काठमाडौं । गएको असोज ३ गतेदेखि ठूलो तामझामका साथ करोडौ खर्च गरी संचालनमा ल्याइएको रत्नपार्क–सूर्यविनायक द्रुत बससेवा १ महिनामै बन्द भयो । द्रुत बससेवा संचालनका लागि १०
द्रुत बससेवा प्रभावकारी रुपमा संचालन हुन नसकेपछि बन्द भएको हो । द्रुत बससेवा संचालनका लागि रङरोगनदेखि सबै खर्च १० करोड भएको छ ।
द्रुत बससेवाका लाग सडकमा रङ लगाउनेदेखिका कार्यमा सडक डिभिजन कार्यालय काठमाडौं र सूर्यबिनायक–धुलिखेल–बर्दिबास सडक आयोजनाले करिब १० करोड खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । जुन द्रुत बससेवा संचालनका लागि तीन गुणा महंगो दरमा रङ लगाइएको खुलासा भएको छ ।
द्रुत बससेवा संचालनका क्रममा भएको अनियमिततामा संलग्न आयोजना र डिभिजन प्रमुखलाई कारबाहीको माग गर्दै २०८० फागुन ११ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दर्ता नम्बर सी–०५२०८० रहेको उजुरीमा सडकमा रङ लगाउने कार्यमा गरिएको भ्रष्टाचारको छानविन गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा उल्लेख छ–‘रत्नपार्कदेखि सूर्य विनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि हचुवाका भरमा २०८० साल असोज ३ गते उदघाटन गरी कार्यक्रम सुरु गरियो । जुन अहिले प्रभावकारी कार्यन्वयन हुन सकिरहेको छैन । सडकमा रङ मेटिइसकेको छ । तथापि यो कार्यक्रमका लागि सडक डिभिजन काठमाडौं र सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बाटोमा रङ लगाउँदा आकस्मिक सेवाका नाममा बिना बोलपत्र झण्डै दुई करोड १० लाख जत्तिको खर्च देखाइएको छ ।
त्यसैले बोलपत्रबाट यसअघि गरिएका काममा प्रतिवर्ग मिटर ५ सय देखि ६ सयसम्म खर्च आउने गरेको निर्माण व्यवसायीहरु बताउँछन् । तर, आकस्मिक सेवा भन्दै घुमाउरो बाटोबाट कोटेशनमा काम गरिएको छ । देश गम्भीर आर्थिक मन्दीमा परेको अवस्थामा गरिएको यो कार्यले आम नेपालीलाई लज्जाबोध बनाएको छ । त्यसैले यसको गम्भीर छानबिन गरी संलग्न डिभिजन प्रमुख र कार्यक्रमका संयोजकहरुलाई हदैसम्मको कानूनी कारबाही गरी पाउँ ।’
द्रुत बसका लागि नयाँ सडक निर्माण नगरी भइरहेकै सडकको एक लेन छुट्याइ संचालनमा ल्याइएको थियो । तर, अफिस आवरमा एक लेन सडक द्रुत बसका लागि खाली गराउँदा झनै ट्राफिक जाम बढेको भन्दै विरोध भएको थियो । जसका कारण बससेवा संचालन हुन सकेन ।
जनताका लागि सूर्यविनायकबाट रत्नपार्कसम्म आधा घण्टामै पुगिने गरी द्रुतसेवा बस सञ्चालन गर्ने भन्दै सडकमा रङ लगाउँदा राज्यका कर्मचारी र नेतासमेत मिलेर यो सडकमा करोड भन्दा बढी रंग लगाउँदा नै अनियमितता भएको प्रमाण प्राप्त भएको छ ।
पत्रकार नारायण शर्माले सूचनाको हक प्रयोग गरी लिइएको विवरणमा विशेष परिस्थिति भन्दै सडक डिभिजन काठमाडौं र सूर्य विनायक –धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले यो काम कोटेशन मार्फत् आफ्नो निकटका व्यवसायीलाई गराएका छन् । यो कोटेशनमा काम मिलाउँदा सडक डिभिजन काठमाडौंमा नारायण न्यूरे र सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनामा राजेन्द्र दास प्रमुख रहेका थिए ।
सडक डिभिजन काठमाडौंले १० हजार ५ सय ५५ दशमलव ७९ वर्ग मिटर रंग लगाएको जनाएको छ । यो रंग लगाउँदा ९९ लाख ३८ हजार २ सय ४५ रुपैया खर्च देखाएको छ । यसरी प्रति घनमिटर ९४१ दशमलव ४९ पैसा पर्न गएको देखिन्छ । सूर्यविनायक –धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले ७ हजार ९ सय ९४ दशमलव २६ घनमिटर रंग लगाउँदा १ करोड ७ लाख ८८ हजार ७ सय १६ रुपैयाँ खर्च गरेको सूचना अधिकारी ई. प्रमोद खतिवडाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यसरी यो आयोजनाले प्रति घन मिटर १ हजार तीन सय ४९ दशमलव ५५ पैसामा रंग लगाएको विवरण सूचना अधिकारी नारायण लामिछानेले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सडक डिभिजन काठमाडौंका सूचना अधिकारी ई. खतिवडाले उपलब्ध गराएको सूचना अनुसार यो कार्यका लागि टीका सुवेदीको नयाँ युग निर्माण सेवा र के.ए.एम कन्स्ट्रक्सन प्रा.लि.काभ्रेपलाञ्चोकले रत्नपार्क–सुन्धारा–भद्रकाली–माइतीघर र बानेश्वर–जडीबुटी खण्डले यो काम गरेको उल्लेख छ । ए.एच.के. कन्स्ट्रक्सन प्रा.लि.काठमाडौं, अल्फा टेक्स कन्स्ट्रक्सन प्रा.लि.को पनि नाम राखि कोटेशनमा काम गरेको नक्कली विवरण बनाई कागजात मिलाएको एक जना निर्माण ब्यवसायीले बताए । यो सडकको माइतीघर नयाँ बानेश्वर खण्डमा एम.के.एण्ड कम्पनी प्रालि.धनगढी, बबी टे«डिङ, श्री निता कन्स्ट्रक्सन प्रा.लि., अनिता बिजनेश हाउस प्रा.लि., काठमाडौं र उमा ईन्फ्रा बिल्डर्स प्रा.लि.ले काम गरेको भन्दै विवरण मिलाइएको छ ।
त्यसैगरी ओभर हेड साइनबोर्ड ट्राफिक साइनपोष्ट र ट्राफिक साइनपोष्ट (सानो) बनाउने कार्यका लागि न्यू चौधरी आर्टस काठमाडौं, सौरभ आर्टस एण्ड मिडिया सर्भिसेज प्रा.लि., रुट्स एडभरटाईजिङ एण्ड आर्टस् काठमाडौं, एडमार्क एजेन्सी प्रा.लि., काम सम्पन्न गरेको विवरणमा उल्लेख छ ।
बोलपत्र गरी प्रतिस्पर्धा गराउँदा कति पर्छ ?
बोलपत्र गरी प्रतिस्पर्धा गराउँदा प्रति घनमिटर रङ लगाउने कार्यमात्रै ५सय देखि ६ सय रुपैयामा सम्पन्न गर्ने गरी टेण्डर पर्दै आएको एक जना सिनियर डिभिजनल इन्जिनियरले यो प्रतिनिधिलाई बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने यो काममा कम्तीमा पनि ६० प्रतिशत कमिसनको चलखेल भएको छ । अर्थात् झण्डै एक करोड २० लाख रुपैया मन्त्री, सचिव, डिभिजन प्रमुख र आयोजना प्रमुखको नाममा कमिसनको चलखेल भएको बुझिएको छ ।
कस्तो छ प्रभावकारिता ?
२०८० साल असोज ३ गते संविधान दिवसको अवसरमा उद्घाटन गरिएको द्रुतसेवा प्रभावकारी कार्यन्वयन पनि हुन सकिरहेको छैन । भाडा दर समायोजन गर्ने हल्ला गरिए पनि हुन सकिरहेको छैन । झण्डै दुई करोड १० लाख जत्ति खर्च गरी लगाइएको सडकको रङ पनि मेटिइसकेको छ । जबकि सरकारी टेण्डरका कुनै पनि काममा १३ महिनासम्म वारेन्टीका व्यवस्था हुनुपर्दछ ।
यस विषयमा प्रतिक्रियाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठसँग सम्पर्क गर्दा उनले पटक पटक आफ्नो मोबाइल फोन उठाएनन् । मन्त्री प्रकाश ज्वालाको मोबाइल पनि स्वीच अफ गरिएको थियो । उनलाई भेट्न सिंहदरबार जाँदा सचिवलगायत धेरै जसो कर्मचारीहरु दुई दिनका लागि पोखरामा गोष्ठीमा गएको जानकारी पाइयो । आइतवार १० बजे पनि उनको फोन नउठेपछि प्रतिक्रिया लिन सकिएन ।
आकस्मिक सेवा भन्दै किन कोटेशनमा महंगो दरमा काम गराइयो ? भन्ने विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख ई राजेन्द्र दासले फोन उठाएनन् । त्यसपछि आयोजनाका सूचना अधिकारी नारायण लामिछानेले पनि मोबाइल फोन उठाएनन् । सडक डिभिजन काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडासँग सम्पर्क गर्दा उनले भने मैले सूचना मात्रै दिएको हुँ यो काम किन महंगो भयो भन्ने विषयमा काम गराउने तत्कालिन डिभिजन प्रमुख नारायण न्यूरेलाई नै थाहा भएको भन्दै पन्छिए ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend