Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सिटी स्क्वायर मलका संचालक गुप्तलाल भूसालबिरुद्ध पक्राउ पूर्जी जारी


    आइतबार, कार्तिक ३० २०८३
    115
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलका संचालक रोशन भन्ने गुप्तलाल भूसालबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पक्राउ पूर्जी जारी गरेको छ ।

    बिभागले असोज अन्तिम साता भूसाललाई पक्राउ अनुमति लिएको बताइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागका एक अधिकारीका अनुसार भूसालबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तर उनी पक्राउ भने परेका छैनन् । बिभागको पक्राउ पूर्जी जारी भएपछि उनी नेपालबाहिर गइसकेको स्रोतको दाबी छ ।

    यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले गएको असोज २३ गते भूसालको लगानीमा निर्माण भएको सिटी स्क्वायर मलमा छापा मारिएको थियो । ३३ किलो सुुन प्रकरणमा संलग्न रहेका भूसालको मुख्य लगानी रहेको भनिएको सिटी स्क्वायर मलमा न्यायक्षेत्रका विवादित ब्यक्तिहरुको लगानी रहेको स्रोतको दाबी छ । इनमसँग जोडिएकाहरुको लगानी भएको आशंका बिभागले उक्त मलमा छापा मारेको थियो ।

    ३३ किलो सुन तस्करी काण्डः भूसालले कसरी पाए सफाइ ?

    २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो अवैध सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बरामद गरेको थियो । उक्त सुन दुवईबाट नेपालमा पठाउने मुख्य नाइके रोशन भूसाल भनिने गुप्तलाल भूसाल, हरिशरण खड्का र कृष्ण अग्रवालहरुको भएको खुल्यो ।

    भूसाल, खड्का र अग्रवाल दुवईमा बसी नेपालमा सुन तस्करी गर्दैआएको पुष्टि भएपछि सीआइबीले उनीहरुको खोजी गर्यो तर सुनसहित भरिया गोपालबहादुर शाहीहरु पक्राउ परेपछि भुसाल, खड्का र अग्रवाल दुवई फरार भएका थिए । प्रहरीले पक्राउ गर्न नसकेपछि उनीहरुका बिरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । यी तीनजनामध्ये भूसालले तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग सेटिङ गरी थुनामा नबस्नेगरी अदालतमा हाजिर भए ।

    जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणासँग सेटिङ मिलाई नेपालमा एक दिन पनि थुनामा नबसी उन्मुक्ति पाएका थिए । रेडकर्नर नोटिसका आधारमा हरिशरण खड्कालाई यूएई प्रहरीले २०७५ माघमा पक्राउ गरेको थियो । यूएईमा पक्राउ परेका उनी केही समयपछि छुटेका थिए ।

    दुबईको जेलबाट छुटेका खड्कालाई नेपाल आउने क्रममा नेपाल प्रहरीको बिशेष टोलीले २०७७ असार २७ मा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी पनि दुवईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ परेका थिए । खड्का र अग्रवाल पक्राउ परे पनि भूसाल पक्राउ नै नपरी प्रधानन्यायाधीश राणाका भाइ प्रभुसँग सेटिङ गरी जोगिन सफल भएका थिए ।

    भूसाल, खड्का र अग्रवाल अहिलेसम्म नभेटिएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याप्रकरणमा कैद संजाय भोगिरहेका चुडामणि उप्रेती ‘गोरे’सँग पनि कनेक्सन भएका अन्तर्राष्ट्रिय तस्कर भए पनि अदालत नै सेटिङ गरी जोगिन सफल भएका थिए । प्रहरीले भूसाल र खड्काका बिरुद्ध रेडकर्नर नोटिस जारी गर्दा पनि उनी भने पटक–पटक दुबई ओहोरदोहोर गरिरहन्थे । अध्यागमन र विमानस्थल प्रहरीसमेत सेटिङ गरी उनी नेपाल पटक पटक आउने जाने गर्दैआएका थिए ।

    त्यसैक्रममा तत्कालीन आइजीपी प्रकाश अर्यालले उनलाई थुनामै नराखी अदालतमा हाजिर हुने प्रबन्ध मिलाइदिएका थिए । अदालतमा सेटिङ गरी अति कम धरौटीमा रिहा भए र आफूबिरुद्धको रेडकर्नर नोटिस नै हटाउन सफल भए । तस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का पक्राउ परे तर भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए ।

    भूसाल र हरिशरण खड्का नै ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो । तर त्यही सिआइबीले मुख्य अभियुक्त भूसाल पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन समेत सहज गरिदिएको थियो । प्रहरीकै सहयोगका कारण भुसाल २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । उनी पक्राउ परेको घटनालाई गोप्य राखी अदालतमा पेश गरिएको थियो । अदालतमा पनि सेटिङ गरी उनी छुटेका थिए । सुन बरामद गर्दाताकाका सीआइबीका डीआइजी नवराज सिलवाल अवकाशपछि सीआइबीसँग सेटिङ गरी भूसालले उन्मुक्ति पाउँदै गएका थिए । खड्का पक्राउ परे, अग्रवाल पनि नेपालमा आउन सकेका थिएनन् तर भूसालले काठमाडौंमा बसी जग्गा कारोबारदेखि सपिङ कम्प्लेक्स निर्माण गर्न सफल भएका थिए ।

    भूसालले सुनतस्करीबाट अरबौंको सम्पत्ति जोड्न सफल भएका छन । उनका दुवईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै ठाउँमा घरजग्गा छन । उनले सुनतस्करीको रकमबाट काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा सिटी स्क्वायर मल निर्माण गरेका छन् । साविक गोंगबु गाविस ५ ‘क’ कित्ता नम्बर २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको कम्प्लेक्स निर्माण भएको छ ।

    गेम्जो गुरुङकी श्रीमती ताकडोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा भूसालले खरिद गरी कम्प्लेक्स निर्माण गरेका हुन् । उक्त जग्गामा कम्प्लेक्स निर्माण गरेको स्रोत के हो ?यो बिषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्ने भनेर तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले भूसालसँग सेटिङ गरी तामेलीमा हालिदिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार