Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रसुवा पुग्यो पोषणयुक्त खानेकुरा, बाढी प्रभावित बालबालिकाको कुपोषण रोक्न ३० हजार स्याचेट


    मंगलबार, भाद्र २३ २०८३
    535
    Shares
    रसुवामा पोषणयुक्त खानेकुरा स्याचेट (RUTF) बुझ्दै कर्मचारी
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF)  रसुवा पठाएको छ ।

    बाढीका कारण खाद्य आपूर्ति तथा बालबालिकाको नियमित पोषणमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा RUTF तत्काल प्रभावित क्षेत्रमा पठाइएको हो ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, केन्द्रीय मेडिकल स्टोर, पथलैयाबाट ३० हजार स्याचेट RUTF  रसुवाका लागि पठाइएको हो । बाढीपछि बालबालिकामा कुपोषणको जोखिम बढ्न सक्ने भएकाले उपचारात्मक पोषण सामग्रीको उपलब्धतालाई मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ ।

    RUTF यसअघि मुख्यतः गम्भीर तीव्र कुपोषण (Severe Acute Malnutrition–SAM)  भएका बालबालिकाको उपचारमा प्रयोग हुँदै आएको थियो। तर विपद्का कारण खाद्य असुरक्षा बढेको अवस्थामा मध्यम कुपोषण (Moderate Acute Malnutrition–MAM)  भएका तथा कुपोषणको जोखिममा रहेका बालबालिकालाई समेत आवश्यकता र स्वास्थ्य मापदण्डअनुसार पोषण सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।

    मन्त्री मेहताले विपद्का कारण कुनै पनि बालबालिका खानाको अभाव वा पोषणको कमीका कारण कुपोषणको सिकार हुन नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषण सामग्रीको आपूर्ति तत्काल सुनिश्चित गर्न निर्देशन दिएकी हुन् ।

    बाढी प्रभावित क्षेत्रमा कुपोषणसँगै झाडापखाला, हैजा तथा अन्य पानीजन्य र सरुवा रोगको जोखिम समेत रहने भएकाले बालबालिकाको पोषण अवस्था र स्वास्थ्यको नियमित निगरानी आवश्यक रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

    ३० हजार स्याचेट RUTF  रसुवा पठाइनुले बाढी प्रभावित बालबालिकाको पोषण सुरक्षा बलियो बनाउन तथा कुपोषणको अवस्था बिग्रन नदिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार