काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा परेको छ । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।
मेडिकल उपकरणमा पण्डितको सेटिङ संजाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट हुने स्वास्थ्य सामग्री खरिदको सेटिङ विगत २ दशकदेखि विशाल पण्डितका दुई कम्पनी हस्पिटेक इन्टरप्राइेजज र लाइफलाइनबाट हुने गरेको छ । पण्डितका हस्पिटेक र लाइफलाइनले त उपकरणको क्षेत्रमा ७० प्रतिशत भन्दा बढी ठेक्का सेटिङमा हत्याउने गरेका छन् । उसले ४० लाख कम्पनी मूल्यको उपकरण सरकारी अस्पताललाई २ करोडमा भिडाएको समाचार बारम्बार आउने गरेका थिए ।
स्वास्थ्य सामग्री खरिदमा कसरी भ्रष्टाचार हुन्छ भन्नेबारेमा केही तथ्यहरु यस्ता छन्ः
स्वास्थ्य सामग्री खरिद गर्नुपूर्व स्पेसिफिकेसन बनाउने गरिन्छ । आपूर्ति शाखाले स्पेसिफिकेसन बनाउँदा प्रतिस्पर्धाका आधारमा गुणस्तरीय सामान खरिद गर्ने हेतुले बनाउनु्पर्ने सार्वजनिक खरिद ऐनको उद्देश्य हो । स्पेसिफिकेसन बनाउँदा सरोकारवाला आपूर्तिकर्ताहरुलाई राखी बैठक राखी छलफल गर्नुपर्ने हुन्छ । तर त्यस्तो प्रि–मिटिङ नै राख्न आपूर्ति शाखाले कहिल्यै आवश्यक नठानेको ब्यवसायीहरुको आरोप छ । स्पेसिफिकेसन बनाउँदा नै आपूर्ति शाखाका प्रमुखले सेटिङ भएका कम्पनीका सामानलाई मात्र मिल्नेगरी बनाउने गरेका छन् ।
बोलपत्र सूचना प्रकाशित भएको मितिपछिको प्रि–मिटिङमा आएका सुझावलाई बेवास्ता गर्ने गरिएको गुनासो समेत ब्यवसायीको छ । आपूर्ति शाखाका प्रमुखले कुन आपूर्तिकर्ताले बढी कमिसन दिन्छ, त्यो कम्पनीलाई प्राथमिकता दिने गरेका छन् । त्यसकै सामान लिनेगरी स्पेक बनाउँछन् ।
आपूर्ति शाखाका प्रमुखले सेटिङ भएको कम्पनीलाई ठेक्का दिन आफ्नो अनुकूलको बायोमेड इन्जीनीयर करारमा राख्ने र ती इन्जीनीयरबाट आफू अनुकूलको स्पेक तयार गर्न कानुनबिपरीत कार्य गर्न लगाउने गरेका छन् ।
स्वास्थ्य सामग्रीको मूल्य बजारभाउ भन्दा तीन चार गुणा बढी राख्ने गरिएको छ । सेटिङमा स्पेक तयार गरिसकेकाले कसले ठेक्का पाउँछ भन्ने निश्चित नै हुन्छ । प्रतिस्पर्धा नै नहुने भएपछि सेटिङ भएको कम्पनीले लागत मूल्यभन्दा धेरै कम दरमा आर्थिक प्रस्ताव पेश गर्दछ । र, उसैले ठेक्का पाउँछ । सबैभन्दा बढी यस्तो चलखेल स्वास्थ्य सामग्री खरिदमा हुँदैआएको छ ।
स्वास्थ्यमा यस्तो चलखेल गर्ने विशेष गरी हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेशनलका संचालक बिशाल पण्डित हुन् । पण्डित सरकारी अस्पतालहरूमा सेटिङ गरी १० गुणा महँगोमा स्वास्थ्य उपकरण आपूर्ति गरी अर्बपति बनेको आरोप लाग्दैआएको छ । पण्डितपछि उपकरण आपूर्तिको सेटिङ गर्नेमा लुम्बिनी हेल्थ केयरका पोष्टराज ज्ञवाली पर्दछन् ।
पण्डित र ज्ञवालीले स्वास्थ्य मन्त्रालयमा सचिवदेखि स्वास्थ्य सेवा विभागका महानिर्देशक र आपूर्ति शाखाका प्रमुखमात्र होइन, देशभरका सरकारी अस्पतालको प्रमुखसम्म सरुवाको लागि सेटिङ गर्दछन् । आफूअनुकूलको सचिव र प्रमुख लगिसकेपछि कम्पनी मूल्यभन्दा १० गुणा महंगोमा स्वास्थ्य सामग्री आपूर्ति र मर्मतको ठेक्का सेटिङमै लिने गरेका छन् । बजेट छुट्याउने अर्थमन्त्रालयमा समेत उनीहरुले सेटिङ गर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्रालय वा अन्तर्गतका सबै निकायमा सेटिङ गरी स्पेसिफिकेसनसम्म आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी बनाउन लगाउने क्षमता पण्डित र ज्ञवालीसँग रहेको छ ।
फिलिप्स ब्रान्डका मेडिकल उपकरणका आपूर्तिकर्ता होटल बसेरा बुटिकका संचालक विशाल पण्डितले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई होटलको सुविधासम्पन्न कोठा नै दिएर सबै सुविधा उलपब्ध गराउँदैआएका छन् ।
पण्डितले कसरी स्पेक बनाउँदादेखि सेटिङ गर्दछन् भन्ने दृष्टान्त स्वास्थ्य सेवा विभागले २०७६ जेठ १ मा टेण्डर गरी १२८ स्लाइसको सीटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिदका लागि टेण्डरलाई नै लिन सकिन्छ ।
यी उपकरणको टेण्डरमा पहिले नै विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजसँग सेटिङ गरी विभागले ४० लाख मूल्य पर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ करोडमा खरिद गरिएको थियो ।
आर्थिक वर्ष २०७३–०७४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का तत्कालीन उप–कुलपति गणेश गुरुङले २२ करोड मूल्य पर्ने क्यान्सरको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ४० करोडमा पण्डितको कम्पनीबाट खरिद गरेका थिए ।
गुरुङले पण्डितकै कम्पनीसँग खरिद गर्नका लागि टेण्डर सूचनामै ब्रान्ड किटान गरेर स्पेसिफिकेसन बनाएका थिए । अस्पतालले लाइफलाइनमार्फत् रु. ४० करोडमा किनेको टोमोथेरापी उपकरण २२ करोडमै खरीद गर्न सकिने भएकाले १८ करोड भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको थियो । तर अख्तियारलाई समेत पण्डितले मिलाएकाले यसमा अनुसन्धान नै हुन सकेन । वीर अस्पताललाई दिएकै टेमोथेरापी मेशीन लाइफलाइनले त्यसअघि त्रिवि शिक्षण अस्पताललाई रु। २८ करोडमै उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।
दाल चामल बिक्री गर्ने खुद्रा पसलेलाई २० प्रतिशत बढी मूल्य लिंदा कालोबजारीमा मुद्दा चलाउने सरकारले करोडौंका उपकरणमा २ सय गुणाभन्दा बढी मूल्य लिने बिशाल पण्डितलाई भने अख्तियारले समेत हरेक उजुरीमा उन्मुक्ति दिंदैआएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend