Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनार्दन शर्मा र बिचौलिया भट्टको सेटिङमा अरबौंको वित्तीय अपराधः छानबिन गर्ने हिम्मत छ प्रधानमन्त्रीज्यू

    धितोपत्रको अध्यक्षमा भिनाजु, नेप्सेमा कारिन्दाको नियुक्तिः स्टक कब्जा गर्दै ब्रोकर लाइसेन्समा एकाधिकार


    बिहिबार, बैशाख २८ २०८०
    5.9K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । सुरक्षा निकायका हतियारदेखि बन्दोबस्तीका सामानको ठेक्का सेटिङबाट शक्तिकेन्द्र प्रभावमा पार्ने क्रम सुरु गरेका बिचौलिया दीपक भट्टले हरेक पार्टीका शीर्षनेतृत्वसम्म पहुँच पुर्याएर नेपालका सबै क्षेत्र कब्जाको नीति अंगालेका छन् । पछिल्लो समयमा उनले नेपालको सरकारी पुनर्बिमा कम्पनीलाई धरासायी पार्न तत्कालीन केपी ओली सरकारलाई प्रभावमा पारी हिमालयन रिइन्स्योरेन्स कम्पनी दर्ता गरेका थिए । कोरोना महामारीमा ज्वरो नाप्ने थर्मल गन कूटनीतिक नियोगको गाडीमा राखी ४ गुणा बढी मूल्यमा कालोबजारी गर्दागदैै पक्राउ परेका सुलभ अग्रवाललाई साथमा लिएर भट्टले हिमालयन रिइन्स्योरेन्स कम्पनी दर्ता गर्ने क्रममा घुसमात्रै १ अर्ब रुपैयाँ शक्तिकेन्द्रमा बुझाएको चर्चा भयो ।

    तिनै भट्टले एमालेकै ओली प्रधानमन्त्री हुँदा लगानीबोर्डमा आफ्ना दाजु सुशील भट्टलाई सीईओ नियुक्ति गरी बैदेशिक लगानी पनि उनीहरुको सेटिङमा मात्र आउने बनाएका थिए । ओली सरकार सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएपछि गठन भएको शेरबहादुर देउवाको सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई त भट्टको हातबाट त उनले गर्नुसम्म आर्थिक अपराध गर्न लगाए । जनार्दन शर्माको डेढ बर्षे कार्यकालमा उनले विमा समितिबाट ७ वटै प्रदेशमा लघु विमा कम्पनीलाई लाइसेन्स दिलाए । ७ वटै कम्पनी दीपक भट्ट, जनार्दन शर्मा र विमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, उनीहरुको परिवार र नातागोताका नाममा खोलिएको ती कम्पनीको विवरण सरोकारवाला निकायले झिकाएर हेर्दा पनि प्रष्ट हुन्छ ।

    जनार्दन शर्मा अर्थमन्त्री हुँदा दीपक भट्टले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा आफन्त र आफ्ना निकट भएर काम गरेकालाई नियुक्ति गर्न लगाए । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा दीपक भट्टले आफ्नै भिनाजु रमेश हमाल नियुक्त गराउन सफल भए । ५ फागुन, २०७८ मा हमाललाई नियुक्ति गर्नुअघि उनको योग्यता नपुग्ने भएकाले जनार्दन शर्माले रातारात कार्यबिधि नै संशोधन गरिएको थियो । थाईल्याण्डको दुषित थानी होटलका कामदार हमाललाई धितोपत्र बजारको ध पनि थाहा नभए पनि कार्यबिधि संशोधन गरी नियुक्ति गरिएको थियो । होटल क्षेत्रमा काम गरेका हमाललाई दीपक भट्टले धुलिखेलमा दूषित थानीकै ब्रान्डमा होटल खोलेर संचालनको जिम्मा दिएका थिए ।

    हमाललाई होटल एशोसिएसन नेपाल(हान)को कार्यसमितिमा लगेको भए त्यसबाट मुलुकले लाभ पाउन सक्थ्यो होला, तर उनलाई बिचौलिया भट्टले पूँजी बजारको नियमन गर्ने धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति दिलाए । उनलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नुको भित्री खेल भने सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज कमजोर पार्न नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने थियो । जुन खेलअन्तर्गत भट्टले नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि नियमावली जारी गर्नेदेखि आवेदन मागी भट्टकै कम्पनी हिमालयन स्टक एक्सचेन्जले लाइसेन्स पाउने लगभग निश्चित भइसकेको छ ।

    अर्थमन्त्रालयका एक अधिकारी भन्छन्–‘चोर बाटोबाट नयाँ लाइसेन्सका नाममा निश्चित समूहलाई फाइदा पुग्नेगरी नयाँ स्टक एक्सचेन्जको अनुमति दिनु सरासर बित्तीय आर्थिक अपराध हो । किनकि नेपाल सरकारले दूरसंचार सेवाबापत प्रत्येक बर्ष २० अर्ब रोयल्टी प्राप्त गर्दछ । त्यस्तै रोयल्टी स्टक एक्सचेन्जबाट पनि पाउन सक्थ्यो । तर बिचौलिया दीपक भट्टले आरजु राणा र गंगा दाहालसँग सेटिङ गरी स्टक एक्सचेन्जको अनुमति लिँदा देशलाई २० अर्बको नोक्सान हुने भएको छ ।’

    अर्थका ती अधिकारी भन्छन्–‘एक अर्ब ३० करोड भन्दा बढी जनसंख्या भएको र नेपालको भन्दा हजार गुणा ठूलो अर्थतन्त्र भएको भारतमा २ वटा मात्र स्टक एक्सचेन्ज छन् । १ अर्ब ४२ करोड जनसंख्या भएको र ६ हजार गुणा ठूलो अर्थतन्त्र भएको चीनमा पनि २ वटा मात्र स्टक एक्सचेन्ज छन् । हाम्रो अर्थतन्त्र दुई वटा स्टक एक्सचेन्ज चाहिनेगरी विकास भएकै छैन । पूँजी बजारमा ग्रामीण भेग समेटिन सकेको छैन । यति सानो देशमा एउटै स्टक एक्सचेन्ज नै पर्याप्त छ ।

    दीपक भट्ट जस्ता बिचौलियालाई पनि अर्को स्टक एक्सचेन्ज चल्दैन भन्ने थाहा छ । तर उनी स्टक एक्सचेन्जको लाइसेन्स लिने र एकाध बर्षपछि उक्त स्टक चलेन भनेर ५० अर्बको मूल्यांकन गरी सरकारी स्टक एक्सचेन्जमा गाभ्ने र त्यो कब्जा गर्ने रणनीतिमा छन् । अर्थका अधिकारीले भने–‘भट्टको भिनाजु रमेश हमाललाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनुको भित्री उद्देश्य नैस्टक एक्सचेन्जको लाइसेन्स लिने, त्यो २ बर्षमा चलेन भनेर अधिक मूल्यांकन गरी सरकारी स्टक एक्सचेन्ज कब्जा गर्ने नै हो ।’

    नेपालमा २ वटा स्टक एक्सचेन्ज आवश्यक नै नभए पनि किन लाइसेन्स दिन लागिएको हो भन्नेबारेमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग प्रतिक्रिया लिन उनकोे मोवाइल नम्बर ९८०२०… मा बिहीबार बिहान पटक पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    नेप्सेमा स्वार्थअनुकूलका कार्की सीईओ नियुक्ति, भट्टकै १३ वटा कम्पनीलाई अनुमति

    नेपाल स्टक एक्सचेन्जको सीईओमा पनि दीपक भट्टले आफ्ना विश्वासपात्र कृष्णबहादुर कार्कीलाई नियुक्त गराउन सफल भए । १७ माघ, २०७८ मा कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरिएको थियो । बुढीगण्डकी जलविद्युत आयोजनाको सम्पर्क कार्यालयको प्रमुख रहेको ।  जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा दीपक भट्टको चाइना गेजुवा कम्पनीलाई बुढीगण्डकी जलबिद्युत  निर्माण गर्न दिने भएपछि आयोजना प्रभावित क्षेत्रमा सम्पर्क कार्यालयको प्रमुख कार्कीलाई बनाइएको थियो । त्यहीबेलादेखि कार्कीसँग भट्टको घनिष्ठता थियो । त्यही सम्बन्धका आधारमा भट्टका सेयर दलाल (ब्रोकर कम्पनी) लाई लाइसेन्स दिनकै लागि कार्कीलाई नियुक्त गरिएको थियो । त्यही सेटिङ अनुसार लगिएका कार्कीले दीपक भट्ट र उनका नातेदारका नाममा दर्ता भएका १३ वटा सेयर दलाल कम्पनीलाई २०८० बैशाख २० गते आसयपत्र(एलओआई) दिइसकेका छन् । ती कम्पनीहरु प्रायः सबैमा आवरणमा जो भए पनि वास्तविक संचालक भट्ट नै भएको सरोकारवाला निकायले छानबिन गर्ने हो भने पुष्टि हुने अर्थ मन्त्रालय स्रोत बताउँछ । भट्ट संचालक नभएका कम्पनीसँग करोडौं घुस असुली लाइसेन्स दिन लागिएको छ ।

    कुन कुन सेयर दलाल कम्पनीले पाए एलओआई  ?

    सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस सेक्युरिटिज लिमिटेड, प्रोपर्टी विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार