Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • ताईवानमा बस्ने नेपालीले गरे प्रधानमन्त्री राहतकोषमा ३२ लाख सहयोग


    शुक्रबार, कार्तिक १४ २०८३
    50
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंकखातामा जम्मा गरेको थियो ।

    मन्त्रालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गर्नुभएको हो । संघले ३२ लाख ४ हजार ४६५ रुपिया सहयोग गरेको थियो ।

    रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ताम्राकारले ताईवानमा बस्ने नेपालीको तर्फबाट रसुवा भोटेकोशी बाढीपिडित राहतकोषमा आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–ताईवानमा हामीले नेपालमा कुनै पनि समस्या पर्दा सधैं आर्थिक सहयोग गरिरहेका छौं । दुर्घटनामा परेका नेपालीको उपचारको लागि सहयोग नेपाली भएको नाताले नेपालमा सहयोग गरेको उहाँले बताउनुभयो–दुर्घटनामा बितेकालाई पनि सहयोग गरेका थियौं ।

    करिब २ सय नेपालीले सकेसम्म मद्दत गरिरहेका छन् । यो सहयोग जारी रहने उहाँले बताउनुभयो । २०७२ सालको भुकम्पमा संघले सहयोग गरेको थियो । संघले भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको विद्यालय पुननिर्माण गरेको थियो भने विद्यार्थी र पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । ताम्राकारले नेपालमा विपत्ति आउँदास सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

    ‘हामीले नेपालीलाई परेका कुनै पनि समस्या समाधान गर्न सदैव लागिरहेका छांै । यस किसिमको सहयोग निरन्तर जारी राख्नेछौं ।’ उहाँले भन्नुभयो ।

    रकम हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार राजेश श्रेष्ठ, सदस्यहरु समिर मानन्धर, कर्मा धिनबुप, शंकर महर्जन, सुबोध प्रधान, प्रदीप श्रेष्ठ, प्रतीक श्रेष्ठ, ताईवानी नागरिक चाङक्यु लगायतको उपस्थिति थियो ।

    यसैबीच संघले ताईवानमा बस्ने नेपालीका समस्या समाधान गर्न मन्त्री यादवलाई आग्रह गरेको छ । संघले मन्त्री यादवलाई ताईवानमा बसोबास गर्ने नेपाली नागरिकले भोग्नुपरेको एउटा महत्वपूर्ण समस्याप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    ध्यानाकर्षपत्रमा उल्लेख छ–नेपाल सरकारले अवलम्बन गर्दै आएको हाम्रो छिमेकी मित्रराष्ट्र एक चीन नीतिका कारण ताईवानलाई कूटनीतिक तथा राजनीतिक दृष्टिकोणबाट संवेदनशील रूपमा लिइँदै आएको हामीले बुझेका छौं । तर, यस नीतिको प्रभावस्वरूप ताईवानमा बसोबास गर्ने नेपाली नागरिकले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक कामहरु गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको अवस्था रहेको जानकारी गराएको छ ।

    ‘हामी ताईवानमा रोजगारी, व्यवसाय तथा विभिन्न पेसा र अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका नेपाली नागरिक हौं । हाम्रो भौगोलिक बसोबास जहाँ भए पनि हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो । हामी नेपालको संविधान, कानुन र राष्ट्रिय हितप्रति सम्मान राख्दछौं र नेपालसँगको आफ्नो सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहन्छौं । नेपालको परराष्ट्र नीतिलाई सम्मान गर्दै हामीमाथि पनि अन्य देशमा बसोबास गर्ने नेपाली नागरिकसरह समान व्यवहार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ’–ध्यानाकर्षणपत्रमा भनिएको छ ।

    नेपाल सरकारको विद्यमान एक चीन नीतिलाई असर नपर्नेगरी ताईवानमा बसोबास गर्ने नेपाली नागरिकको हकमा आवश्यक प्रशासनिक तथा नीतिगत व्यवस्था मिलाई नेपालसँग सम्बन्धित कागजात प्रमाणीकरण, सरकारी सिफारिस लगायतका आधिकारिक कामहरू सहज, सरल र विभेदरहित रूपमा सम्पन्न गर्न सकिने वातावरण बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछ ।

    ‘हामी ताइवानमा बसेका नेपाली हौं, हामी पनि नेपालको अभिन्न हिस्सा हौं । हाम्रो बसोबासको स्थानका आधारमा हामीले आफ्नै देशको सरकारी सेवाबाट वञ्चित वा विभेदित भएको अनुभूति गर्न नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो । नेपाल सरकारबाट यस विषयलाई सकारात्मक रूपमा लिई आवश्यक पहल तथा नीतिगत सहजीकरण हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं’–ध्यानाकर्षणपत्रमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार