Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खानेपानी मन्त्री यादवद्वारा आयोजनादेखि मन्त्रालयका ६ वटा गाडी दुरुपयोग


    शनिबार, फाल्गुन १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । खानेपानी मन्त्रालय अहिले झगडिया मन्त्रालयका रुपमा स्थापित हुँदैछ । बन्द भएको मेलम्चीको पानी अस्थायी संयन्त्र मार्फत् काठमाडौंबासीलाई खुवाएको जस लिएका खानेपानी सचिव सुरेश आचार्यको कार्यशैलीका कारण मातहतका कर्मचारीहरु हैरान छन् । आचार्यलाई तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले सचिव प्रमिला बज्राचार्यलाई हटाएर ल्याएका थिए । आफैंले ल्याएका सचिवले अप्ठ्यारोमा पारेपछि चौधरीले उनलाई ३ महिनामै प्रधानमन्त्री कार्यालयमा पठाएर मणिराम गेलाललाई ल्याएका थिए ।

    पर्यटन मन्त्रालयको एउटै शाखामा जागिरको सबै समय बिताएका र सिंहदरबार बाहिर नदेखेका आचार्य अब्यवहारिक र लाभबिना काम नगर्ने सचिवका रुपमा चिनिन्छन् । सहरी विकासमा हुँदा पनि उनले १३ औं नम्बरका कनिष्ट सहसचिव रविन्द्र बोहरालाई ३ वटा परियोजनाको प्रमुख बनाएर लाभ लिएको आरोप लागेको थियो । अहिले निजामती प्रशासनमा छिटोछिटो सचिव सरुवाको सूचीमा उनी पहिलो नम्बरमा पर्दछन् भने दोस्रोमा मधुसुदन बुर्लाकोटी हुन् ।

    सचिव बढुवाको छोटो सयममा विज्ञान प्रविधिमा पहिलो पदस्थापन, खानेपानी मन्त्रालयमा २ पटक, सहरी विकास र राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा १–१ पटक गरी ६ पटक सरुवा भइसकेका उनै आचार्यसँग वर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको खटपट सुरु भइसकेको छ । राय र आचार्यको झगडा यति उत्कर्षमा पुगिसकेको छ भि मन्त्रालयका अधिकारीहरु उनको कुनबेला सरुवा हुने हो भन्दै आंैला भाँच्न थालिसकेका छन् । आफूलाई कांग्रेसकै नेताको रुपमा प्रस्तुत गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु डा. शेखर कोइराला, बिश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा. मिनेन्द्र रिजाललगायतलाई आफैंले नेता बनाएको जस्तो प्रस्तुति उनको देखिएपछि सहरी बिकासबाट मन्त्री सीता गुरुङले उनलाई सरुवा गर्न बाध्य भएकी थिइन् ।

    सिंहदरबारमा अहिले कांग्रेसको राजनीति, भावी कार्यदिशा लगायतका बिषयमा जानकारी दिनसक्ने उद्योग सचिव मुकुन्द निरौलापछि आचार्यको नाम कर्मचारी बृत्तमा चर्चामा छ । पछिल्लो समय आयोजना प्रमुखको सरुवा, बजेट तथा कार्यक्रमको खर्च, सवारी र इन्धनको बिषयमा सचिव र मन्त्रीबीच खटपट देखिएको हो । मन्त्री यादव र सचिवालवमा ६ वटा गाडी प्रयोगमा छन् । सचिव आचार्यले २ वटा गाडी प्रयोग गरिरहेका छन् । सहरी विकासको सचिवबाट बिदाइ हुँदा सतर्कता केन्द्रमा सरुवा हुँदा सँगै लिएर गएको गाडी उनले अझै फिर्ता गरेका छैनन् । खानेपानीबाट अझ अर्को गाडी पनि घरमा परिवार ओसार्न, तरकारी किन्न प्रयोग गर्दै आएका छन् ।

    मन्त्री यादवकोमा ६ वटा गाडी एउटा स्वकीय सचिव सुनिल अधिकारीले प्रयोग गरेका छन् । अधिकारी यादवकै पुत्र हुन् । अर्को गाडी सचिवालयका सत्यप्रकाश यादवले प्रयोग गर्दैआएका छन् । २ वटा मन्त्री आफैंले प्रयोग गर्ने गर्दछन् । एउटा पार्टी महासचिवलाई दिएका छन् भने आयोजना कार्यान्वयन निर्देशनालय(पीआईडी)बाट झिकाइएको ३६५१ नम्बरको गाडीबाट कार्यकर्ता ओसार्ने काम हुँदैआएको छ । आयोजनाका गाडीमात्र होइन, रायले ६ वटा गाडीको नाममा इन्धनको ब्रम्हलुट गर्दैआएका छन् ।

    सचिव र मन्त्रीहरु गाडीको मात्र होइन, आर्थिक मामिलामा समेत छिनाझप्टीमा उत्रिएपछि खानेपानी मन्त्रालय झगडियाको थलो बनेको हो । मातहतका निकायका प्रमुखहरु, सचिव मन्त्रीको झगडाको कुन पक्षमा लाग्ने भनेर अन्योलमा छन् । यही समयमा खानेपानी संस्थानका महाप्रबन्धक इश्वरप्रसाद आफैंले खनेको खाल्डोमा आफै परेका छन् । पोखरा विमानस्थल नजिकै खानेपानी ट्यांकी निर्माण गर्दा नागरिक उड्ययन प्राधिकरणको सहमति नलिई निर्माण गरेपछि अहिले यो बिषयमा छानबिन भइरहेको छ । छेउमा अन्तर्राष्ट्रिय विमानस्थल भएको कुरालाई ख्याल नगरी कमिसनको लोभमा हतार हतारमा ट्यांकी निर्माण गरेपछि प्राधिकरणले कडा आपत्ति जनायो । र, छानबिन समिति नै बनिसकेपछि आत्तिएका इश्वरप्रसाद कार्यकक्षमै टोलाउने गरेका छन् ।

    तत्कालीन मन्त्री उमाकान्त चौधरीलाई बुझाएको रकम उठाउनका लागि हतार हतार उनले ट्यांकी निर्माण जस्ता कार्यलाई अगाडि बढाएका थिए । महाप्रबन्धक इश्वरप्रसाद घुस असुलीमा उमाकान्त चौधरीलाई माथ गर्ने मन्त्री महिन्द्र यादवको नाजायज मागलाई पूरा गर्ने तनावमा एकातिर छन् भने अर्कातिर सचिव आचार्यको मागको सूचीलाई क्रमबद्ध पूरा गर्न नसकेको तनावमा छन् ।

    उता, मन्त्रीकै छोरा सुनिललाई कर्मचारीको कोटामा बिदेश सयर गराएको आरोपमा राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण बुझाउन ताकेता गरेपछि महिन्द्रलाई अर्को तनाव थपिएको छ । केन्द्रले कर्मचारीको कोटामा सुनिललाई कसरी पठाएको हो, त्यसको स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ । आफैंले खानेपानीबाट सरुवा गराएका सचिव रामआधार साहले नेतृत्व गरेको सतर्कताको पत्र सचिवालयमा पुग्नेवित्तिकै हल्लीखल्ली मच्चिएको थियो । अहिले खानेपानी मन्त्रालयमा कसरी स्पष्टीकरण पठाउने भन्नेबारे कर्मचारीबीच छलफल भइरहेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाहीका लागि अख्तियारमा लेखी पठाउने प्रावधान रहेको छ ।

    मन्त्री र सचिवका कारण मन्त्रालयमा तनाव सृजना भइरहेको बेलामा खानेपानी मन्त्रालय र मातहतका केही इन्जीनीयरहरु भने आफूहरुलाई मिडियाका नाममा दुःख दिने, तर्साउने कार्य भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमै गुनासो लिएर पुग्ने तयारीमा छन् । अहिले मिडियाको नाममा डुलुवाहरुले अनावश्यक दुःख दिने काम गरेको हुँदा आफूहरु पीडित भएको र यसको निकासको लागि समन्वयका लागि उनीहरु सामूहिक रुपमा प्रधानमन्त्री कार्यालय र संचार मन्त्रालयमा जाने सोचमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार