Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • श्रम सहचारीमा शक्तिशाली अधिकृतहरूको चलखेल सुरु : मन्त्री रावल प्रभावमा, श्रमका निमुखा कर्मचारीको सरुवा


    आइतबार, असोज १८ २०८३
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई पठाउने गरिएकोमा त्यसमा पनि परराष्ट्रका कर्मचारीले नै दाबी गरेपछि लामो समयसम्म माथापच्ची चलिरह्यो ।

    श्रम सहचारीमा पनि परराष्ट्र मन्त्रालयकै कर्मचारी पठाउनेगरी सङ्गठन तथा व्यवस्था सर्वेक्षण(ओएण्डएम सर्भे) गर्न खोजिएको थियो । डा. आरजु राणा देउवा परराष्ट्र मन्त्री हुँदा धेरै दरबन्दी थप गरिएको थियो । जसका कारण ओएण्डएम सर्भे स्वीकृत नभएपछि श्रम सहचारीसमेत परराष्ट्रकै कर्मचारीलाई पठाउने गरी मिलान गर्न खोजिएको थियो ।

    परराष्ट्रका कर्मचारीलाई नै राजदूतदेखि श्रम सहचारीसम्म चाहिने भन्दै चर्को बिरोध भएपछि अन्ततः सामान्य प्रशासन समूहकै पठाउने गरी ओएण्डएम स्वीकृत भएको छ ।
    परराष्ट्रका कर्मचारीको श्रम सहचारी हुने चाहनामा ब्रेक लागेपछि युवा, श्रम, रोजगार मन्त्रालयका कर्मचारीहरुले श्रम सहचारी हुने मौका पाउने भएका छन् ।

    एक बर्षपछि केही देशका श्रम सहचारी रिक्त हुने भएपछि अहिलेदेखि नै पहुँचवाला र अकूत कमाएका कर्मचारीहरुले चलखेल सुरु गरेका छन् । त्यसका लागि भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नै प्रभावमा पारी श्रम मन्त्रालयका निमुखा र इमान्दार कर्मचारीलाई सरुवा गराउन थालेका छन् ।

    केही शाखा अधिकृतहरुले आगामी बर्ष श्रम सहचारी हुनका लागि श्रम मन्त्रालयका निमुखा कर्मचारीहरुलाई धमाधम सरुवा गराएका छन् । मन्त्री रावलका निकट बिचौलियाहरुसँग सेटिङ गरी उनीहरुले अर्को बर्ष श्रम सहचारीमा प्रतिस्पर्धामा भाग लिनबाटै बन्चित गर्ने र आफू निश्चित हुनका लागि अहिलेदेखि नै चलखेल सुरु गरेका हुन् ।

    श्रम सहचारीका लागि श्रम मन्त्रालयमा ४ बर्ष कार्यरत रहेको हुनुपर्ने लगायतका मापदण्डहरु छन् । त्योे मापदण्ड पूरा गरेका चलखेल नगर्ने शाखा अधिकृतहरु त्यो अवसर पाइन्छ भन्ने आशामा थिए । तर पहुँचवाला केही अधिकृतले उनीहरुलाई सामान्य प्रशासन मन्त्री रावलको सचिवालयका कर्मचारीसँग सेटिङ गरी धमाधम सरुवा गराउन थालेका छन् । सुशासन कायम गर्ने, नियुक्ति र सरुवामा पारदर्शीता अपनाउने बाचापत्रसहित चुनावमा जितेर आएको रास्वपाकी मन्त्री रावलमाथि श्रम मन्त्रालयका पहुँचवाला कर्मचारीको प्रभावा परी निमुखा र सुशासनका पक्षपाती कर्मचारीलाई श्रम सहचारीमा प्रतिस्पर्धा गर्नबाट बन्चित गर्न सरुवा गरेको आरोप छ ।

    कांग्रेस, एमाले, माओवादी शासनमा पनि सधैं आकर्षक कार्यालयमा बस्न सफल यिनीहरु नै रास्वपा सरकारमा पनि श्रम मन्त्रालयमा हावी देखिएका छन् । र, लामो समय काम गरेका इमान्दार कर्मचारीलाई निकालाबास गरी श्रम सहचारीमा सुरक्षित रुपमा नियुक्ति हुने दाउमा लागेका छन् । श्रम सहचारी श्रम मन्त्रालयको आकर्षक पद हो । विगतमा पनि पहुँच र पैसाका बलमा श्रम सहचारी भएका थिए, आज पनि त्यही प्रबृत्ति दोहोर्याउने काम रास्वपा सरकारकै मन्त्रीबाट भइरहेको छ ।

    श्रम मन्त्रालयका अधिकृतहरु प्रदीप ढकाल, बिक्रम शर्मा, देबेन्द्र केसी, युवराज अचार्य, पुष्पाकुमारी झा, शान्ति पौडेलसहितका अधिकृतले आफू श्रम सहचारी हुनका लागि अन्य कर्मचारीहरुको सरुवा गराउन भूमिका खेलेको आरोप छ । यीमध्ये कतिपय बैदेशिक रोजगार बिभागमा पटक पटक आकर्षक शाखामा बसी आकर्षकै कमाउनेमा पर्दछन् ।

    श्रम सहचारी नियुक्तिमा बिधि र मापदण्ड बनाउने, सबैभन्दा बढी समय श्रम मन्त्रालयमा काम गर्नेलार्ई मौका दिन सकिन्छ । तर निमुखा र इमान्दार कर्मचारीलाई सरुवा गरेर सधैं तर मारेका एकथरी पहुँचवालालाई मात्र एक बर्षपछि श्रम सहचारी बनाउने गरी सामान्य प्रशासन मन्त्रालयबाटै भएको गुनासो हेल्लो सरकार र प्रधानमन्त्री कार्यालयमा सम्म पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार