Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मधेस सरकारबाट बाहिरियो नेकपा, चार मन्त्रीद्वारा राजीनामा


    शुक्रबार, कार्तिक २१ २०८३
    80
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

    नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा। सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन् ।

    राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।

    गत असोज ३० गते नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो । अल्पमतमा रहेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएका हुन् । मधेस प्रदेश सरकारले अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ ।

    निवर्तमान ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले राजीनामा दिएको बताए । उनले सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई पछिल्लो समय देखिएको अल्पमतको समस्याको समाधानका लागि राजीनामा दिएको स्पष्ट पारे ।

    नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग जाने भन्ने विषयमा भने उनले तत्काल केही बताउन चाहेनन् । नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको समीकरण थप निर्णायक बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार