काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा रहेका जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री मेहताले विशेषगरी झापा र कैलालीमा जेईविरुद्ध लक्षित विशेष खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।
स्वास्थ्य क्षेत्रको पछिल्लो सार्वजनिक विवरणअनुसार नेपालमा यस वर्ष हालसम्म ८० जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।
संक्रमण २५ जिल्लाका ५९ स्थानीय तहमा देखिएको छ। पुष्टि भएका संक्रमितमध्ये करिब ८६ प्रतिशतले जेईविरुद्धको खोप नलिएको पाइएको छ ।
संक्रमण र मृत्युको अवस्थालाई गम्भीरतापूर्वक लिँदै खोप नलिएका तथा उच्च जोखिममा रहेका नागरिकको पहिचान गरी तत्काल खोपको दायरामा ल्याउन मन्त्री मेहताले निर्देशन दिनुभएको हो ।
झापा र कैलालीलाई विशेष प्राथमिकता
पछिल्लो समय झापा र कैलालीमा जेई संक्रमण तथा मृत्युका घटना देखिएपछि यी दुई जिल्लालाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालनको तयारी गरिएको हो ।
उपलब्ध जिल्लागत विवरणअनुसार झापा जेईबाट बढी प्रभावित जिल्लामध्ये एक हो। जिल्लामा १० भन्दा बढी संक्रमित भेटिएको र ६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । कैलालीमा पनि संक्रमण तथा मृत्युका घटना देखिएपछि जिल्लालाई उच्च जोखिममा राखेर लक्षित खोप अभियान सञ्चालनको तयारी गरिएको छ ।
अभियान सञ्चालन गर्दा संक्रमणको संख्या मात्र नभई मृत्युको अवस्था, उमेरगत जोखिम, खोपको अवस्था, स्थानीय संक्रमणको फैलावट तथा जोखिममा रहेको जनसंख्यालाई समेत आधार बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८६ प्रतिशत संक्रमित खोप नलिएका
यस वर्षको जेई संक्रमणमा देखिएको महत्वपूर्ण पक्ष संक्रमितमध्ये ठूलो संख्या खोप नलिएका व्यक्तिहरू हुनु हो ।
उपलब्ध विवरणअनुसार पुष्टि भएका संक्रमितमध्ये करिब ८६ प्रतिशतले जेईविरुद्धको खोप नलिएको पाइएको छ । यसले विगतमा खोपको पहुँचबाट बाहिर रहेका तथा आफ्नो खोप अवस्था यकिन नभएका व्यक्तिको पहिचान गरी उनीहरूलाई खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता देखाएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
नेपालमा नियमित तथा अभियानमुखी खोप कार्यक्रममार्फत् बालबालिकामा जेईको जोखिम घटाउँदै आए पनि पछिल्ला वर्षमा वयस्क उमेर समूहमा समेत संक्रमण र मृत्यु देखिन थालेपछि जोखिममा रहेका वयस्कलाई समेत लक्षित गर्नुपर्ने अवस्था आएको हो ।
३० वर्षमाथिका खोप नलिएकालाई प्राथमिकता
स्वास्थ्य मन्त्रालयले तयार गरेको ‘जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन मार्गदर्शन, २०८३’ ले रोगको भार, संक्रमणको अवस्था र जोखिमका आधारमा लक्षित खोप अभियान सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
मार्गदर्शनअनुसार विशेषगरी ३० वर्षभन्दा माथिका खोप नलिएका वा खोप अवस्था यकिन नभएका व्यक्ति, स्वास्थ्यकर्मी तथा अन्य उच्च जोखिममा रहेका जनसंख्यालाई अभियानमा प्राथमिकता दिने तयारी गरिएको छ ।
मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले झापा र कैलालीमा स्थानीय तह तथा वडास्तरमा जोखिममा रहेका जनसंख्याको पहिचान गरी आवश्यक खोप, जनशक्ति तथा खोपजन्य सामग्रीको व्यवस्थापन गर्ने तयारी अघि बढाएका छन्।
बाढी प्रभावित क्षेत्रमा Cholera, Td, TT / MR खोप सेवा निरन्तर
यसैबीच, पछिल्लो बाढी तथा विपद्बाट प्रभावित जिल्लामा संक्रामक रोगको जोखिम न्यूनीकरण तथा नियमित खोप सेवा प्रभावित हुन नदिन विभिन्न खोप कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै हैजा (Cholera) विरुद्धको खोप उपलब्ध गराउने तथा आवश्यक जनस्वास्थ्यका उपाय अघि बढाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त हैजाविरुद्धको खोप जोखिममा रहेका प्रभावित समुदायमा आवश्यकताका आधारमा प्रयोग गर्ने तयारी गरिएको छ ।
त्यस्तै, बाढी तथा विपद्का क्रममा चोटपटक लागेका तथा खुला घाउ भएका व्यक्तिमा टिटानस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै Td तथा TT खोप सम्बन्धित व्यक्तिको खोप अवस्था र आवश्यकताअनुसार उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई परिचालन गरिएको छ ।
बाढीका कारण नियमित खोप छुटेका बालबालिकालाई पहिचान गरी MR (Measles-Rubella) लगायत छुटेका नियमित खोप सेवा पुनः सञ्चालन तथा निरन्तरता दिन पनि मन्त्रालयले जोड दिएको छ ।
मन्त्री मेहताले विपद्का कारण कुनै पनि नागरिक आवश्यक खोप सेवाबाट वञ्चित हुन नदिन प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गरी खोप सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।
जेई किन खतरनाक छ ?
जापानिज इन्सेफ्लाइटिस (Cholera) जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। धेरै संक्रमितमा लक्षण नदेखिए पनि गम्भीर अवस्थामा भाइरसले मस्तिष्कमा असर पुर्याउँदा उच्च ज्वरो, टाउको दुख्ने, चेतनामा परिवर्तन, झट्का आउने, पक्षघात, कोमा र मृत्युसम्म हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार गम्भीर जेई भएका बिरामीमा मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्छ । बाँचेकामध्ये करिब ३०–५० प्रतिशतमा दीर्घकालीन स्नायु, बौद्धिक वा व्यवहारसम्बन्धी समस्या रहन सक्ने जोखिम हुन्छ ।
जेईका लागि विशेष एन्टिभाइरल उपचार उपलब्ध नभएकाले रोग लाग्नुअघि नै खोपमार्फत रोकथाम गर्नु सबैभन्दा महत्वपूर्ण उपायमध्ये एक मानिन्छ ।
रोग लागेपछि उपचारभन्दा रोकथाममा जोड
यही जोखिमलाई ध्यानमा राख्दै मन्त्री मेहताले संक्रमण तथा मृत्युदर बढी देखिएका क्षेत्रमा ढिलाइ नगरी आवश्यक खोप, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।
‘रोगको भार र मृत्युदर बढी देखिएका ठाउँमा तत्काल लक्षित हस्तक्षेप आवश्यक छ । खोपको माध्यमबाट संक्रमण र मृत्यु दुवै घटाउन सकिने भएकाले उच्च जोखिममा रहेका नागरिकलाई समयमै खोपको पहुँचमा ल्याउनुपर्छ’ मन्त्री मेहताको निर्देशनको भाव रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
खोपसँगै रोग निगरानी र जनचेतना
स्वास्थ्य मन्त्रालयले जेई नियन्त्रणलाई खोप अभियानमा मात्र सीमित नगरी रोग निगरानी, शंकास्पद बिरामीको शीघ्र पहिचान, परीक्षण तथा उपचार, जनचेतना र लामखुट्टेको टोकाइबाट बच्ने उपायलाई समेत सँगसँगै अघि बढाउने तयारी गरेको छ ।
विशेषगरी पानी जम्ने स्थान, धानखेत तथा लामखुट्टेको प्रजननस्थल आसपास बसोबास गर्ने समुदायमा जोखिम न्यूनीकरणका उपायबारे जनचेतना अभिबृद्धि गर्ने योजना अघि सारिएको छ ।
आवश्यकताअनुसार अन्य जिल्लामा पनि अभियान विस्तार
झापा र कैलालीमा देखिएको संक्रमण तथा मृत्युको अवस्थालाई गम्भीरतापूर्वक लिँदै तत्काल लक्षित खोप अभियान सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य उच्च जोखिम भएका जिल्लामा समेत अभियान विस्तार गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।
मन्त्रालयको रणनीति ‘रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिनू’ भन्ने जनस्वास्थ्यको मूल अवधारणामा केन्द्रित छ । खोप, प्रभावकारी रोग निगरानी, शीघ्र उपचार, जनचेतना र लामखुट्टे नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाएर जापानिज इन्सेफ्लाइटिसबाट हुने संक्रमण, गम्भीर जटिलता र मृत्यु घटाउने लक्ष्य सरकारले लिएको छ ।
जनताको स्वास्थ्यप्रति सचेत र संवेदनशील रहँदै मन्त्री मेहताको निर्देशनमा बाढी तथा विपद् व्यवस्थापन, हैजा नियन्त्रण, Td/TT तथा MR खोप सेवा, नियमित खोप कार्यक्रम र जापानिज इन्सेफ्लाइटिसविरुद्धको विशेष अभियानलाई समानान्तर रूपमा अघि बढाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । बार्षिक २२ देखि २५ अर्ब रुपैयाँ कारोबार भएका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिका मालिक कमलकिशोर मालपानी र उनका छोरा नितेश...
काठमाडौं । बाढी तथा पहिरोका कारण हैजाको जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै जनताको स्वास्थ्यप्रति सचेत तथा संवेदनशील स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गर्ने मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जनाउपर अख्तियार दुरुपयोग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend