Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • औद्योगिक विकास प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्ति अलपत्र, कर्मचारीले साउनदेखि तलव पाउन सकेनन्


    बुधबार, असोज ७ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र दैनिक प्रशासन चलाउनका लागि निमित्तका रुपमा करारका कर्मचारी सघन दाहालको नाममा पत्र पठाएको थियो ।

    तर कोष तथा लेखा नियन्त्रक कार्यालय काठमाडौंले करारका कर्मचारीका नाममा खाता संचालन हुनै नसक्ने जानकारी मन्त्रालयलाई दिएपछि प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव पाउन सकेका छैनन् ।

    मन्त्रालयका उपसचिवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा पठाएमा खाता संचालन गर्न सकिने जनाउ कोलेनिकाले दिएको भए पनि उद्योग मन्त्रालयले कसैलाई पनि पठाएको छैन ।

    बैशाखमा पहिलाको सरकारले गरेका राजनीतिक नियुक्ति अध्यादेश ल्याएर खारेज गरेपछि तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्ता पदमुक्त भएका थिए । ५ महिनादेखि रिक्त प्रतिष्ठानमा असारसम्म तलव रोकिएको थिएन । तर असारपछि भने अख्तियारी दिने कोही नभएपछि तलव रोकिन पुगेको छ ।

    १६ साउन, २०८३ मा भदौ ५ गतेसम्मको म्याद राखी प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएकोमा १९ जनाको आवेदन स्वीकार भएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ८ गते सार्वजनिक गरेको थियो ।

    प्रारम्भिक रुपमा १९ जनाको नाम भदौ ८ गते सार्वजनिक गरेको उद्योग मन्त्रालयले असोज ६ गतेसम्म पनि प्रतिष्ठानको कार्यकारी निर्देशकको सर्टलिष्ट गरी सिफारिस गरेको छैन । कार्यकारी निर्देशकको नियुक्ति पनि अलपत्र परेको र निमित्तका रुपमा कसैले जिम्मेवारी नपाएकाले दशैंमा समेत कर्मचारीहरुले तलव नपाउने अवस्था देखिएको छ ।

    यद्यपि नयाँ उद्योग मन्त्री दीपककुमार साह र सचिवमा पनि रुद्रसिंह तामाङ पदस्थापन भएकाले अब प्रतिष्ठानले छिट्टै कार्यकारी निर्देशक पाउने भएका छन् । सचिव तामाङले शनिबारसम्म प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस हुने बताए । तामाङले भने– ‘बाढीका कारण रोकिन सक्छ । अन्यथा शनिबारसम्म सिफारिस हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार