Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पशु सेवा केन्द्रका प्रमुखसहित ६ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा, ९ लाख ७७ हजार बिगो


    सोमबार, चैत्र १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौंं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादव, वडाध्यक्षसमेत ६ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । कृषि सेड निर्माणका क्रममा ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको हो ।

    सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ९ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आ.व. २०७५–०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

    उक्त उजुरीमा अनुसन्धान गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेश गरेको नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी–नगराई सोही प्रतिवेदन स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा भुक्तानी दिएका थिए ।

    उक्त सहकारी संस्था लिमिटेडलाई बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्था लि।लाई गैरकानूनी लाभ र्पुयाएको देखिएकाले यादवलाई ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा जरिवाना र कैदसंजाय माग गर्दै मुद्दा दर्ता गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र चक्रघट्टा गाउँपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहारका बिरुद्ध ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा जरिवाना तथा कैद संजायको माग गरिएको छ ।

    साथै आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवका बिरुद्ध पनि सोही ऐन अनुसार जनही ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बिगो र कैद संजायको माग गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार