Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उद्योग बिभागमा उपसचिवदेखि डीजीसम्मको सेटिङ, उद्योगमै नटेकी फाइल सदर


    सोमबार, जेष्ठ ४ २०८३
    2.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । उद्योग बिभागका निर्देशक सुनिलकुमार यादवले उद्योगमै नगई राजस्वसँग सम्बन्धित ‘नम्स’ पास गर्ने गरेका छन् । तत्कालीन महानिर्देशक राजेश्वर ज्ञवालीका पालामा योजना, अनुगमन तथा औद्योगिक तथ्याङ्क शाखाको निर्देशक बनाइएका यादवले उद्योगीहरुसँग आफैं डिल गर्ने र डिल मिलेपछि फिल्डमै नगई उद्योगको नम्र्स पास गर्ने गरेको आरोप छ । जबकि उद्योगमै गएर निरीक्षण गरेर मात्र ‘नम्स’ पास गर्नुपर्छ ।

    यावदले उद्योगसँग डिल नमिलेमा नम्स पूरा गरेको भएको भए पनि दुःख दिने गरेका छन् । यादवको शाखा अन्तर्गत तथ्यांक अधिकृतका रुपमा पुष्प शिवाकोटी र मेकानिकल इन्जीनीयर रमेश सुतियार कार्यरत छन् । तर उनीहरुलाई थाहा नदिई नम्र्सको अन्तिम रुप दिने काम यादव आफैंले गर्ने गरेका छन् । उनी आफैं कम्प्युटरमा बसेर उद्योगमै नगई नम्स महानिर्देशककोमा पेश गर्ने गरेका छन् ।

    नम्र्स राजस्वसँग जोडिएको बिषय हो । नम्र्स घटीबढी हुँदा त्यसले राजस्वमा ठूलो फरक पर्ने गरेको छ । तसर्थ फिल्डमै नगई उद्योगीसँग सेटिङ गरी यादवले नम्स पास गर्दैआएको आरोप छ । यसअघिका महानिर्देशक ज्ञवालीसँग सेटिङ मिलाएर उद्योगहरुको नम्र्स पास गर्दैआएका यादवले वर्तमान महानिर्देशक जितेन्द्र बस्नेतलाई समेत प्रभावमा पारी त्यसलाई निरन्तरता दिन सफल हुँदैआएका छन् । अन्य कर्मचारीहरुको बारेमा भए नभएका चुक्ली लाउँदै डीजीको नजिक हुँदैआएका छन् यादव । यादवले फिल्डमै नगई नम्स पास गर्दा लिने गरेको दररेट डीजीलाई समेत बुझाएकाले नम्र्स सहजै पास हुने गरेको छ ।

    केही दिनअघिमात्र कालिका रिफाइनरी प्रा.लि. गैंडाकोटको नम्स पनि दररेट लिएर उद्योगमै नगई पास गरिएको छ । यादवले कालिका रिफाइनरीको उद्योगको उत्पादन प्रक्रियाका बारेमा निरीक्षण गर्नुपर्नेमा पाइलासमेत नटेकी सो उद्योगले जे पेश गर्यो त्यही पास गरेको आरोप छ ।

    कालिका रिफाइनरीले सनफ्लावर, सोयाबिन र तोरीको तेलको प्रशोधन र उत्पादन गरी कारोबार गर्दै आएको छ । कालिका रिफाइनरीका संचालक दीपकप्रसाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटासँग दररेट लिएर उद्योगमा आफू र मातहतका कर्मचारीलाई नपठाई नम्स पास गरेको आरोप यादवमाथि लागेको छ ।

    त्यसैगरी कमलकिशोर मालपानीको यशोदा फुड्स प्रालिको नम्स बनाउँदा पनि यादवले कुस्त लाभ लिएको आरोप छ । यशोदा फुड्सले करेन्ट र लाली चाउचाउ उत्पादन गर्दैआएको छ । जुन चाउचाउ गुणस्तरहीन र अखाद्य भनी बजारबाट फिर्ता गर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले केही दिनअघि मात्र निर्देशन दिएको छ । तर जुन ब्याचका चाउचाउ फिर्ता गर्न भनिएको छ, फिर्ता नै नगरी गुपचुप रुपमा मिलाउन मालपानी लागिपरेका छन् ।

    योजना शाखाको प्रमुखमा यादव आएपछि एक उद्योगसँग एउटा नम्र्स सम्बन्धी फाइलको २ देखि ४ लाख रुपैयाँ घुस कारोबार हुने गरेको छ । उद्योगको प्रकृति अनुसार घुस लेनदेनको दररेट तोकिएको छ । यादव योजना शाखाको प्रमुख भएपछि ५० भन्दा बढी उद्योगका नम्सका फाइल पास भएका छन् ।

    निजामती प्रशासनमा प्रथम श्रेणीका कर्मचारीमा सेटिङ कलामा ज्ञवाली अग्रपंक्तिमा आउने नाम हो । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा होस् वा भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा होस् पर्ने ज्ञवालीको सेटिङका गाथा धेरै छन् ।

    उनै ज्ञवाली उद्योग बिभागमा गएपछि सेटिङ जानेका यादवलाई नै योजनामा लगेका थिए । उद्योगीहरुसँग सेटिङमा काम गर्दैआएका यादव प्रायः महानिर्देशककै कार्यकक्षमै मात्र भेटिने गरेका थिए र छन् । महानिर्देशकलाई अरु कर्मचारीबिरुद्ध चुक्ली लगाएर नजिक हुने र समन्वय नै नगरी उद्योगका नम्सका फाइल लाभका आधारमा पास गर्ने गरिएको छ ।

    उद्योग बिभागका सबै निर्देशकहरुको समूहले सिफारिस गरेपछि मात्र महानिर्देशकले उक्त नम्सलाई सदर गर्ने प्रचलन रहिआएकोमा थियो । तर महानिर्देशकमा राजेश्वर ज्ञवाली आएपछि उनी र सुनिल यादवको मिलेमतोमा यो अभ्यास हटाइयो । र, यादवको मात्र सिफारिसमा महानिर्देशकले सदर गर्ने अभ्यास सुरु गरिएको थियो । जुन वर्तमान महानिर्देशक बस्नेतका पालामा पनि निरन्तर छ ।

    उद्योगको नम्स जस्तो संवेदनशील बिषय यादवको एक्लौटी र स्वार्थका आधारमा हुँदैआएको छ । महानिर्देशक र यादवबाहेक अरुलाई नम्सका बारेमा कुनै जानकारी नै नदिई अपारदर्शी रुपमा स्वीकृत गर्ने गरेको बिभाग स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार