भण्डारीका निकट मानिन्छन् । सुदूरपश्चिमका चन्दलगायतका केही ईटा ब्यवसायीहरुको ईटाको स्टक सकाउनका लागि वातावरण प्रदूषणका नाममा २ महिना ईंटा उद्योग बन्द गर्ने निर्णय महानिर्देशक ज्ञवालीले गर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ । हजारौंको रोजगारीसँग जोडिएको बिषयलाई बातावरणसँग जोडेर बन्द गर्ने निर्णय गर्दा अध्यक्ष चन्दले ठूलो आर्थिक चलखेल गरेको स्रोत बताउँछ । ईटा ब्यवसायीहरुसँग कुनै छलफल नगरी महासंघको आवरणमा चन्द जस्ता सीमित ब्यवसायीको स्वार्थ पूरा गर्नका लागि औद्योगिक प्रबद्र्धन बोर्ड प्रयोग हुनु दुःखद् हो, एक ईंटा ब्यवसायीको गुनासो छ ।

    औद्योगिक प्रबद्र्धन बोर्डको सदस्यमा राष्ट्रबैंकका गभर्नरदेखि लिएर विभिन्न मन्त्रालयका ६ जनाभन्दा बढी सचिव छन् । तर मन्त्री र महानिर्देशक ज्ञवालीको निहीत स्वार्थ पूरा गर्ने निर्णयमा मन्त्रालययका सचिवदेखि गभर्नरले आँखा चिम्लेर साथ दिएका छन् । बोर्डको बैठकमा लैजाने एजेन्डाका बारेमा मन्त्रालय र विभागमा कमैमात्र छलफल हुने गरेको छ । स्रोतका अनुसार बोर्डमा लैजाने एजेन्डाका बारेमा होटल होटलमा बिचौलियामार्फत् छलफल हुँदैआएका छन् । उद्योग विभागले उद्योग संचालन र प्रबद्र्धनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने मुख्य दायित्व हो । तर पछिल्ला दिनमा विभाग केही उद्योगीहरुलाई पोस्नका लागि सिन्डिकेटको प्रथालाई बढावा दिंदैआएको छ ।

    यसैबीच, विभागको डीजी भएको एक महिना पनि नबित्दै ज्ञवाली २ पटक विदेश भ्रमणमा गइसकेका छन् । निजी काम देखाएर उद्योग मन्त्रालयबाट बिदा लिने र उद्योगी ब्यवसायीको लगानीमा बिदेश भ्रमणमा गएको स्रोत बताउँछ । स्रोतका अनुसार तिहारअगाडि श्रीलंका, मंसिरको पहिलो साता हङकङ गएका हुन् । केही दिनभित्रै अर्को देश जाने तयारीमा उनी छन् ।

    जहाँ जहाँ ज्ञवाली, त्यहाँ त्यहाँ सेटिङ

    आफूलाई निजामती प्रशासनको अब्बल कर्मचारी बताउने ज्ञवालीले सितिमिति कर्मचारी र मन्त्रालयका सचिवसमेतलाई टेर्ने गर्दैनन् । काठमाडौैं महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा महानगरको टेकूमा निर्माण हुने भवनको ठेक्कामा समानान्तरका अच्यूतप्रसाद खरेलसँग २० करोड सेटिङमा म्ुछिएका र अख्तियारले समेत जोगाएका पात्र हुन् ज्ञवाली । निर्र्णय गर्ने तत्कालीन मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली र ठेकेदार खरेललाई जोगाएर अख्तियारले टिप्पणी उठाउने ४ कर्मचारीबिरुद्ध मात्र मुद्दा दायर गरेकोमा चौतर्फी आलोचना भएको थियो ।

    महानगरको भवन समानान्तर निर्माण सेवाले मात्र पाउनेगरी स्पेसिफिकेसन बनाएर अरु ठेकेदारलाई सेटिङमा अयोग्य(डिस्क्वालिफाई) गरिएको थियो । अरु ठेकेदारलाई अयोग्य बनाएर समानान्तरलाई लागत स्टीमेट अनुसार नै ७० करोडमा ठेका दिइएको थियो । अरु ठेकेदारहरुले ५० करोडमा निर्माण हुने भवन प्रतिस्पर्धालाई सीमित गराएर ७० करोडमा दिएर २० करोड भ्रष्टाचार गरेको बिषयमा अदालत समेत गुहारेका थिए ।

    त्यसो त सिंचाई मन्त्रालयको उपसचिव हुँदै तत्कालीन सिंचाई मन्त्री रघुवीर महासेठको निजी सचिव भएका थिए । नेपाली कांग्रेसनिकट कर्मचारी उनलाई निजी सचिव बनाएकोमा महासेठको निजामती कर्मचारी संगठनले असन्तुष्टि प्रकट गरेको थियो । महासेठ जहिले जहिले मन्त्री हुन्छन् ज्ञवाली उनको मन्त्रालयमा सरुवादेखि ठेक्कापट्टाको सेटिङका लागि लगिने गरेका छन् । २०७५ मा महासेठ भौतिक पूर्वाधार मन्त्री हुँदा पनि ज्ञवाली मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको रुपमा उनका विश्वासपात्र थिए । आन्तरिक राजस्व विभागको महानिर्देशक हुनका लागि अर्थमन्त्रालयमा प्रवेश गरेका उनको मनसुवा पूरा हुन नसकेपछि उनी उद्योग मन्त्रालयतिर लागेका थिए । निजामती प्रशासनमा सेटिङमा कहलिएका ज्ञवाली उद्योग बिभागमा गएपछि पनि चलखेल गर्नेमै ब्यस्त छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार