Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • कुनै लिष्ट बाँडिएको छैन, भ्रममा नपरी विवेक प्रयोग गरी मतदान गर्नुहोस् : गगन थापा


    शुक्रबार, असोज २३ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ । बिहीबार सुरु हुने भनिएको मतदान प्राविधिक कारण बिलम्ब हुन पुगेको छ ।

    निर्वाचनको पूर्वसन्ध्यामा पार्टी सभापति गगनकुमार थापाले लिष्ट बाँडेको प्रचार प्रसार भइरहेको छ । तर पार्टी सभापति थापाले कुनै लिष्ट नबाँडिएको प्रष्टीकरण दिंदै त्यस्ता अफवाह नलाग्न सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

    सम्पूर्ण महाधिवेशन प्रतिनिधि कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न सभापति थापाले आग्रह गरेका छन् ।

    मतदान सुरु भएपछि शुक्रबार बिहान उनले सामाजिक संजालमा लेखेका छन्–हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो । यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ ।

    यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु ।

    यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ ।

    यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु । यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन ।

    मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला ।

    सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु ।

    मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’
    जय नेपाल १

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार