Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुलभसँग अवैध कारोबार गरेकी मृदुलालाई छुटाउन चलखेल, नक्कली बिरामी बनाएर नर्भिकमा भर्ना


    आइतबार, साउन १० २०८३
    385
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि सेटिङमा नर्भिक अस्पतालमा भर्ना गर्न अनुमति दिइएको छ । बिरामी नै नभए पनि उनलाई सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीसँग सेटिङ गरी बिचौलियाहरुले शनिबार नर्भिक अस्पतालमा भर्ना गराएको स्रोतको दाबी छ ।

    वीमासम्बन्धी कसुरमा बिहीबार पक्राउ परेकी मृदुलाको शुक्रबार ४ दिनका लागि म्यादथप भएको थियो । अर्को पटक म्यादथप हुन नदिनेगरी सोमबार मृदुलालाई अदालतमा उपस्थित गराउने र बुधबारसम्म बिचौलियाहरु छुटाउने चलखेलमा लागेका छन् । त्यसकै लागि शनिबार मृदुलालाई नर्भिकमा भर्ना गरिएको स्रोतको दाबी छ । यसअघि सीआईबीको थुनामा रहेका थुनुवा साँच्चिकै बिरामी हुँदा चिरायु अस्पताल भर्ना हुने गरेका थिए । तर मृदुलालाई सेटिङमा नर्भिकमा पठाइएको थियो ।

    रास्वपा सभापति रवि लामिछानेले पत्रकार हुँदा प्रहरीले सेटिङमा नक्कली बिरामी बनाएर अस्पताल भर्ना गर्ने कार्यको ठूलो स्वरमा बिरोध गर्दैआएका थिए । तर रास्वपाकै सरकार हुँदा सीआईबीले नक्कली बिरामीलाई सेटिङमा अस्पताल भर्ना गरेको आरोप लागेको छ ।

    सुलभ अग्रवालसँग कारोबार देखिएपछि पक्राउ

    सरिया बीमा ऐन, २०७९ कसूर गरेको आरोपमा पक्राउ परेको सीआईबीले जनाएको छ । ट्रष्ट इन्स्योरेन्स ब्रोकरले झापा माइती भएकी मृदुला सरियाको स्वामित्वमा झापामै रहेको जग्गा खरिद गर्न ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको थियो । यो रकम मृदुलाले आफ्नी सासु आमा रेनु अग्रवालको बैंक खातामा पठाएकी थिइन् । फुपूको बैंक खातामा आएको रकम सुलभ अग्रवालले झिकेर लिएका थिए । त्यही रकमको कारोबार देखिएपछि उनी पक्राउ परेकी थिइन् ।

    मृदुला सरिया ट्रष्ट इन्स्योरेन्स ब्रोकरकी अध्यक्ष रेनु अग्रवालकी बुहारी हुन् । रेनु अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालकी बहिनी तथा सुलभ अग्रवालकी फुपू हुन् ।
    कृत्रिम कारोबार सिर्जना गरेर हिमालयन रिबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकर, ट्रष्ट इन्स्योरेन्सबाट मृदुला सरिया, मृदुलाबाट रेनु अग्रवाल र रेनुबाट पुनः सुलभ अग्रवालको हातमा पैसा पुगेको खुलेपछि बीमा प्राधिकरणले छानबिन गर्न पत्राचार गरेको थियो ।

    हिमालयन रिले ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई जीवन बीमा कम्पनीबाट बीमा व्यवसाय उपलब्ध गराएबापत दलाली कमिसन खर्च देखाएको छ । जीवन बीमक र पुनर्बीमकबीच प्रत्यक्ष सम्झौता भएकोमा हिमालयन रिले अवैध रुपमा बीचमा मध्यस्थकर्ता खडा गरेर ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई कमिसन रकम भुक्तानी गरेको खुलेको हो ।

    हिमालयन रिले ४ करोड ५० लाख रुपैयाँ कमिसनबापतको रकमबाट १५ प्रतिशत कर कट्टी गरेर बाँकी रकम ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सको खातामा भुक्तानी गरेको पाइएको छ । हिमालयन रिका लागि १० वटा जीवन बीमकबाट पुनर्बीमा व्यवसाय उपलब्ध गराए करकट्टीपछि ३ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

    सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले मृदुलालाई नर्भिकमा भर्ना गरिएको स्वीकार गरे । र, थप जानकारी लिन प्रवक्ता वा सूचना अधिकारीसँग सम्पर्क गर्नू भने । सीआईबीका प्रवक्ता अनुपमशमशेर जबरासँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार