Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ग्यास बिक्रीमा अनिवार्य बिल जारी गर्न व्यवसायीलाई महासंघको आग्रह 


    बुधबार, कार्तिक १२ २०८३
    110
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ।

    महासंघले नेपाल आयल निगमको निर्देशन कार्यान्वयन गर्न व्यवसायी र उपभोक्ता दुवैलाई जिम्मेवार बन्न आह्वान गरेको हो।

    महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यास बिक्री वितरणमा बिल जारी गर्ने व्यवस्था सुनिश्चित गर्न निगमले चालेको कदमको स्वागत गरेको छ। ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यस्तो व्यवस्था महत्त्वपूर्ण हुने महासंघको भनाइ छ।

    नेपाल आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

    ग्यास खरिद गरेपछि उपभोक्ताले बिल वा बिजक नपाएको गुनासो बढ्न थालेपछि निगमले उक्त निर्देशन जारी गरेको हो।

    महासंघका अनुसार ग्यासको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि पनि निगमसमक्ष विभिन्न सुझाव प्रस्तुत गरिएको थियो। बिक्री वितरणका क्रममा अनिवार्य बिल जारी गर्ने व्यवस्था कार्यान्वयन भए ग्यास कारोबारलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण आधार तयार हुने महासंघको विश्वास छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार