Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ज्ञवाली बाणिज्य बिभागको डीजी भएपछि बजार अनुगमन ठप्प, कालाबजारियामा खुसियाली


    शुक्रबार, भाद्र १३ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीकै चाहनाबमोजिम सहसचिव रोशन ज्ञवालीलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको महानिर्देशक बनाइएको छ । तीन महिना पनि जागिर अवधि नभएका कुमारप्रसाद दाहाललाई नियमबिपरीत हटाएर ज्ञवालीलाई बाणिज्य पठाइएको हो ।

    निजामती सेवा नियमावलीमा एक बर्षभन्दा कम जागिर अवधि नभएका कर्मचारीलाई कार्यरत कार्यालयबाट सरुवा गर्न पाइँदैन । यो नियम दाहालको हकमा लागू हुन सकेन । २ महिनाअघिमात्र उद्योग बिभागमा प्रवेश गरेका रोशन ज्ञवाली लघु घरेलु तथा साना उद्योग केन्द्रको प्रमुख थिए ।

    दुई महिनामै उनी बाणिज्य बिभागको महानिर्देशकमा हुन सफल भएका छन् । बाणिज्य बिभागको महानिर्देशकमा जानका लागि मन्त्रालयका केही सहसचिवहरुले इच्छा देखाए पनि अन्ततः मन्त्री दामोदर भण्डारीले रोशन ज्ञवालीलाई पठाएका हुन् ।

    मन्त्री भण्डारी अरुको कुरामा विश्वास गरेकै भरमा बिभाग र कार्यालय प्रमुख बनाउँदैआएका कारण एकपछि धोका पाउँदैआएका छन् । अझै चेत नफिरेका मन्त्री भण्डारीले रोशनलाई बाणिज्य बिभाग पठाएर कच्चा खेल खेलेको मन्त्रालयभित्र चर्चा छ । नजिकिंदै गरेको चाडबाडका बेला बजार नियन्त्रण गर्न बाणिज्यको भूमिका प्रभावकारी हुनुपर्दछ । तर स्थानीय तह चलाएर आएका ज्ञवालीले बाणिज्यलाई चलायमान बनाउन सक्ने क्षमता देखिंदैन ।

    केही ब्यापारीक पृष्ठभूमिका बिचौलियाहरुको चाहनाअनुसार त्यहाँ पुगेका रोशन बिभाग सम्हालेपछि दाहालको कार्यकालको तुलनामा एक तिहाई पनि अनुगमन हुन सकेको छैन । दाहालले बिभागको उचाई शिखरमा पुर्याएका थिए । तर ज्ञवाली आएपछि बिभाग राजन पौडेल र तीर्थ चिलुवालको भन्दा पनि कमजोर बन्ने संकेत देखिइसकेको छ ।

    कम्पनी रजिष्टार कार्यालयबाट एकमुष्ट पठाइएका कर्मचारीहरुलाई ज्ञवालीले बजारमा गएर मोलमोलाईलाई महानिर्देशकले नै छुट दिएका छन् । हरेक बस्तु तथा सेवामा एमआरपी लागू गर्न खोजेका दाहालको अभियानलाई ज्ञवालीले महत्व नदिएपछि कालाबजारियाहरु खुसी भएका छन् ।

    केही उपभोक्तावादी संघ संस्थासँग मिलेर एमआरपीलाई असफल बनाउन लागेका डीजी ज्ञवालीलाई बाणिज्य बिभागमा लैजानमा मन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टको पनि जोडबल रहेको छ ।

    मन्त्री भण्डारीले अरुको विश्वास गरेका उद्योग बिभागका महानिर्देशक ज्ञवालीबाट सोचे अनुसार प्रगति हासिल गर्न सकेका छैनन् । केही उद्योगीहरुसँग सेटिङ गरेर बिभागको कामकारबाही गर्दै आएका राजेश्वर उद्योगीहरुकै लगानीमा विदेश यात्रा गर्दैआएका छन् । केही दिनअघि केही उद्योगीकै प्रायोजनमा अमेरिका यात्रा तय गरेकाले उनले अन्तिममा गएर स्थगित गरेका थिए । यसअघि माल्टा, जापान, अष्ट्रेलिया जस्ता देशमा उद्योगीकै लगानीमा घुमफिर गरिसकेका छन् ।

    औद्योगिक प्रबद्र्धन बोर्डबाट एक दर्जन क्रसर उद्योगलाई सेटिङमा अनुमति दिलाएको आरोप पनि ज्ञवालीमाथि लाग्दैआएको छ ।   छोटो समयमै बिभागका महानिर्देशक र मन्त्रालयका सहसचिवहरुको परिवर्तनले उद्योग मन्त्रालयको छविमै प्रश्न उठ्न थालेको छ । भण्डारीले कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा हुमकला पाण्डेलाई ल्याएका छन् । उद्योग बिभागको महानिर्देशक बन्न खुट्टा उचालेकी पाण्डे यसअघि नीति योजना महाशाखाको प्रमुख थिइन् ।

    कर्मचारी प्रशासन शाखाको प्रमुखमा लक्ष्मी शाही आएपछि उनकै योजनाबमोजिम पाण्डेलाई महाशाखाको प्रमुख बनाइएको चर्चा पनि उद्योग मन्त्रालयमा हुने गरेको छ । रमिला भण्डारीलाई अर्कोतिर धकेलेर कर्मचारी प्रशासन शाखामा पुगेकी लक्ष्मी शाही दशैंलगत्तै उद्योग बिभागमा सरुवा हुने दाउमा छिन् ।

    उद्योग बिभागबाट आएका शाखा अधिकृत दुर्गादत्त भट्ट अहिले कर्मचारी प्रशासन शाखामा छन् । उनी कांग्रेसनिकट भए पनि मन्त्रीकै भेगका भएकाले उद्योगमा राम्रो ठाउँ पाएका छन् । उनी पनि केही दिनभित्रै उद्योग बिभागमा फड्को हान्ने तयारीमा छन् । मन्त्री भण्डारीले आफैंले रोजेर ल्याएका सहसचिव छबिन्द्र पराजुलीलाई ६ महिना पनि नपुग्दै कर्मचारी प्रशासन महाशाखाबाट हटाएका छन् । लघु घरेलु तथा साना उद्योग केन्द्रबाट मन्त्रालयमा सरुवा गरिएका पराजुली कर्मचारी प्रशासन महाशाखा प्रमुख थिए ।

    काम नगर्ने सहसचिवको उपाधी पाएका पराजुलीले मन्त्रीकै निर्देशन नमान्ने क्रम बढेपछि उनी अहिले तथ्यांक कार्यालयमा काजमा खटिएका छन् । मन्त्री भण्डारीले आफ्नो कार्यकक्षमा प्रवेश रोक लगाउँदा पनि पराजुली रमाना नलिई बसेका थिए । जबर्जस्ती नै गरेपछि उनी रमाना लिएर कर्मचारीका लागि कालापानी मानिने तथ्यांक कार्यालयमा पुगेका छन् । जुन कार्यालयको प्रमुखमा यसअघि बाणिज्य सचिवबाट मन्त्री भण्डारीले नै खेदेका मधुसुदन बुर्लाकोटी कार्यरत छन् ।

    अरुको इशारामा चल्दैआएका मन्त्री भण्डारीले उद्योग बिभागका निर्देशक सोम गौतमलाई भने सुनपानी छर्केर राखेका छन् । ट्रेडमार्क शाखामा हुँदा उद्योगीहरुसँग फाइलैपिच्छे अतिरिक्त असुली गरेका गौतमलाई पुरस्कृत गरेर अनुमति शाखाको निर्देशक बनाइएको छ । महानिर्देशक राजेश्वर ज्ञवालीले एमालेनिकट हो भनेर मन्त्रीलाई गुमराहमा राखी गौतमलाई अनुमति शाखाको प्रमुखमा लगेका छन् । फाइल गनेर असुल्ने गौतम बिगतमा कांग्रेसनिकट हुँदै लाभ लिंदैआएका कर्मचारी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार