Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई दान जुटाउनै गाह्रो


    सोमबार, कार्तिक २४ २०८३
    10
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले देशभरका बीओपीदेखि गुल्म, गण, तालिम केन्द्र र बाहिनीका इन्चार्जसम्मलाई देउसी–भैलोबापतको चन्दा रकम तोकेरै दिनुपर्ने उर्दी जारी गरेको छ ।

    सशस्त्र प्रहरी बलका महानिरीक्षककी पत्नी सभापति रहने महिला संघको वर्तमान अध्यक्ष सावित्राकुमारी जैशी छन् । जैशी नेतृत्वको सशस्त्र प्रहरी परिवार महिला संघले तराईका भारतसँग सीमा जोडिएका जिल्लाका गण, भन्सार गुल्म र बीओपीका लागि दररेट तोकेर देउसी भैलोबापत सहयोग कबोलनामा गराएको छ ।

    देउसी भैलो बापत तराईका बीओपीदेखि गुल्मलाई ५० हजारदेखि १ लाखसम्म दररेट तोकिएको स्रोत बताउँछ । स्रोतका अनुसार बाहिनी र तालिम केन्द्रलाई १ लाख तोकिएको छ । मधेशका पर्सा, बारा, धनुषा जस्ता जिल्लाका बीओपीलाई समेत १ लाख दररेट तोकिएको छ । भारत र चीनसँग सीमा जोडिएका बाहेकका गणका लागि ५० हजार तोकिएको छ । महिला संघले सबै युनिटसँग दररेट तोकेर देउसी भैलोबाट करोडौं संकलन गर्र्ने तयारी गरेको छ ।

    तराईका जिल्लामा भन्सार छली तस्करीमा कडाइ गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा सरकार बनेपछि तराईका जिल्लामा भन्सारछली तस्करीमा निगरानी बढाएपछि सशस्त्र प्रहरीका बीओपी, भन्सार गुल्म र गणका इन्चार्जहरुलाई देउसीभैलोबापतको महिला संघलाई कहाँबाट कसरी दिने भन्ने चिन्ता छाएको छ ।

    सीमा क्षेत्र जोडिएका जिल्लाका गण, गुल्म र बीओपीले पनि सिपाहीकै गाँस काटेर दिने अवस्था रहेको स्रोत बताउँछ । सशस्त्र प्रहरी महिला परिवारको नेतृत्व गर्नेहरु स्वयंले नेपाल प्रहरीको तल्लो तहमा समेत काम गरिसकेकाले सिपाहीको मर्का बुझ्न नसकेको टिकाटिप्पणी पनि हुन थालेको छ ।

    देउसीभैलोका लागि सीमा जोडिएका बाहेकका गण र तालिम केन्द्रका इन्चार्जहरुले सिपाहीको रासनको पैसा काटेर दिनुपर्ने बाध्यता छ । सशस्त्र प्रहरी परिवार महिला संघले तीनदिन( २०८३ कात्तिक २३, २४र २५ गते)सम्म देउसीभैलोको मिति तय गरी सबै युनिटसँग दररेट तोकेर सहयोग गर्नू भनेको छ ।

    महानिरीक्षककी पत्नी सभापति हुने महिला संघले भने अनुसार देउसी भैलोलाई सहयोग नदिंदा पनि गाह्रो, दिन पनि नसक्ने अवस्थामा सशस्त्र प्रहरीका युनिट इन्चार्जहरु छन् । सशस्त्र प्रहरीमा बाहिनी ८ वटा, शिक्षालय ५ वटा, गण ३६ वटा, प्रस्तावित र स्थायी गरी गुल्म ७७ वटा भन्दा बढी छन् । बीओपी २ सय १५ वटा रहेका छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह सुशासनको रटान लगाइरहेका छन् । तर सशस्त्र प्रहरीभित्र भने महानिरीक्षककै श्रीमती सभापति रहेको महिला संघले जबर्जस्ती देउसीभैलोको नाममा दररेट तोकेर मागेपछि गण, गुल्म र बीओपीका इन्चार्जले त्यो सहयोग कहाँबाट ल्याएर दिने ? भन्ने प्रश्न उठेको छ । भन्सारछली गरे जागिर जाने, नगरे कहाँबाट दिने ? तराईकै गण, गुल्मपति र बीओपीपतिहरु यस्तो गुनासो एकापसमा गर्न थालेका छन् ।

    त्यसो त गएको भदौ २९ गतेको तीजमा समेत सशस्त्र प्रहरी महिला परिवारले सशस्त्र प्रहरी बलको मुख्यालयअघि सारी लगायतका लत्ताकपडा बिक्रीका लागि राखेको थियो । बिक्रीका लागि राखिएका सारी लगायतका सामान माथिल्लो तहका अधिकृतले भन्दा पनि सिपाहीलाई नै किनाउने ब्यवस्था मिलाइएको थियो । तिहारमा हुने तीन दिने देउसीभैलोमा पनि तालिम केन्द्र, गणहरुबाट सिपाहीकै गाँस काटिने त होइन भन्ने आशंका गरिएको छ ।

    सशस्त्र प्रहरी परिवार महिला संघबाट देउसी भैलोका नाममा देशभरका युनिटबाट दररेट कबोल गराई उठाउनका लागि सभापति जैशीलाई उकास्नेमा एसपी दर्शन गिरी र एसएसपी दीपक थापाकी श्रीमतीसहित सीमित रहेको स्रोतको दाबी छ ।

    विगतमा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारको नाताभित्रको दाबी गर्दै रसुवा र धनुषाको एसपीदेखि बिभिन्न अवसर पाएका र तस्करसँग अकूत लाभ लिनेमा दरिएका एसपी गिरीकी श्रीमती सभापति जैशीकी अति निकट भएर सरुवामा समेत चलखेल गर्ने गरेको आरोप छ । स्रोत भन्छ–एमटीका एसपी बिमल डाँगीकी श्रीमतीसमेत सीमितभित्र पर्दछिन् ।

    यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालकै जिल्लाका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनको निर्देशन अनुसार काम गर्ने गरेको आरोप छ । गएको जेठमा बजेट भाषणका क्रममा कोरला नाकाबाट आयात भएका ७ सय भन्दा बढी बिद्युतीय गाडी उनकै निर्देशनमा बरामद गर्न लगाएका थिए । तर ती गाडीमा केही कैफियत नभेटिएपछि छाड्नुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार