Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वतन्त्रबाट जितेका मेयर नेतृत्वको बर्दिबास नगरपालिकामा भ्रष्टाचार : शीर्षक मिलाएर बीसौं लाख अनियमितता


    मंगलबार, असार ५ २०८१
    9.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • महोत्तरी । आर्थिक बर्ष २०७९–८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले अस्वभाविक खर्च गरेको देखिएको छ । महालेखा परीक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ ।

    स्वतन्त्रबाट नगरपालिकाको मेयरमा जितेका मेयर प्रल्हादकुमार क्षेत्रीको कार्यकालमा सुशासन कायम हुने अपेक्षा नगरबासीले गरेका थिए । तर उनको कार्यकालमा यसअघिको भन्दा बढी अनियमितता देखिएको छ । जुन अनियमितता महालेखा परीक्षकको प्रतिवेदनले नै ओंल्याएको छ ।

    दरबन्दी बाहिर जथाभावी कर्मचारी भर्ना

    स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३(८) मा स्थानीय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।

    तर महोत्तरीको बर्दिवास नगरपालिकाले दरबन्दी बाहिरका करार कर्मचारी नियुक्त गरी १ बर्षको अवधिमा २३ लाख ५८ हजार ६ सय ६३ रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।

    माहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको रिपोर्टअनुसार कानुनी सल्लाहकार समेत नियुक्त गरी उक्त रकम अनियमितता भएको ठहर गरेको हो ।

    कर्मचारी नियुक्तिदेखि नगरले विभिन्न शीर्षकमा अपचलन, अनियमितता र आन्तरिक राजस्वमा आर्थिक बर्ष २०७९–८० मा  व्यापक दुरुपयोग भएको देखिएको  माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।

    खाजा नास्तामा लाखौं खर्च

    आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ अनुसार खर्चको उपदेयता प्रमाणित हुनेगरी मात्र खर्च गर्नुपर्ने प्रावधान छ तर नगरले आर्थिक बर्ष २०७९–८० मा मात्र कूल आन्तरिक आयको ८ प्रतिशत खाजा, नास्ताको नाममा खर्च गरेको देखिएको छ । यो खर्च वडा कार्यालयबाहेकको हो ।

    उक्त आर्थिक बर्षमा ३ करोड ६३ लाख ७५ हजार ४८ रुपैयाँ आन्तरिक आयमध्ये २९ लाख ८ हजार ५ सय ७३ रुपैया खाजा, नास्ता र विविध शीर्षकमा खर्च गरेको माहालेखा परीक्षकको
    रिपोर्टमा उल्लेख छ । १ बर्षको अवधिमा यति ठूलो रकम खाजा नास्तामा कसरी खर्च भयो भन्ने बिषय यतिबेला नगर क्षेत्रमा चर्चा र चासोको बिषय बनेको छ । यस्लाई माहालेखा परीक्षकले सैद्धान्तिक बेरुजुको रुपमा उल्लेख गरेको छ ।

    विकास निर्माणका काममा भन्दा प्रशासनिक नाममा व्यापक खर्च

    त्यस्तै माहालेखा परीक्षकको प्रतिवेदनअनुसार  विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ जुन कुल आन्तरिक आयमध्येको ३५.९६ प्रतिशत हुन आउँछ । पदाधिकारी सुबिधामा मात्र १ करोड ३० लाख ७९ हजार खर्च भएको माहालेखा परीक्षकको कार्यालयले जनाएको छ । खर्च अधिक देखिएपछि  नगरलाई प्रशासनिक खर्च कम गरी विकास निर्माणका काम गर्न माहालेखाले सुझाव दिएको छ ।

    अनुगमनमा गरिएको खर्च अनियमित

    २०८० असार १८ गते योजनाहरु अनुगमन गरेवापत सवारीसाधन भाडा, विविध खर्च गरी  २ लाख ६८ हजार २ सय ५० खर्च लेखेको छ ।

    जुन योजनाहरुको लागत तयारी गरी भुक्तानी गरेको देखिएको छ ।  जसलाई माहालेखाले अनियमित भएको उल्लेख गरेको छ ।

    अझ नगरपालिकाको शिक्षा शाखाबाट विद्यालय अनुगमन गर्दा प्रतिवेदन नै पेश नगरी अनुगमन भत्ता लिएको खुलासा भएको छ ।

    खड्गबहादुर सिंह, भोला खड्का, युवराज पोखरेल, बुद्धप्रसाद पोखरेल र गणेशप्रसाद दाहालले १ लाख १५ हजार नियम विपरीत लिएको खुलेको हो ।

    महालेखाले उक्त रकम असुल गर्नुपर्ने र  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार कार्यान्वयन गर्न सुझाव दिएको छ ।

    सवारी इन्धनमा मात्र २३ लाख खर्च

    नगरपालिकाले इन्धनबापत मापदण्ड विपरीत १८ लाख ४५ हजार ४ सय ९१ रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

    बार्षिक २३ लाख ९२ हजार ९ सय ९१ खर्च हुँदै आएकोमध्ये उक्त रकम मापदण्ड विपरीत खर्च भएको माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।

    प्रमुख तथा उपप्रमुखले सवारीसाधन र अन्य पदाधिकारीले यातायात सुविधा बापत रकमसमेत लिएको देखिएको छ ।

    स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ अनुसार प्रमुख तथा उपप्रमुखले मासिक १ सय २५ लिटर इन्धन र चौमासिक १० लिटर मोबिल खर्च गर्न पाउने प्रावधान छ ।

    त्यस्तै कार्यालय प्रयोजनतर्फ र अन्य प्रयोजनतर्फ पनि ४४ लाख १३ हजार ८५ रुपैयाँ खर्च भएको छ जसलाई महालेखा परीक्षकको कार्यालयले अस्वभाविक र मितव्ययिता नअपनाएको ठहर गरेको छ ।

    सोझै खरिद गरेर ४७ लाख अनियमितता

    सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ ।
    त्यस्तै सार्वजनिक खरिद निमावलीको नियम ८५ मा एक आर्थिक बर्षमा एकैपटक वा पटक पटक उल्लेखित सीमाभन्दा बाहिर गएर सोझै खरिद गर्न नसक्ने व्यवस्था छ । तर नगरले ४७ लाख भन्दा बढीको सोझै खरिद गरेको छ जुन कानुनविपरित किन गरियो भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

    नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीसहितका पदाधिकारीहरुले संजय जनरल सप्लायर्स, सचिन जनरल स्टोर्स सप्लायर्स र चौधरी सप्लायर्सबाट मसलन्द तथा कार्यालय सामग्रीको नाममा ४७ लाख खर्च गरेको हुन्् ।

    तर महालेखा परीक्षकले निकालेको बेरुजु सैद्धान्तिकमात्र भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । केही बिषयहरुमा मानवीय त्रुटि हुने भएतापनि नगरले मितव्ययिता नै अपनाएको र अपनाउने उनको भनाइ छ ।

    नियम र कानूनको परिधि भन्दा बाहिर गएर काम नगरेको बताउँदै १५ सैया अस्पतालको स्वीकृतिमा ५० सैया बनाएको र सोही जिम्मेवारीअनुसार कर्मचारी राख्दा दरवन्दी वाहिर देखिएको उनको भनाइ छ ।

    अत्यावश्यक कर्मचारी राख्दा पनि दरबन्दी वाहिरको कर्मचारी राखेर खर्च भयो भन्नु तार्किक नभएको प्रमुख प्रशासकीय अधिकृत जोसीले प्रष्ट वनाए ।

    तर अन्य शीर्षकहरुमा पनि नगरले अस्वभाविक खर्च गरेको महालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ । बिशाल बस्नेत, न्युज कारखाना\

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार