Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लण्डनमा प्रधानमन्त्री देउवाको व्यस्त कार्यतालिका


    शनिबार, कार्तिक १३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • लण्डन । शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ ।

    लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यहीँ रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँको स्थानीय समयानुसार शनिबार बिहान उनीसँग बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्नुहुने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी-एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    आइतबार बिहान उनीसँग भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले भेट्ने र प्रधानमन्त्री देउवा उनको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् । कोप-२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।

    प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना रहेका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार