Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • मधेशका प्रमुख सचिवको एक्सनः सर्पदंशका कारण बिरामीको मृत्यु भएपछि निर्देशक तानिए


    शुक्रबार, असोज २३ २०८३
    95
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् । सर्पदंशका कारण उपचारार्थ गएका बिरामीको आईसीयू अभावमा मृत्यु भएको घटनालाई संवदेनशील रुपमा लिएर मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले अस्पतालका निर्देशक डा. सिंहलाई मन्त्रालयमा तानेका छन् । र, सर्पदंशका बिरामीको मृत्युको छानबिन गर्न एक समिति पनि बनाइसकिएको छ ।

    असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ बर्षीय महेश यादव आफैं स्कुटी चलाएर प्रादेशिक अस्पताल पुगेका थिए । स्कुटर चलाएर अस्पताल पुगेका उनले उचित उपचार नपाउँदा ज्यान गुमाएका थिए ।

    आईसीयु अभावमा स्कुटर चलाएर गएका यादवको मृत्यु भएपछि अस्पतालका निर्देशक डा. सिंहलाई तानिएको छ । सिंहको स्थानमा स्वास्थ्य मन्त्रालयमा रहेका १० औं तहका प्रमेसु डा. इन्द्रजीतकुमार रजकलाई काज सरुवा गरिएको छ ।

    दस वटा एन्टी स्नेक भेनम दिएर उपचार गर्दा पनि अवस्था झन् जटिल भएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो । तर, आईसीयू खाली नभएको भन्दै उनलाई त्यहाँबाट रेफर गरिएको थियो । त्यहाँबाट अन्य दुई अस्पतालमा लैजाँदा पनि उनको उपचार सम्भव भएन । अन्ततः सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याउँदा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए ।

    सर्पदंशका कारण उपचार गराउन पुगेका यादवको आईसीयू अभावमा मृत्यु भएपछि प्रादेशिक अस्पतालको चौतर्फी आलोचना भइरहेको छ । जनबिरोधको सुनुवाइ गर्दै प्रमुख सचिव पौडेलले अस्पतालका निर्देशक डा. सिंहको सरुवा गरेका हु्न् ।

    डा. सिंह तानिएका छन् भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति (भिसी) डा. अंकुर साह र रजिस्ट्रार डा. विनोदकुमार यादवसहित उच्च पदमा रहेका अधिकारीहरूमाथि समेत छानबिन सुरु गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

    विगत ७ बर्षदेखि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका प्रमुख सचिव पौडेलले सुशासन कायम गराउन दरबन्दी अनुसारकै जनशक्ति खटाउने अभियान पनि सुरु गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार